ताजा अपडेट »

शासन,भाषण र आशनका नारी

सोमबार, २४ फागुन २०७७, ११ : २१
12 Shares

सन् १९०१ अमेरिकाको समाजबादी पार्टीका महिलाहरुको पहलमा समाजबादी आन्दोलनकी नेत्रि क्लारा जेटिकनले न्यूयोर्क शहरबाट "Bread and Roses" नारा सहित मार्च ८, महिला दिवस अर्थात् महिला श्रमिक दिवस मनाउन थालिएको हो । राजनीतिक तवरबाट मनाउन थालनी गरिएको नारी दिवस अहिले अन्तराष्ट्रिय रुपमानै महिला सशक्तीकरणका, समानताका सवालका रुपमा प्रत्येक बर्ष मनाउन थालिएको छ । नेपालमा पनि अन्तराष्ट्रिय रुपमा ऐक्यबद्धता जनाउँदै अघि सारिएका नारालाई समर्थन र आत्मसाथ गर्दै यो दिवस मनाइन्छ ।

यद्यपि केवल नाराको पछाडि दौडने औपचारिकता मात्र भन्दापनि देश काल परिस्थिति अनुसार महिलाहरुका के–कस्ता चूनौति रहेका छन् । महिलाहरुले कानूनी, आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रहरुमा के–कस्ता समस्या एवम् असमानताको पीडा भोग्नु परिरहेको छ ? असमानताको जड कहाँनेर छ ? भन्ने सम्बन्धमा आफ्नै धरातलीय परिवेशमा रहेर अध्ययन अनुसन्धान गरी समस्याको गाँठो फुकाउनु श्रेयकर हुनेछ । नेपाल जस्तो पितृसतात्मक सोच भएको समाजमा महिला हिंसा र भेदभाव चरम रुपमा रहिआएको छ ।

त्यसको बिरुद्ध सदियौंदेखि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीहरुको प्रयासमा लडाई लड्दै जादा क्रमिक रुपमा बिजय हासिल हुँदै आएको पनि छ । ‘लैंगिक भेदभाव गरिने छैन’ भन्ने संवैधानिक व्यवस्था, भु्रण परीक्षण बिरुद्धको कानून, अंशमा छोरा सरह छोरीलाई समान हक, बलात्कारका बिरुद्ध बनेका कडा र सुधारोन्मुख कानून, तेजाब आक्रमण बिरुद्धको कानूनी व्यवस्था, बोक्सी आरोपमा यातना बिरुद्धको कानूनी व्यवस्था, आमाको नामबाट नागरिकता बनाउन सकिने व्यवस्था, समान पारिश्रमिक सम्बन्धि श्रम ऐन कानूनहरु लैङ्गिक आधारमा भइरहेका भेदभाव बिरुद्ध महिलाहरुले प्राप्त गरेका विजयको प्रतिक हुन् ।

तर,यति भनिरहँदा नारी हक र हितका निमित्त कानून नाम दिएर कोरिएका खेस्राहरुले साँच्चैनै नारिको सत प्रतिशत रक्षा गरेका छन् त ? प्रश्न मेरो तपाइँलाई । आजको युग २१औ सताब्दीको युग यस युगसम्म आइपुग्दा पनि नारी अत्यन्तै दयनिय अवस्थामा रहिआएका छन् । करिब ५७ प्रतिशत शिक्षित रहेको देशमा नारीहरु अझैपनि आफ्ना हरेक दबाब, अभाव र प्रभावलाई झेल्दै बाँचिराखेका छन । जो बिना यस लोकको कुनै अस्तित्वनै छैन आज तिनै नारी हरेक समस्याले गुज्रिराखेकी छन् ।

आफ्ना समस्या निर्धक्क व्यक्त गर्न नसक्नु , आफ्नो क्षमता निर्धक्क प्रस्तुत गर्न नसक्नु जस्ता विविध कारणले गर्दा आज शिक्षित नारीहरु पनि अनगिन्ती समस्याको भूमरीमा परिराखेका छन । राजनीतिक, आर्थिक, सरकारी, गैरसरकारी निकायमा नारीलाई आरक्षणका हिसाबले ३३ प्रतिशतको स्थान दिएको भएतापनि नारीप्रति समाज अझै उत्तरदायी बन्न सकिराखेको छैन । यसबाट पनि हाम्रो समाजका नारीहरु कतिसम्म पछाडि परिराखेका छन् भन्ने प्रष्ट हुन्छ ।

नारीकै कोखबाट जन्म लिएर नारीकै कोखमा लुटुपुटु गर्दै हुर्किएर नारीकै अस्तिस्व माथि खेलवाड र नारीलाई कमजोर ठान्ने परिपाटीले पनि आज हाम्रो अन्तराष्ट्रिय स्तरमानै नारी पछाडि परिरहेका छन्। हाम्रै देशको परिपेक्षमा राष्ट्रपति, सभामुख, लगाएत अन्य धेरै निजी वा सरकारी,राजनीतिक पदमा जनताले चुनेर पठाएका महिला प्रतिनिधित्वहरुको पदमाथि बेला–बेला विभिन्न किसिमका लाञ्छना लगाइन्छ ।

महिलाको कमजोरी देखाइन्छ,महिलाको खिल्ली उडाइन्छ यस्तो प्रवृत्तिलाई सबैको मनदेखिनै हटाई नारीको शाहस, प्रयास र प्रत्येक पाइलामा सम्मानजनक रुपमानै पारिवारिक, सामाजिक लगाएत सरकारी निकायवाटै ‘नारी सुरक्षा’ कार्यक्रमलाई द्रुतरुप दिइने हो भने भोलिको दिनमा न कुनै निर्मला हत्याकाण्ड सुन्नु पर्छ न भागिरथी हत्याकाण्डनै । त्यसैले कानूनी जड मजबूद र सम्मानजनक बनाई नारीको रक्षाका खातिर सधैव तीन तहको सरकारले आ–आफ्नो भुमिका निर्वाह गर्न सफल हौन् । यस १११औं नारी दिवसले साँच्चैनै नारीका अस्तित्व, महत्व, गरिमा र शसक्तिकरणतर्फ उन्मुख हुँदै सबै महिलामा एकता र जागरुकता प्रदान गरोस् । सबै महिला दिदिबहिनीहरुलाइ नारी दिवसको हार्दिक मंगलमय शुभकामना । जय नारी

https://www.globalaawaj.com/archives/88398
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।