ताजा अपडेट »

लुम्बिनीमा सहकारीका ९ लाख सदस्य : ५८ अर्ब कुल पूँजी, ६ सय बढीलाई रोजगारी

मंगलबार, २० चैत्र २०८०, १९ : ५२
232 Shares

गुल्मी । २०१३ सालमा चितवनबाट सुरु भएको सहकारी अभियान ६७ वर्षमा आईपुग्दा यसको सङ्ख्या देशभर ३१ हजार ३७३ पुगेको छ । यसैगरी लुम्बिनी प्रदेशमा ३ हजार ७५५ सहकारी संस्था स्थापना भएका छन् ।  

लुम्बिनी प्रदेशभर ८ लाख ९८ हजार ६११ जना सहकारीमा आवद्ध रहेको एक तथ्याङ्कले देखाएको छ । सदस्य हुनेमा पुरुषको तुलनामा महिलाको संख्या झण्डै देब्बर छ । पुरुष सदस्य संख्या ३ लाख २२ हजार २९९ जना छ भने महिला सदस्य संख्या ५ लाख ७६ हजारा ३१२ जना रहेको छ । यसैगरी प्रदेशभर कुल शेयर पूँजी ५८ अर्ब २२ करोड २९ लाख ७ हजार ५०  रुपैयाँ  पुगेको छ ।  कुल बचत ५९ अर्ब ९६ करोड ३७ लाख ६८ हजार ४६७ रुपैयाँ पुगेको छ ।

लुम्बिनी प्रदेशभर ६ हजार ९८९ जनाले प्रत्यक्ष रोजगार समेत पाएका छन । मंगलबार ६७ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ गुल्मीले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रस्तुत कार्यपत्रमा यो तथ्याङ्क सावैजनिक गरिएको हो । संघका जिल्ला अध्यक्ष यमबहादुर थापाद्वारा प्रस्तुत कार्यपत्रमा देशभरका ३१ हजार बढी सहकारी संस्थालाई घटाएर सन २०३० सम्ममा १० हजारमा सिमित गर्ने लक्ष्य लिईएको छ ।

गुल्मी जिल्लाभर ४ सय ४५  को हाराहारीमा सहकारी संस्थाहरु रहेको अध्यक्ष थापाले जानकारी दिए । जिल्ला सहकारी संघका अध्यक्ष थापाको अध्यक्षता आयोजित अन्तरक्रियामा लेखा समिति संयोजक गोपालप्रसाद पाण्डेले स्वागत तथा प्रबन्धक युवराज आर्चायले सञ्चालन गरेका थिए ।   

नेपालमा सहकारीका पहिलो अभियन्ता चितनवनका बखानसिंह गुरुङ हुन । उनले २०१३ साल चैत्र २० गते  पहिलो सहकारीका रुपमा बखानपुर सहकारी ऋण समिति गठन गरेका थिए । उनकै स्मृतिमा हरेक वर्षको चैत्र २० गते सहकारी दिवस मनाइँदै आएको छ ।


प्रबन्धकले कुम्लाए करोड बढी रकम

देशका अन्य स्थानमा जस्तै गुल्मीका केहि सहकारी संस्थाहरुमा पनि विकृति देखा परेको छ । रुरुक्षेत्र गाउँपालिका ४ को रानीवासमा रहेको राष्ट्रिय बचत तथा ऋण सहकारी संस्थाका तत्कालिन प्रबन्धक द्रोणचार्य ज्ञवालीले ३ वर्षअघि सञ्चालकहरुले पत्तै नपाउने गरी विभिन्न किर्ते काम गरेर १ करोड ७० लाख रुपैयाँ हिनामिना गरे । जस मध्ये ४९ लाख चुक्ता गरे । करिब एक करोडा २५ लाख अझै चुक्ता हुन बाँकी छ। त्यस संस्थाका अध्यक्ष तोयनाथ ज्ञवाली लगायतका सञ्चालकहरु उक्त रकम उठाउन धेरै पटक प्रशासन धाए । पछि जिल्ला अदालतमा मुद्दा दायर गरिएको अध्यक्ष ज्ञवालीले जानकारी दिए ।
 

 

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार