ताजा अपडेट »

लुम्बिनीमा डढेलोको डरलाग्दो रुप : गाउँ पसेर एकै दिनमा ७० बढी घर गोठ स्वाह

आइतबार, ०९ बैशाख २०८१, ०७ : २७
1.59K Shares

बुटवल । लुम्बिनी प्रदेशका पहाडी जिल्लाहरुमा डढेलोले डरलाग्दो रुप लिएको छ । गुल्मी, पाल्पा, अर्घाखाँची तथा प्यूठानका वन क्षेत्रमा लागेको डढेलो गाउँ पस्न थालेपछि यसले थप क्षति गरेको छ । वन डढेको पहिचान तथा अनुगमन प्रणालीका अनुसार हिजो एकै दिन लुम्बिनीका ९६ ठाउँमा डढेलोका घटना भएका थिए भने पछिल्लो एक सातामा मात्रै २५६ डढेलोका घटना भएका छन् ।  शनिबार लागेको हावाहुरीले गाउँघरमा प्रवेश गर्दा ७० भन्दा धेरै घरगोठ जलेर क्षति भएका छन् ।

गुल्मीमा ४० घर गोठ जले
शनिबार हावाहुरीले डढेलो गाउँ बस्दा ४० बढी घर गोठ जलेर नष्ट भएका छन् । गुल्मीको इस्मा गाउँपालिका २ मा आगलागी हुँदा १३ घर जलेका छन् । स्थानीय सामुदायिक वनमा लागेको आगो बस्तीमा पनि फैलिँदा १३ घर जलेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घरसँगै २५ वटा गोठ र ४० भन्दा बढी भैंसी तथा बाख्रा पनि जलेका छन् । अहिले आगलागी भएका अधिकांश ठाउँमा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितको टोली पुगेको छ । आगलागीबाट क्षति भएका घरपरिवारलाई गाउँकै सुरक्षित स्थानमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

आगलागीबाट जिल्लाका विभिन्न स्थानमा भएको क्षति संकलन भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले जानकारी दिए । आगलागीबाट इस्मा गाउँपालिका १ उजुङका १९ वर्षीय हिमाल राना र मुसिकोट नगरपालिका ७ का २१ वर्षीय प्रेम राना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि गुल्मी अस्पतालबाट पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक डीएसपी शंकर पोखरेलले बताए ।

आगलागी भएका ठाउँमा आगो निभाउन सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारी खटिएका छन् । एकपटक निभाइसकेको ठाउँमा पनि पुनः आगलागी हुने गरेको प्रहरीले जनाएको छ । गुल्मीकै रुरु क्षेत्र गाउँपालिका–१ भटकुवामा शनिबार सामुदायिक वन क्षेत्रमा लागेको डढेलो बस्तीमा पस्दा दुई घर र एक गोठ जलेको छ । रुरु क्षेत्र गाउँपालिका–१, रिडीका वडाध्यक्ष नवराज विकका अनुसार भरत पन्थीको घर र गोठ साथै झविन्द्र ज्ञवालीको घरमा आगलागी भएको हो । बस्तीका १० बढी घर डढेलोको जोखिममा रहेकाले स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा जोगाइएको छ ।

अर्घाखाँचीमा २० घर गोठ जले

अर्घाखांचीको भूमिकास्थान नगरपालिकाको धारापानीको रातामाटा, बाँझाखर्क, जामुनडाँडा र फलामखिल्जीको गाउँमा आगलागी हुँदा २० वटा घरगोठ जलेका छन् । भूमिकास्थान नगरपालिकाको वडा ३ र ४ मा अत्याधिक हावाहुरीका कारण जंगलमा लागेको आगो बस्तीमा फैलिँदा १८ ओटा घरगोठ जलेका छन् । भुमिकास्थान ३ र ४ मा भिषण आगलागी हालसम्म १८ घरगोठमध्ये शोभाखर बन्जाडेको गोठ, रेशम परियारको घररगोठ, वसन्त मल्ल ठकुरीको घररगोठ,

यस्तै विष्णु जि एमको दोकान, गंग बहादुरको थारे घर, दुर्गा विकको थारे घर, पुर्ण प्रसाद भुसालको गोठ र बाईक, भुपलाल भसालको गोठरभैसी, झविलाल भुसालको घर, खिम प्रसाद भुसालको घर, तिलक भुसालको घर, ईश्वरी भुसालको घर, काँशिराम भुसालको घर, गंगा भुसालको गोठ, रामजी भुसालको घररथारो, कृष्ण ओलीको घररथारोरभैंसी, दोल प्रसाद भुसालको थारो, पिताम्वर भुसालको थारो डढेको स्थानीय हरि भुसालले जनाएका छन् । साँझ अबेरसम्म आगलागी नियन्त्रणमा नआएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक दिपेन्द्र रावलले जानकारी दिए ।


पाल्पाको बतासे डाँडामा भिषण डढेलो
यसैगरी पाल्पाका दर्जनभन्दा बढी सामुदायिक वन क्षेत्रमा शनिबार भीषण डढेलो लागेको छ । डिभिजन वन कार्यालय नजिक वनदेवी क्षेत्रका सामुदायिक वनमा दिनभर डढेलो लागेको हो । जंगलमा लागेको डढेलोले तानसेन नगरपालिका–५, बतासे क्षेत्रमा विद्युत् ट्रान्सफर्मरसहित बस्ती जोखिममा परेको स्थानीयले बताए ।

वनदेवी सामुदायिक वन क्षेत्रको जंगलका तीन चार स्थानमा डढेलो लागेको छ । ल्याण्डफिल साइट क्षेत्रका साथै नजिकका अन्य जंगलमासमेत डढेलो लागेको छ । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बस्तीमा डढेलो पस्नबाट रोकिएको छ ।

मिलीजुली पालेको सामुदायिक वन बतासेमा लागेको डढेलोले बस्ती जोखिममा परेको हो । तानसेन नगरपालिका–१४, अर्गलीको विभिन्न स्थानमा लागेको डढेलोले पनि बस्ती जोखिममा परेपछि दमकल लगिएको छ । पाल्पाकै अर्गली, मुझुङ, माथागढीको झडेवा, तिनाउको दोभान, बगनासकालीको यम्घा लगायतका स्थानमा भीषण डढेलो लागेको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।