ताजा अपडेट »

तिलोत्तमाका योगेन्द्रले पाए 'लक्कि-ड्र'मा डेढ करोडको घर उपहार

आइतबार, ०२ बैशाख २०८१, ०९ : ०९
8.83K Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका-१ ड्राइभरटोल निवासी ३९ वर्षीय योगेन्द्र बस्नेतले लक्कि ड्रमा डेढ करोडको घर उपहार पाएका छन् । तिलोत्तमामा रहेको एनजी मार्केटका नियमित ग्राहक तथा क्रिमसन कलेजका अध्यापक योगेन्द्रले ग्राहक विशेष योजनामा घर पाउन सफल भएका हुन् । एनजी मार्केटले आफ्ना १ हजार भाग्यशाली ग्राहकलाई लक्की ड्र मार्फत उपहार दिने योजना अन्तरगत बैशाख १ गते शनिबार साँझ पहिलो पुरस्कारमा दिइने घरको लक्की ड्र खोलिएको थियो ।

एक कार्यक्रम बीच सहभागीमध्ये सबैभन्दा कम उमेरका बालकबाट कुपन राखिएको बाकसबाट घोलेर कुपन झिक्ने र सहभागीमध्येबाट सबैभन्दा ज्येष्ठ सदस्यबाट त्यो कुपनको नम्बर नाम वाचन गरिएको थियो । ती बालकले कुपन निकालेर ज्येष्ठ सदस्यले पढ्दा योगेन्द्र बस्नेतको नाममा रहेको कुपन नम्बर ०४००९८ सार्वजनिक भएको हो ।

नयाँ वर्ष मनाउन पोखरा घुमफिरमा रहेका उनले एनजी मार्केटमा आफू नियमित ग्राहक भएको र यो सूचनाले आश्चर्यमा पारेको बताए । ‘खुसी नलाग्ने त कुरै भएन, म एनजी मार्केटको नियमितजसो ग्राहक हो, तर यति ठूलो राशीको कुपन आफूलाई पर्ने आश थिएन, म अहिले पोखरामा छु परिवारसहित घुम्न आएको हुँ, फर्केर आएपछि सम्झौता गर्नेछु’ उनले भने ।

रुपन्देहीको मणिग्राम नजिकै साढे २ बिगाहमा करिब २ करोड लगानीमा यहाँका पुराना व्यवसायी नारायण बन्जाडेको परिवारले एनजी मार्केट संचालन गरेको हो । विदेशमा पढेर आएका उनका छोरा आभास बन्जाडे र नारायणकी श्रीमति गिता बन्जाडेले पूरा समय साथ दिएर यो व्यवसायलाई अगाडि बढाएका छन् । कोरोना महामारीको संकटको समयमा सुरु गर्न थालिएको यो योजना अनुसार चल्न नसकेपनि गतवर्षदेखि नै बन्जाडे परिवारले अगाडि बढाएको हो ।

एनजी मार्केटका प्रबन्धक आभासका अनुसार १ हजार ग्राहकलाई ग्राण्ड ओपनिङमा पुरस्कार बाँड्नेगरी योजना बनाएपनि अहिले निर्माणको सबै काम नसकिएकाले पहिलो चरणमा सबैभन्दा ठूलो उपहार बाँडिएको अरु सबै पुनः बाँडिने बताए । ‘निर्माण र अरु तयारीका काम सबै सकिएको छैन, सबै काम नसक्दै ग्राण्डओपनिङ गर्न पाइएन, त्यही कारणले अहिले पहिलो पुरस्कार घर बाँडिएको हो’ उनले भने । 

कम्पनीले तिलोत्तमा नगरपालिका वडा नं ७ स्थित एनजी आवास गृहमा १० धुरमा बनेको साढे दुई तलाको घर सबै फिनिसिङ गरेर दिइने अध्यक्ष नारायण बन्जाडेले बताए । ‘हामीले उपहार पाउने व्यक्तिको नाममा जग्गा पास गरिदिएर, सबै प्रकृया पूरा गरेर घर निर्माण गरिदिने हो, घरको सबै नमुना पहिले नै हामीले सार्वजनिक गरेका छौं, डेढ करोड लागतको घर सबै फिनिसिङ गरेर दिने हो, उहाँलाई जग्गा पासको रजिष्ट्रेशन रकम मालपोतमा दिनेबाहेक अरु केही लाग्ने छैन ’ उनले भने ।

शनिबार पहिलो पुरस्कार पाएपछि अध्यक्ष नारायण बन्जाडेले योगेन्द्र बस्नेतलाई कुपनमा भएको नम्बर हेरेर फोन गर्दै बधाई दिएर छिट्टै सम्झौता गर्न बोलाए । जवाफमा बस्नेतले आफू केही दिन घुम्नका लागि परिवारसहित पोखरा आएको र फर्केपछि भेट्ने बताएका थिए ।

कम्पनीले १ हजार ग्राहकलाई लक्की ड्र बाट दिने उपहारमा पहिलो पुरस्कार घर १ जनालाई दिएपनि बाँकी किया ब्राण्डको कार १ जनालाई दोस्रो, रोयल इनफिल्ड ३५० सीसीको बाइक १ जनालाई तेस्रो, भेस्पा स्कुटर १ जनालाई चौथो, १ टनको एसी १५ जनालाई, फ्रिज १५ जनालाई, वासिङ मेसिन १५ जनालाई, ५५ इन्चको टेलिभिजन २५ जनालाई, १२५ जनालाई राइस कुकर र ८०१ जनालाई आइरन दिने घोषणा गरिसकेको छ । कम्पनीले यहाँबाट ५ हजारभन्दा माथिको सामान खरिद गर्दा दिने कुपनमा नाम र नम्बर लेखेर बाकसमा राखिदिने गरेको छ । तर यो उपहारमा कम्पनीमा रहेका कोही आफन्त र कर्मचारी सहभागी हुन नपाउने जनाइएको छ ।

एकल लगानीमा एनजी मार्केटले एकै छानामुनि सबै प्रकारको वस्तु खरिदका लागि देशमै ठूलो लगानीमा कम्पनी खोलेको दावी गर्दै ग्राहकका लागि यति ठूलो पुरस्कार रकम हरेको उपहार पनि देशमै पहिलो भएको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।