ताजा अपडेट »

‘उज्यालो बुटवल’को नाराले बजार फेरी गुल्जार बन्ला ?

सोमबार, २६ चैत्र २०८०, १५ : २५
634 Shares

बुटवल । बजारलाई गुल्जार बनाउन बुटवलमा रात्रीकालिन बजार सञ्चालन गर्नुपर्ने भन्दै व्यवसायीहरुले लामो समयदेखि आवाज उठाउँदै आएका छन् । बुटवल उपमहानगर तथा विभिन्न व्यवसायीक संघ संस्थाहरुले समेत बुटवलमा रात्रीकालिन बजारको अवधारणा बारे जोड दिँदै आए पनि यसले मूर्त रुप भने अझै लिन सकेको छैन ।

बुटवलमा रात्रीकालिन बजार हुने भएपछि मनग्य फाइदा लिन पाइन्छ भनेर लगानी गरेका व्यवसायीहरु समेत सटर बन्द गरेर बिस्थापित हुने क्रम जारी नै छ । खास गरी ‘बुटवलको ठमेल’ भनेर चर्चा गरिने बुटवल योगीकुटीदेखि नयाँ बसपार्कसम्मको कालिका–पथ क्षेत्रलाई पहिलो चरणमा र क्रमैशसँग बुटवलका अन्य ठाउँहरुलाई समेत रात्रीकालिन बजार बनाउँदै लैजाने अवधारणा मुलुकको आर्थिक संकटसँगै अलमलिएको छ ।

भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र एकसाथ दुई वटा केबलकारको निर्माण सुरु भएपछि बुटवलमा स्तरीय होटल–रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो । निजी क्षेत्रले आँखा चिम्लेर अरबौं लगानी गरे । विशेष गरी बुटवलको कालिका पथ क्षेत्र होटल तथा रेष्टुरेन्टका लागि हब नै बन्ने गरी निजी क्षेत्रले उत्साहित भएर लगानी गरेका थिए । नयाँ मात्रै होइन पुराना होटल तथा रेस्टुरेन्टहरुले समेत लगानी थप गरेर स्तरोन्नति गरे । विदेशी पर्यटक लक्षित होटल–रेस्टुरेन्ट, क्लब तथा क्यासिनोमा निजी क्षेत्रले लगानी बढाउँदै लगे । बुटवलका विभिन्न ठाउँमा अझै पनि सानादेखि स्टार लेबलका होटलहरु खुल्ने क्रम जारी नै छ । यद्यपी बजार सुनसान हुने र सटर खाली हुने क्रम तीब्र रुपमा बढेको छ ।

यसरी सुनसान बन्दै गरेको बुटवललाई पुनः गुल्जार बनाउन बुटवल उपमहानगरले ‘उज्यालो बुटवल’को अवधाराण ल्याएको छ । बुटवल उपमहानगरपालिकाले नगरका २३ वटा चोक चौराहामा उच्च क्षमताका हाइ मास्ट लाइट जडान गर्दै छ । बुटवललाई उज्यालो, हरियाली र सरसफाइयुक्त सहर बनाउने योजनाका साथ काभ भैरहेको बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेय बताउँछन् ।
उनले बुटवललाई देशकै उत्कृष्ट पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्ने योजनाअनुसार पर्यटनका क्षेत्रमा काम भैरहेको दाबी गरेका छन् । बसपार्कलाई सुविधा सम्पन्न बनाउन स्नानगृहसहितको शौचालय निर्माण, छिटै नै विश्रामस्थल र सुविधासम्पन्न क्यान्टिन सञ्चालन उनका योजनामा छ । बसपार्कमा यसअघि नै उच्च क्षमताको फ्रि वाईफाई सेवा सुरु भैसकेको छ ।

बुटवल उपमहानगरपालिकाका शहरी पूर्वाधार महाशाखा प्रमुख सुमन श्रेष्ठका अनुसार बुटवलका २३ वटा चोकचौराहामा १० मिटर, १२ दशमलव ५ मिटर र १६ मिटरका पोट राखेर लाइट जडान हुँदै छन् । टेण्डरमार्फत १ करोड ८१ लाख ७२ हजार रुपैयाँमा नेपाल पावर सोलुसन प्रालि हेटौडासँग २०८० माघ १२ गते हाइमास्ट लाइट जडानका लागि ठेक्का सम्झौता भएर काम अघि बढीसकेको छ ।

बुटवलका नगर प्रमुख पाण्डेयका अनुसार कालिकापथलाई उज्यालो बनाउन यस आर्थिक वर्षमा २ किलोमिटर सडक किनारमा स्ट्रिट लाइटका लागि काम अघि बढ्दै छ भने सुरक्षाका लागि विभिन्न ठाउँमा सिसिटिभी क्यामेरा जडान गर्न योजना भैरहेको छ । बजारलाई उज्यालो र सुरक्षित बनाउने काम भैरहेको नगर प्रमुख पाण्डेयले बताउँछन् ।

बुटवल उपमहानगरले कालिकापथसहित ट्राफिकचोक, अमरपथ लाइन लगायतका बजार क्षेत्रलाई रात्रीकालिन बजारको रुपमा गुल्जार बनाउनका लागि योजनावद्ध अघि बढेको बताउँदै उनले निजी क्षेत्रको समेत सहयोगको अपेक्षा गरे । यसैगरी स्थानीय सुरक्षा प्रशासनसँग समेत आवश्यक समन्वय र सहकार्य गरी रात्रीकालिन बजारको गृहकार्य जारी रहेको उनी बताउँछन् ।

यता निजी क्षेत्र भने बजारलाई पहिलेकै अवस्थामा फर्काउन धेरै नै संघर्ष गर्नुपर्ने बताउँछन् । विश्वव्यापी कोरोना महामारी र मुलुकको आर्थिक संकटले गर्दा व्यवसायीहरुले सोचेभन्दा परिस्थिती उल्टो भएको बताउँछन होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका वरिष्ठ उपाध्यक्ष माधव खनाल । लगानी डुब्न थालेपछि निजी क्षेत्र सटर डाउन गरेर पलायत हुन बाध्य भएको उनले बताए । गुल्जार बन्दै गरेको बुटवल फेरी सुनसान बन्दै गएकोप्रति निजी क्षेत्रको पनि चिन्ता रहेको उल्लेख गरे । खनालका अनुसार बुटवलको कालिकापथमा मात्रै पछिल्लो एक वर्षको अवधिमा ५० लाखदेखि ४÷५ करोडसम्म लगानी गरेका व्यवसायीहरु बिस्थापित भए । जटिल परिस्थितीमा पनि यस क्षेत्रमा मात्रै २ सय बढी साना तथा ठूला होल, रेष्टुरेन्ट, क्लब, बार तथा दोहोरी साँझहरु रहेको उनी बताउँछन् । यी क्षेत्रमा मात्रै ४ अर्ब बढी निजी क्षेत्रले लगानी गरेको उनको दाबी छ । सयौंलाई रोजगारी सिर्जना गरिरहेको कालिकापथ क्षेत्रलाई गुल्जार बनाउन राज्यले आवश्यक नीति निर्माण गर्नुपर्नेमा उनको जोड छ ।

बुटवल उद्योग वाणीज्य संघका अध्यक्ष हरी अर्यालका अनुसार बजारको विकेन्द्रीकरणसँगै पहिलेको बजार क्षेत्रलाई फेरी गुल्जार बनाउन सकस नै छ । हिजोको बुटवल र आजको बृहत बुटवलमा धेरै फरक भएको उदाहरण प्रस्तुत गर्दै उनले जनघनत्व अनुसार बजारको प्रकृति रहने गरेको उल्लेख गरे । बुटवललाई रात्रीकालिन बजारको रुपमा बिकास गर्ने सन्दर्भमा सम्भावनाहरु बारे अध्ययन तथा योजना निर्माणमा संघले पहल गरिरहेको दाबी गर्दै उनले अहिलेको अवस्थामा उपभोक्तामा क्रयशक्ति घटेका कारण पनि पुरानै अवस्थामा फर्किन समय लाग्ने उल्लेख गरे ।

व्यवसायीहरूका अनुसार पछिल्लो समय मुलुकमा देखिएको आर्थिक संकटका कारणले नै निजी क्षेत्र पलायन हुन लागेका छन् । बुटवल बजारलाई चलायमान गराउन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल सञ्चालन, बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई पूर्ण क्षमतामा सञ्चालन, शहरका सडक तथा भौतिक संरचनाहरुको निर्माण र सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक रहेको छ । बुटवलाई पुन गुल्जार बनाउन पुरानो बुटवलको पूरानो पहिचानलाई पुन जगाउनु पर्ने, अमरपथ÷ट्राफिकचोक क्षेत्रको व्यापारिक पहिचानलाई जोगाईराख्नु पर्ने तथा कालिकापथलाई रात्रीकालिन बजारको रुपमा बिकास गर्ने मात्रै होइन विकेन्द्रीकृत हुँदै गएको बजारको अवस्था अनुसार ती ठाउँहरुलाई विशिष्टिकृत गरेर योजना बनाउन आयश्यक रहेको व्यवसायीहरु सुझाब दिन्छन् ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।