ताजा अपडेट »

के चेतना शिक्षाले ल्याउछ ?

शनिबार, १० माघ २०७७, १३ : ०५
82 Shares

नियमित कामको शिलशिलामा केन्द्रीय क्याम्पस किर्तिपुरको राजनीति शास्त्र विभागमा गएकोबेला अलिकति फुर्सद भएकोले जाडो छल्न घामको आलिंगनमा बाँधिएर बसिरहेको थिए । जनजाति र शोधपत्रको बारेमा छलफल पनि चलिरहेको थियो, केही विद्यार्थीको साथमा । यत्तिकैमा एक अपरिचित युवती पनि छलफलमा जोडिन आइपुगिन । मैले वरिष्ठ समाज शास्त्री तथा मानव शास्त्री डोरबहादुर विष्टको बारेमा २०७४ माघ ४ को एपी वान टिभिमा टिकाराम यात्रीले संचालन गरेको कार्यक्रममा पूर्व मन्त्री केशर बहादुर विष्टले समाज र संस्कृति बारेमा भनेको कुरा ‘कर्णालीका कतिपय ठाँउमा अहिले पनि शव अघिअघि बोका पछिपछि लगेर काटेर खाने चलन छ’ भने ।

मेरो कुरा भूईमा खस्न नपाउदै ती युवतीले बिचैमा मलाई रोकेर भनिन–‘किन कर्णालीमा सर यही हाम्रो लम्जुँङ्गमा हाम्रो जातमा पनि छ नि ।’ मेरा लागि अलि अनौठो र नयाँ कुरा भएकोले उनको परिचय मागे । उनले भनिन् विनु गुरुङ (परिवर्तित नाम), पुर्खौलि घर लम्जूँङ, र अहिले वनस्थलिको स्ठाई बासिन्दा । अघिको कुरालाई निरन्तरता दिँदै भनिन–‘हाम्रो जातिमा भेडाको प्रगोग गरिन्छ । लोग्ने मानिस मरेको भए भेडा(थुम) र स्वास्नी मानिस भए भेडि चाहिन्छ । घर र शव अन्त्यस्ति गर्ने ठाँउको बिचको चौतारोमा काटेर पकाएर खाने गरिन्छ । मृत्कको सागर यात्रामा सहभागी मानिसलाई उसले दुःख दिएको र त्यसरी नखुवाएमा उसको आत्माले शान्ति पाउँदैन भन्ने गरिन्छ ।’

मैले यस्तो चलन र रितिथिति नदेखेको हुँदा एक तमासले सुनिरहे र मनमनै यस्तो पनि हुन्छ है भनेर गुनिरहे । हुनत हाम्रो गुल्मितिर म सानो छँदा चिया बिस्कुट खाने चलन थियो र कसैकसैले भात पनि खाने गर्देथिए । उनको कुरा यतिमै रोकिएन । ‘हाम्रोमा तपाईहरुको जातमा काजक्रिया गरेजस्तै अर्घौ गर्ने गरिन्छ । त्यसमा पनि भेडाको प्रयोग हुन्छ । आफन्त वरिपरि बसेर लामाले मृतकको आत्मा पसालिदिएको भेडा बीचमा छोडिन्छ । सबैले खाना दिन्छन् तर भेडाले सबैले दिएको खाना खाँदैन । त्यसले आफ्ना खास मानिसले दिएको मात्र खान्छ ।’

मैले अरु पनि यस्ता कुरा के-के गरिन्छ भनि सोधे । उनको जवाफ थियो-त्यसरी छोडेको भेडाले आफ्ना खास मानिसको अगाडि उभिएर पुच्छर मानिसतिर फर्काएर जीउमा भएको पानी शरीर हल्लाएर झारेमा त्यस घरमा निकट भविष्या अर्को मानिसको मृत्यु हुन्छ भन्ने विश्वास गरिन्छ । यदी टाउको आफन्ततिर फर्काएर जीउ हल्लाएर पानी झारेमा निकट भविष्यमा कसैको मृत्यु नहुने विश्वास गरिन्छ । के यस्तो घटना घट्छ त ? मेरै आँखाले देखेको कुरा कसरी नपत्याउनु सर भनिन् । म जिल्ल परे । दिमाग तिल्मिलायो ।

उनका यति कुरा सुनेपछि ममा थप कौतुहलता जागे र सोधे–तपाई के गर्दै हुनुहुन्छ ? उनले मानव शास्त्र तथा समाज शास्त्रमा मास्टर्स गरेर काठमाण्डौको एउटा नीजि कलेजमा सोही विषय पढाउदै गरेको कुरा बताईन । तपाई मानव शास्त्र र समाज शास्त्रको विद्यार्थी र शिक्षक भएकाले यस्ता विषयमा थप अध्ययन गरेर वास्तविकता पत्ता लगाउनु पर्ने नि । जवाफमा, हामीले पढ्ने सिद्वान्त पश्चिमाहरुको हो । हाम्रो समाज अनुकुल छैन र बनाउने प्रयत्न खासै भएको छैन । पश्चिमाहरुका भनाई र सिद्वान्त उल्लेख गरिएन र उनीहरुले मान्यता दिएनन् भने हाम्रा अनुसन्धानको अर्थ के छ ? छ के ही ? म मौन रहे । किनकि उनलाई आस्वस्त बनाउने जवाफ म सँग थिएन ।

हाम्रा समाजमा बोक्सि लाग्ने कुरा अहिले पनि पनि छन् । कोही गरीब छन्, विधवा छन् भने बोक्सा–बोक्सि भन्दिने चलन छ । कैयौ गरीबहरु मरिनदेविहरु भएका छन् र भैरहेका छन् । २०७७ माघ १ गतेका दिन नया पत्रिकाले ‘झारफुकको नाममा क्रुर यातनाः रड, पाइप र झाँझर तताएर डाम्दा एकको मृत्यु,दुई गम्भीर’ ले समाचार छापेको थियो । गुल्मी सदरमुकाम उदिन ढुङ्गाको समाचार थियो । सर्सर्ती पढ्दा मृतक ६० वर्ष र धामि ४० वर्षका लेखेको थियो । सोचे ति नपढेका मानिस थिए होलान र रुढीवादी अन्धविश्वासमा भर पर्दा त्यस्तो घटना हुन पुगे होला । तर विडम्वना माथिका कहानी सुनाउने युवती ४० वर्ष भित्रैकि थिइन् र पठित पनि । मेरो दिमाग फनफनी घुमिरहयो ।

कुरा बढ्दै गर्दा उनले आफ्नो व्यक्तिगत जीवनमा घटेको मात्रै होईन कि घटिरहेको भन्दै मेरा लागि रोचक तर उनका लागि केही पिडादायी घटना भन्न खोजिन यही अन्धविश्वाससंग जोडिएको । मैले हुन्छ तपाईलाइ अप्ठेरो पर्दैन र लाग्दैन भने हामी सुन्न तयार छौ भने । तपाईले पत्याउनु हुन्न होला ? म अविवाहित हुँ । यसो हुनका पछाडी मेरा शत्रुहरु लागेका छन् । मैले सोधे कस्ता शत्रु ? उनले थपिन–कतिजनालाई मैले मन पराए । कतिले मलाई मन पराए । माग्न आउनेहरुलाई हुँदैन भनेपछि उनीहरु मेरा पछि लागेका रहेछन् । कसैले मेरा विषयमा नराम्रा कुरा गर्ने रहेछन । कसैले त टुनामुना लगाएर मलाई यो अवस्थामा पुर्याउने खेल खेल्दा रहेछन् ।

मेरो घरको गेटमा कसैले दूधको प्याकेट ल्याएर राखिदिन्छ । त्यो दूध मैले खाओस भनेर । त्यो दूध कुकुरलाई दिँदा पनि खाँदैन किनभने त्यसमा टुनामुना हालेको हुन्छ । मलाई अति भोक लागेका बेला पनि कहिलेकाँहि एक गाँस पनि जाँदैन । पेट खालि छ । अनि त्यो खाना कुकुरलाई दिँदा पनि खाँदैन । अब भन्नुहोस त टुनामुना नलगाईकन त्यस्तो हुन्छ ? कहिले नयाँ जुत्ता ल्याएर फालिदिएको हुन्छ । हैरान पारे र मेरो विवाह हुन नदिन अनेकौ खेल खेलेका छन् । हुनत मलाई मेरो विवाह नभएकोमा त्यती चिन्ता छैन । भाग्यमा जे छ त्यही हुने हो ।

शिक्षाले मानिसको चेतना परिवर्तन गर्छ भनिन्छ । मानिसको जीवनस्तर सुधार गर्न सहयोग गर्छ । नयाँ पत्रिकाको समाचारलाई आधार मान्ने हो भने अवश्य पनि शिक्षाले परिवर्तनमा सघाउछ । तर ती पठीत युवतीको अनुभवलाई स्वीकार गर्ने हो भने शिक्षाले त प्रमाणपत्र मात्र दिने काम गर्दो रहेछ कि ? शिक्षा र चेतना भन्ने कुरा फरक–फरक रहेछन् कि ? संस्कृतिलाई जोगाउन त्यसमा भएका खराबीहरुलाई हटाउनु पर्छ । तर शुरु कसले गर्ने ? कहाँबाट शुरु गर्ने ? कथित हामी पठित भन्नेहरुले पनि यो काम नगरे कसले गर्ने ? भनाइ र गराइ बीचको तालमेल कसरी गराउने ? पढाइ केबल पढ्नका लागि पढीने हो ? प्रमाणपत्र लिनका लागि मात्रै पढ्ने सिद्धान्त हुन त सबै सिद्धान्त ?

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।