ताजा अपडेट »

कोरोना जित्ने कन्दमूलका कथा

शुक्रबार, २१ चैत्र २०७६, १३ : २६
98 Shares


अहिले सिंगो विश्व नै नोबेल कोरोना भाईरस (Covid-19) सँग पौँठेजोरी खेलिरहेको छ । यहि प्राकृतिक महाविपत्तिको कारण संसारका मान्छेहरु त्राहित्राहि छन् । विश्व अर्थव्यस्था डामाडोल अवस्थामा छ । आधुनिक विकास र प्रतिस्प्रर्धाको गति शून्य छ । यस्तो अवस्था सायदै ईतिहासमा भएको थियो । हाम्रो देश नेपाल अहिले यहि अवस्थाबाट गुज्रिँदै यस महाविपत्तिबाट जोगिन, देशमा कोरोनाको महामारी फैलिन नदिन र आमनागरिकहरुलाई प्रकोपबाट जोगाउनको लागि नेपाल सरकारले गरेको बन्दाबन्दी (लकडाउन) को दोश्रो हप्तामा छौँ । देशमा यातायात, उद्योग, कलकारखानादेखि दैनिक जनजीवन नै ठप्प प्रायः बनेको छ । आधुनिक विकासको चरमचुलीमा पुगेको मानव सभ्यताको विकास शून्यमा झरेको छ ।

विज्ञानको यतिविधि चमत्कार र आधुनिक चिकित्सा पद्धतिमा नवीनतम आविष्कारहरु दैनानुदिन भएतापनि कोरोना भाईरसमात्र होईन हालसम्म कुनैपनि भाईरसको औषधि पत्ता लाग्न सकेको छैन । यो कुरा सर्वसाधारणलाई कोरोना भाईरसको परिचर्चासँगै मात्र थाहा भएको हुनुपर्दछ । यति शूक्ष्म विषाणु अहिले कैयौँ आणविक हतियारहरुभन्दापनि शक्तिशाली बनेर तेर्सिएको छ । मानव सभ्यता र विकासमाथि नै उत्तरहीन प्रश्नचिन्ह बनेर । हामी कोरोना भाईरस (Covid-19) बाट आतंकित र भयभित छौँ । यसबाट बच्न सकिने तमाम उपायहरु पनि हाम्रोसामू पत्ता लागिसकेका छन् । यो सरुवा प्रकृतिको रोगको विषाणु भएतापनि भीडभाडबाट जोगिनु, साबुन पानीले राम्रोसँग हात धुनु, सेनिटाईजर प्रयोग गर्नु, पञ्जा, मास्क लगाउनु जस्ता सुरक्षाका उपायहरु अपनाउनु नै यसबाट बच्ने प्रमुख उपायहरु हुन् भनेर जनस्तरसम्म सबैले बुझिसकेका छन्। यद्यपी कोरोना भाईरसमात्र होईन हामीलाई लाग्ने जुनसुकै रोगबाट बच्न शरीरमा रोग प्रतिरोधात्मक क्षमता बलियो हुनुपर्दछ । जुनसुकै रोगसँग लड्ने क्षमता विकास गर्नु नै रोग प्रतिरोधात्मक क्षमता ( ईम्युनिटी पावर) हो ।

कोरोना र कन्दमूल

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले आफ्नो एक लेखमा लेखेका छन् ‘हाम्रो ईम्युनिटी पावरको कारण नै कोरोना रोगको संक्रमण फैलिन नसकेको हो ।’ अहिले नेपालमा केही ब्यक्तिहरुमा कोरोना रोग प्रमाणित भईसकेता पनि एकातर्फ रोग लागेका व्यक्तिहरु समेत उच्च मनोबलका साथ रोगसँग लडिरहेका छन् । रोगलाई जित्ने अवस्थामा पुगिसकेका छन् भने नेपालीहरुले आफ्नो शरीरमा विकास गरेको रोगसँग लड्नसक्ने प्रतिकारात्मक क्षमताको कारण यो रोगसँगको लडाईमा हामीले विजय प्राप्त गर्न सक्छौँ भन्ने डा. रेग्मीको दृढ विश्वास हो । यसमा हामी नेपालीहरुको परम्परागत खानपान, जीवनशैली, पद्धतिले सहयोग गरेको कुरा सबैले स्वीकारेको विषय छँदैछ । हाम्रो गाउँघर, पाखापखेरा र भीरकान्लामा पाइने सञ्जीवनी बूटी समानका औषधिहरु, ऋषिमहर्षिहरुले सेवन गरेर दिव्यज्ञान प्राप्त गरेका कन्दमूलहरुको कमी छैन । यस्ता हाम्रा स्थानीय उत्पादन र कन्दमूलहरु हाम्रो शरीरमा रोग प्रतिकार्य क्षमता बढाउन सक्षम छन् । हाम्रो स्वस्थ जीवनको लागि सहयोगी बन्नेछन् । साथै स्वस्थ र समृद्ध समाजको लागि यिनीहरुको महत्वपूर्ण भूमिका रहनेछ ।

कन्दमूल भन्नाले जमीनको सतहमूनि फल लाग्ने गीठा, भ्याकुर, तरुल जस्ता फलहरुलाई बुझिन्छ । यस लेखमा ती फलहरुको अतिरिक्त हाम्रो स्थानीय प्राकृतिक वातावरणमा पाईने, हाम्रै घरवरिपरि रहेका(आधुनिक सहरिया जीवनशैलीमा जो बाँचिरहेका थिए तिनीहरुले ग्रामीण खाना भनेर हेयदृष्टिले हेरेका) ती खाद्यपदार्थहरुको बारेमा चर्चा हुनेछ । जुन खाद्यपदार्थहरुको महत्व अहिले भर्खर मानिसहरुले बुझ्न थालेका छन् । यसको प्रयोगका लागि भौँतारिन थालेका छन् ।
संस्कृतमा एउटा श्लोक छ, “
अमन्त्रंमक्षरं नास्तीमूलो मनौषधम्,
अयोग्यं पुरुषं नास्ती,योजकस्तत्र दुर्लभम् ।। ”
यस श्लोकमा मन्त्रविनाको अक्षर नभए जस्तै औषधिविनाको वृक्ष हुँदैन र असल मार्गदर्शन प्राप्त गर्न सक्यो भने कुनैपनि ब्यक्ति अयोग्य हुँदैन भनेर चर्चा गरिए झैँ हरेक वनस्पतिमा औषधीय गुण लुकेर रहेको छ । वनस्पति विभागको जानकारी अनुसार नेपालमा मात्र ३१२ प्रजातिका फूल फुल्ने वनस्पति पाईन्छन् । जसमध्ये ३१ प्रजातिका गुराँसमात्र रहेका छन् । त्यस्तै एक हजार प्रजातिका लेउ, २४६७ प्रजातिका ढुसी, ७९२ प्रजातिका लाईकेन्स, १२१३ प्रजातिका झ्याउ, ५८० प्रजातिका उनिउँ र फूल नफुल्ने ६ हजार ५३ प्रजातिका वनस्पतिसँगै हाम्रो जैविक विविधता सुसम्पन्न छ । नेपालमा पाईने वनस्पतिमध्ये ८१९ वनस्पतिलाई औषधिको रुपमा उपयोग गर्न सकिन्छ । हाल ७०० प्रजातिका जडीबूटीहरु औषधिको रुपमा प्रयोग भईरहेका छन् ।


चिकित्सा विज्ञानका विभिन्न पद्धतिहरुमध्ये हाम्रो देशमा प्रमुखरुपमा एलोप्याथिक र आयुर्वेदिक चिकित्सा पद्धतिहरु बढी प्रचलनमा छन् । एलोप्याथिक पद्धतिमा अधिकांश रोगको निदान भएतापनि अहिले प्रकोपको रुपमा देखा परेको कोरोना भाईरस (Covid-19) को औषधि संसारमा नभएकोले नै मानिसहरुमा त्रासदीपूर्ण वातावरण सिर्जना भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले आफ्नो आधिकारिक फेसबुक पेजमा सूचना नै जारी गरेर भनेको छ “ हालसम्म विश्वमै (Covid-19) को उपचार तथा खोप तयार भई नसकेको अवस्थामा यस रोग लाग्न नदिनु सबैभन्दा उत्तम उपाय हो ।

शरीरमा रोग प्रतिकारात्मक क्षमता बढाउने गुण र Antimicrobial तथा Antiviral गुण भएका विभिन्न किसिमका जडीबूटीहरुको नियमित सेवन गर्ने बानी बसालौँ ” भन्ने सन्देशसहित गाउँघरमा सजिलै पाउने जडीबूटीहरु निम्नानुसार प्रयोग गर्दा शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि भई कोरोना भाईरसले आक्रमण गर्न नसक्ने आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।
(१) गुडुची (गुर्जो) ५ ग्राम आधा लि. पानीमा पकाएर आधा बाँकी रहेपछि चिया जस्तै खाने ।
(२) असुरोको पात र बेसारलाई १ लि. पानीमा पकाएर आधा बाँकी रहेपछि चियाजस्तै खाने ।
(३) सूठो, मरिच, पिप्ला २ ग्राम र तुलसीको पात ५ वटा १ लि. पानीमा पकाएर आधा बाँकी रहेपछि सेवन गर्ने ।
(४) तेजपात २ ग्राम र दालचिनी २ ग्राम आधा लि. पानीमा पकाएर चियाजस्तै खाने ।
(५) नियमित रुपमा योग र प्रणायाम गर्ने ।

हामी नेपालीलाई चिया नसा जस्तै बनेको छ । चियाको लत लागेका हामीले आयुर्वेद विभागले दिएको सुझाव जस्तै हाम्रै गाउँघरमा पाईने तीनै जडीबुटीहरुको चिया पिउने हो भने कोरोना भाईरसमात्र होईन अनेकन रोगबाट बच्न सकिन्छ । तेजपात र दालचिनी हाम्रै पाखामा प्रशस्तै छ । यसैको चिया खाऔँ । गुर्जो (चिनी लहरो) यत्रतत्र पाईन्छ । आज पत्ता लागेको छ कि सबैभन्दा छिटो शरीरमा रोग प्रतिकार्य क्षमता बढाउन सक्छ गुर्जोले । अमला भिटामिन सी को सबैभन्दा राम्रो श्रोत हो । यिनीहरु हाम्रा बारी, कान्ला र खरबारीमा प्रशस्त छन् । आँगनीको डिलमा फलेको कागती हाम्रो प्राण रक्षक हो । कत्तिले बुझेका छौँ ?

अहिले हाम्रो देश लगायत संसारमै Back to nature अर्थात ‘‘प्रकृतितर्फ फर्क” को नारा लागिरहेको छ । स्वस्थ जीवनयापन, स्वच्छ वातावरण र प्राकृतिक खानपानबाट विश्वमा फैलिरहेको प्राकृतिक महामारीबाट बच्न सकिन्छ भनेर विभिन्न सहर र देशविदेशमा रहेका युवाहरु गाउँ फर्केका छन् । उनीहरु प्रकृतिको समीपमा रमाउन यति लालायित छन् कि सीमा छैन । गाउँघरमा पाईने विभिन्न खाद्यपदार्थहरु जस्तै काभ्रो, कोईराला, काफल, सिब्लिगान, खल्लुक जस्ता प्राकृतिक खाद्यपदार्थहरुसँग रमाउँदै,अभिव्यक्तिसहितका तस्वीरहरुले सामाजिक सञ्जाल भरेका छन् । ती चीजहरुबाट अहिले उनीहरु लोभिएका छन् । प्राकृतिक वस्तुहरुको महत्व उजागर गरेका छन् । त्यस्ता चीजहरुको स्वाद ग्रहण गर्न असमर्थ विदेश तथा सहरमा रहनेहरुले ती वस्तुहरु प्रयोग गर्न नसकेका वेदनाहरु सामाजिक सञ्जालमा पस्किरहेका छन् ।

यसबाट के बुझ्न सकिन्छ भने हाम्रो गाउँघरमा पाईने प्राकृतिक खाद्यपदार्थहरु कम महत्वपूर्ण छैनन् । समय अनुसार पाईने ती ऋतुफलहरु साँच्चिकै सञ्जीवनी हुन् । ऋतुफल वर्षमा एकछाक भएपनि चाख्नुपर्छ भन्थे बुढापाकाहरु । तीता गीठा खरानीमा उसिनेर खाँदा गर्मी फाल्छ भन्ने मान्यता थियो । वन तरुल अघिपछि नपाएपनि माघे संक्रान्तिमा नभई नहुने । भ्याकुर औषधि मात्र होईन मिठो तरकारी पनि हो । न कुनै विषादी, न रासायनिक मल । ढुङ्गाको कापमा जीवन बचाउने तत्वहरु लुकेका भेटिन्थे । सिब्लिगानको अचार, अचार मात्र होईन शरीरमा उर्जाको सञ्चार हो । पिँडालुका सुईरा (गाभा) कति स्वादिष्ट, कति पौष्टिक ! काभ्रोका मुना वसन्त ऋतुको दूत बनेर आउँथे । कोईराला, साखिना एकछाक चाखेपनि स्वर्गै पुगेको अनुुभूति हुने । ती चीजहरु कुनै रोगीले बार्नु नपर्ने, जसलाई पनि उत्तिकै जाती !

समय अनुसारका अर्गानिक फलफूलहरु उस्तै । वनपाखामा पाईने काफल, एेंसेलु, चिउरी, खल्लुक, चौतारो (चुत्रो) आदि, समयानुकूल प्राप्त हुने आईरन र भिटामिनका खानी जलुका र खोलेसाग खोल्साखोल्सीमा पाईने कति स्वच्छन्द खाना ती । त्यस्तै जात हाल्नु गहतको झोलमा भनेर अपहेलित गहत पत्थरीको रामबाण औषधि मात्र होईन, रोग प्रतिरोधात्मक क्षमता बढाउने र हामीलाई स्वस्थ राख्ने खाद्यपदार्थ हो । हामीले नबुझेर नै त होला घरमा भएका लोकल कुखुरा सहरमा बेचेर ब्रोईलर कुखुराको मासु बजारमा किनेर खाने आरोप पनि यदाकदा हामीलाई लाग्ने गर्दछ । साँच्चै प्रकृतिले हामीलाई हीरामाथि नै जन्माएको हो । त्यहि भएर त होला कहिलेकाँही मानिसहरुले आफैलाई व्यङ्ग गर्छन् कि सुनको कचौरामा भीख माग्ने मुलुकका मानिस हौँ भनेर ।
यस्ता जडीबूटी र प्राकृतिक आहारविहारले हाम्रो शरीर स्वस्थ राख्दछन् ।

शरीरमा रोगसँग लड्ने क्षमता वृद्धि गर्दछन् । यिनमा कुनै रासायनिक तत्वको मिश्रण छैन । यिनमा प्रदूषणको मार छैन । हामी अब यस्ता चीजहरुबाट विमुख हैन, प्रवद्र्धनसँगै प्रयोग बढाउन ढिला भईसकेका छौं । हाम्रा पाखामा पाईने घोडटाप्रे (टोप्रेझार) ले पर्याप्त इम्युनिटी पावर वृद्धि गर्दछ । असुरो हाम्रै बारीका डीलमा पर्याप्त छ । असुरोको फूलको औषधि मात्र होईन,अचारको रुपमा खान सकिने रहेछ । अचार पनि औषधि पनि, दुबै हातमा लड्डु हुने । भूँई अमला (पानी अमला) जण्डीसको औषधि मात्र होईन पौष्टिकताले भरिपूर्ण फल हो । त्यस्तै निउरोको मून्टा, सिस्नो आदिको महत्व दैनानुदिन चुलिँदे गएको छ । अनिकालको खाना भनेर चिनिने गाउँघरमा उब्जिने जौको आँटादेखि ओटसम्मका परिकारहरु बनेर बजारमा आएपछि यसको महत्व झन् बढेको छ ।

हाम्रो गाउँघरमा परम्परादेखि उपलब्ध भईरहेका यस्ता अमूल्य प्राकृतिक सम्पदाहरुको वास्तवमै चर्चा गरी साध्य छैन । अहिले सहरोन्मुख मानिसहरु रासायनिक मल र विषादीयुक्त खानाबाट आक्रान्त छन् । माथि चर्चा गरिएझैँ अर्गानिक चीजवस्तुहरुको ब्यावसायिक सम्भावना समेत ह्वात्तै बढेर गएको छ । सहरियाहरु अर्गानिक चीज भनेपछि हुरुक्कै हुन्छन् । गाउँबाट डोकोमा स्थानीय उत्पादन बोकेर बटौली झर्नासाथ सहरियाहरु त्यस्ता उत्पादन खरिद गर्नको लागि तँछाड–मछाड गरिहाल्छन् । हाम्रो गाउँघरका कतिपय दाजुभाइ,दिदीबहिनीहरुले यस्ता स्थानीय उत्पादनहरु सहरीक्षेत्रमा बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । अझ रोचक कुरा त नेपालमै नमूना कन्दमूल खेती पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नंं ७ ले सुरु गरेको छ । वडा कार्यालयबाटै रु. १० लाख वजेट विनियोजन गरेको, ईच्छुक किसानहरुलाई कन्दमूलको बीऊ वितरण गरेको, यस सम्बन्धि कृषकहरुलाई अध्ययन भ्रमण समेत गराई वडाका ८० जना किसानहरुलाई ब्यावसायिक कन्दमूल खेतीमा सहभागी हुन सहयोग गरेको कुरा उक्त वडाका वडाध्यक्ष सुवासचन्द्र पौडेललाई उधृत गर्दै अन्नपूर्ण पोष्ट दैनिक ( १६ माघ २०७४) मा लेखिएको छ ।

त्यसैले अब यस्ता चीजवस्तुहरुको ब्यावसायिकरणको खाँचो देखिएको छ । यस्ता कन्दमूलहरु वनजन्य उत्पादन पनि हुन् । सामुदायिक वन र कबुलियती वनका उपभोक्ताहरुलाई आयआर्जन हुने र जीविकोपार्जनमा टेवा पुग्ने गरी प्राकृतिक उत्पादनहरुको व्यावसायिक योजना बनाउन सकियो भने स्थानीयस्तरमा समृद्धिको ढोका खुल्न सक्दछ ।हामीले हाम्रा यी अमूल्य सम्पदाहरुलाई व्यावसायिकरण गर्न नसक्दा जीवनस्तर उकास्न सकिरहेका छैनौँ ।

यदि राज्यले नीतिगत तयारीका साथ हाम्रै देशमा भएका यस्ता जडीबूटी र वनस्पतिहरुलाई प्रशोधन र सदुपयोग गरेर विभिन्न वस्तुहरु उत्पादन गर्न र अन्तरर्राष्ट्रिय बजारमा निर्यात गर्न सके स्वदेशी मुद्रा र जनशक्ति समेत विदेश पठाउनुपर्ने थिएन । नागरिकहरुलाई स्वस्थ बनाउन सकिन्थ्यो र स्थानीय उत्पादनको बजारीकरणसँगै रोजगारी सृजना त हुन्थ्यो नै विदेशीमुद्रा आर्जनको माध्यम समेत बन्न सक्दथ्यो । सायद यस्तै यस्तै अभियानबाट साकार हुन सक्थे होलान्, “समृद्ध नेपाल, सुखी नेपाली” , “समृद्ध प्रदेश, खुसी जनता” लगायतका विभिन्न नारा र अभिव्यक्तिहरु साथै चुनावी प्रतिवद्धता र घोषणा–पत्रहरु समेत ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।