ताजा अपडेट »

चिसोमा पनि मनाङमा पर्यटक, प्रतिदिन करिब १५ जना भित्रिँदै

विहीबार, १४ पुस २०७९, १५ : ३५
22 Shares

मनाङ । हिमाली जिल्ला मनाङमा चिसो बढी भएको अवस्थामा पनि पर्यटक आइरहेका छन् । प्रतिदिन करिब १० देखि १५ जनाको दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

“चिसो अत्यधिक बढेको छ । पर्यटक प्रतिदिन औसतमा १० जना आउने क्रम जारी छ । सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौँ,” गौतमले भने, “हिमपात नभए पनि चिसो अत्यधिक छ । खानेपानी जमेको अवस्था छ । तर पर्यटक आउन रोकिएको छैन ।” पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर आउनुपर्ने उनले बताए । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने उनको भनाइ छ । हिमापत भएपछि भने मनाङ गाउँबाटमाथि जान सक्ने अवस्था नहुने उनले बताए ।

“प्रायजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्ला पास जान अनुमति दिएका छौं । हिउँ नपर्दा सुख्खापन बढेको छ । यसले कृषिबालीमा समेत समस्या हुने देखिएको छ”, गौतमले भने, “पुसमा हिमपात हुने अवस्था देखिएको छैन । माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ ।” केही मान्छेको फोक्सोले चिसोलाई सहज रुपमा अनुकूल बन्न सक्छ भने केही व्यक्तिको फोक्सोलाई चिसोले प्रतिकूल बनाउने हुँदा लेक लाग्ने समस्या हुने गौतमको भनाइ छ । कम पर्यटक हुँदा जोखिम कम हुने उनले बताए ।

कम हुँदा सहज हुने र बसोबासका लागि समस्या नहुने गौतमले बताए । तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाएको उनले बताए । “हिमपात भएपछि हिउँ पहिरो आउन सक्ने भएकाले पूर्णरुपमा यात्रा रोकिन्छ । त्यसै पनि जोखिमपूर्ण यात्रा हो यस पदमार्गमा तर हिमपातमा अझ जोखिम बढी हुन्छ”, गौतमले भने । विकट हिमाली जिल्लावासीको विचार, यहाँको मौसम अनुकूलता अनुसार काम गर्ने योजना रहेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए । पर्यटकीय क्षेत्र भएकाले अझ सचेतता अपनाउनुपर्ने हुँदा सोही अनुरुप अध्ययन गरी मनाङका लागि सहज वातावरण तयार गर्ने गरी काम गर्ने उनको भनाइ छ ।

पर्यटकसँग सम्बन्धित निकायसँगको सहकार्य र समन्वयमा पर्यटकको जोखिम हेरी निर्णय र सहज बनाउने उनको प्रतिबद्धता छ । चिसोका कारण मनाङमा यति बेला विकास निर्माण बन्द छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।