ताजा अपडेट »

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरण : पूर्वउपराष्ट्रपति पुत्र दीपेश धरौटीमा रिहा

शुक्रबार, १४ बैशाख २०८१, २० : ३९
122 Shares

बुटवल । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ पुत्र दीपेश शुक्रबार धरौटीमा रिहा भएका छन् । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनले रुपन्देही अदालतले मागेको ४ लाख धरौटी बुझाएर रिहा भएका हुन् ।

यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले दिपेशलाई निगरानीमा राख्ने भएको छ । सुन तस्करी प्रकरणमा समेत उनको शंकास्पद भूमिका देखिएकाले सीआईबीले निगरानीमा राखेको हो । ब्युरोका प्रमुख एआईजी श्याम ज्ञवालीले सुन तस्करी प्रकरणको अनुसन्धान जारी रहेको र उनको लिंकअफ देखिएको खण्डमा आवश्यक कदम चालिने बताए ।

उनले सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगमा पुनको विषय उल्लेख भएको र यसैलाई आधार बनाएर अनुसन्धान अघि बढिरहेको बताए । तर, अहिले नै उनलाई पक्राउ गर्नेबारे भने कुनै योजना नरहेको ज्ञवालीको भनाई छ ।

यस्तै ब्युरोका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनलाई अहिले पक्राउ नगरिएपनि बयानका लागि उपयुक्त समयमा बोलाइने बताए । आयोगको रिपोर्टमा यसअघि उनबारे ब्युरोले पर्याप्त अनुसन्धान नगरी बयान कागज गराएर छाडेको विषय औँल्याइएको छ ।  उनको मोबाइलको फरेन्सिक जाँच गरिएको देखिएको छैन भने सामान्य बयान कागजमात्रै गराएर उन्मुक्त दिन खोजिएको आरोप लाग्दै आएको छ । उनको संलग्नता ६० किलो सुन तस्करीमा रहेको आरोप लाग्ने गरेको छ।  

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।