ताजा अपडेट »

राजा महेन्द्रको मृत्यु भएको ‘दियालो बङ्गला सर्वसाधरणका लागि खुला, के छ यस भित्र ?

शनिबार, १० चैत्र २०८०, १० : ०३
72 Shares

चितवन । भरतपुर महानगरपालिका–१ मा रहेको दियालो बङ्गला सञ्चालन र व्यवस्थापनको जिम्मेवारी भरतपुर महानगरले लिएको छ । नेपाल ट्रष्ट र महानगर बीच एक सम्झौता गरी सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको हो ।

सम्झौतापत्रमा ट्रष्टका तर्फबाट सदस्यसचिव झलकराम अधिकारी र महानगरका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरे । सम्झौताअनुसार महानगरले यही चैत ९ गतेदेखि विसं २०८२ असार मसान्तसम्म उक्त बङ्गाल सञ्चालन गर्नेछ ।

यो अवधिमा नेपाल ट्रष्टको भरतपुरस्थित दियालो बङ्गलाको भवन तथा परिसर संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्दै उपभोग महानगरले गर्ने, ट्रष्टको स्वामित्वमा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्वका सम्पदा अवलोकन तथा सञ्चालन कार्यविधि, २०८० को अधीनमा रही सञ्चालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ । यसैगरी, महानगरले यसलाई निरन्तरता दिने भए सम्झौता समाप्त हुनुअघि नै नवीकरणका लागि ट्रष्टलाई अनुरोध गर्नुपर्ने र सम्झौता नवीकरण गर्नेरनगर्ने निर्णय एक महिनाभित्र गरिने सम्झौतापत्रमा उल्लेख छ । महानगरले सञ्चालन तथा व्यवस्थापन अन्त्य गर्न चाहेमा कम्तीमा एक महिनाअघि जानकारी गराउनुपर्ने सम्झौतामा उल्लेख छ ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रशेन अधिकारीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । हस्ताक्षर कार्यक्रममा महानगर प्रमुख दाहालले महानगरले ऐतिहासिकस्थलको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्न पाएकामा खुसी व्यक्त गरिन् । औपचारिक रुपमा प्रयास गरेको तीन महिनामा जिम्मेवारी स्थानीय तहमा आएको उनले बताइन् ।

यसलाई महानगरले नमूना र उदाहरणीय समझदारी परियोजनाका रुपमा अघि बढाउने दाहालले बताइन् । भरतपुर भ्रमण वर्ष सन् २०२४ लाई लक्षित गरी दियालो बङ्गला आगामी वैशाख महिनाभित्रै सर्वसाधारणका लागि खुल्ला गर्ने गरी काम गरिने उनले जानकारी दिइन् । उनका अनुसार मर्मतसम्भारका लागि रू ९२ लाखमा दिदीबहिनी निर्माण सेवाले ठेक्का सम्झौता गरेको छ ।

विसं २०२८ सालमा राजा महेन्द्रको निधन यही भएकाले पनि यस क्षेत्रको महत्व रहेको उपप्रमुख अधिकारीले बताए । नेपाल ट्रष्टका सदस्यसचिव अधिकारीले ट्रष्ट सञ्चालक समितिको ८२औँ बैठकको निर्णयअनुसार संरक्षण, संवर्द्धन र प्रवर्द्धनको जिम्मेवारी महानगरलाई दिइएको बताए ।

ट्रष्टले पूर्वराजा र राजपरिवारका नाममा रहेको २२ हजार रोपनीभन्दा बढी सम्पत्ति संरक्षण गरेको छ।


के छ दियालो बङ्गलामा ?

बङ्गला (दरबार) भित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्वराजारानी महेन्द्र र वीरेन्द्रको तस्बिर देख्न सकिन्छ । भर्याङमा २०२६ सालमा राजा महेन्द्रले सिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।

दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नं खोपी मुमा रत्नराज्यको हो भने २ नं राजा र ३ नं रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छन् । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छन् ।

दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारीसाधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन । कपडा फेर्नका लागि बनाइएको आडैको घरमा ट्रष्टको इकाइ चलेको छ ।

ऐतिहासिक सुन्दर ठाउँ भएर पनि यो सर्वसाधारणको पहुँचभन्दा बाहिर थियो । ५७ बिघा १३ कट्ठा सात धुरमा फैलिएको यो ठाउँ शान्त र रमणीय पनि छ । बङ्गलाको पश्चिमतर्फ नारायणी नदीले पनि दरबारक्षेत्रको सौन्दर्य बढाएको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।