ताजा अपडेट »

नवलपरासीको ऐतिहासिक बुद्धमङ्गल ताल

शनिबार, २६ चैत्र २०७८, ०८ : ५८
50 Shares

नवलपरासी । लुम्बिनी प्रदेशको पूर्वी सिमानाको रूपमा रहेको नवलपरासी जिल्लामा दर्जनौँ ऐतिहासिक, पुरातात्त्विक एवं धार्मिक स्थल छन् । यी स्थानहरू रामग्राम, देवदह ९पण्डितपुर०, मदरबाबालगायतको नाम लिन सकिन्छ । जिल्लाको विभिन्न क्षेत्रमा खनजोत गर्दा, कुवा खन्दा, विभिन्न स्थानमा घर बनाउँदा विभिन्न प्रकारका प्राचीन वस्तु एवं संरचना भेटिने गरेका छन् । यसरी ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वका स्थान र वस्तुहरू फेला परे पनि सम्बन्धित निकायबाट यी स्थल र वस्तुको अध्ययन, उत्खनन एवं आवश्यक जाँच भने हुन सकेको छैन । यी क्षेत्रका प्रागैतिहासिक स्थलको उत्खनन एवं अध्ययनका कामले सम्बन्धित निकायलाई पर्खी बसेका छन् । यस्तै ऐतिहासिकता बोकेका स्थलमध्ये बर्दघाट नगरपालिकाको बुद्धमङ्गल ताल पनि एक हो ।

इतिहासहरू बङ्ग्याएर लेखेको र लेखाइएको पनि पाइन्छ । इतिहास गलत हुन सक्छ तर प्रागैतिहासिक प्रमाण भने झुट बोल्दैनन् । यी गलत हुन सक्दैनन् । शब्दको हिसाबले कुरा गर्ने हो भने पुरातìव अङ्ग्रेजी भाषाको ‘प्रिहिस्ट्री’बाट आएको शब्द हो । जसमा ‘प्रि’को अर्थ पहिला र ‘हिस्ट्री’को अर्थ इतिहास अर्थात् लिखित इतिहासभन्दा पनि पहिलेको इतिहासको अध्ययन गर्ने विज्ञान भन्ने बुझिन्छ ।

गौतम बुद्धको जन्मस्थलको खोजीका क्रममा रुपन्देही जिल्लाको लुम्बिनीमा सन् १८९६ मा अशोक स्तम्भ भोटिएपछि लुम्बिनी कहाँ थियो भन्ने विवाद सकियो । अर्थात् लुम्बिनीको खोजीको क्रमले विराम पायो । लुम्बिनी पत्ता लागेपछि गौतम बुद्धकी आमा मायादेवीको घर तिलौराकोट र मायादेवीको माइत प्राचीन कोलीय राज्यको क्षेत्र कहाँ कहाँ थियो भन्ने विषय पुरातìवविद् र इतिहासका अध्येताहरूका लागि नयाँ खोजीको विषय बन्न गयो । यसै क्रममा मायादेवीको माइती घर अर्थात् गौतम बुद्धको मावली स्थल कोलिय राज्यको क्षेत्र कहाँसम्म थियो रु वा त्यो समयको मानवीय सभ्यता, कला, संस्कृति, सामाजिक विकासको स्तर कस्तो थियो आदि विषय अहिले पनि खोज र अनुसन्धानका विषय बनेका छन् ।

दाउन्नेदेखि पश्चिमको भाग वा नारायणी नदीको पश्चिमी भागदेखि रुपन्देहीको भलुही खोला ९प्राचीन नाम रोहिणी०सम्मका भागमा कोलीय राज्य ९बुद्धको मावली० रहेको अहिलेसम्मका अध्ययनले देखाएको छ । यस क्षेत्रमा गौतम बुद्धले ज्ञान प्राप्तिपछि पनि आएर विभिन्न समयमा ज्ञान दिने काम गरेको पाइन्छ । त्यसैले अहिले लुम्बिनी प्रदेश सरकारले पश्चिम नवलपरासीदेखि रुपन्देहीको लुम्बिनी हुँदै कपिलवस्तुको तिलौराकोटसम्मको भागलाई बुद्ध करिडोर घोषणा गरी बृहत् लुम्बिनीको योजना अगाडि सारेको छ ।

गौतम बुद्धको मावली स्थान कोलीय राज्यको राजधानी देवदह, त्रिवेणीसुस्ता गाउँपालिकामा रहेको जितपुरगढी, सुनवल नगरपालिकाको वर्दगोरिया मन्दिर परिसर, सुनवल–८ को बैरगनाथ मन्दिर क्षेत्र, सुनवल वार्ड नम्बर ७ स्थित देवदह पोखरी क्षेत्र एवं बर्दघाट नगरपालिकाको बुद्धमङ्गल ताललगायत दर्जनौँ स्थान र त्यहाँबाट प्राप्त वस्तु नवलपरासीमा छिरलिएर रहेका छन्, जसको विस्तृत अध्ययन, उत्खनन हुन बाँकी छ ।

केही भारतीय पुरातत्वविद् एवं इतिहासकारहरूले बुद्धकालीन ऐतिहासिक देवदह भारतको महाराजगन्जस्थित बनरसियामा रहेको दाबी गरिरहेको बेला पछिल्लो समय ९विसं २०६८–२०७३०मा पण्डितपुरमा गरिएको उत्खनन र प्राप्त प्रमाणले ऐतिहासिक देवदह ९प्रचीन कोलिय राज्यको राजधानी० नवलपरासीको पण्डितपुरमा रहको प्रमाण फेला परेसँगै बुद्धसँग सम्बन्धित अन्य क्षेत्रहरूसमेत यिनै क्षेत्रमा रहेको अनुमान गरिएको छ । अब कोलीय राज्यको राजधानी देवदहको अध्ययनको क्षेत्र साँघुरिएको अनुमान गरिएको पुरातìव विभागका पुरातत्व अधिकृत भाष्कर ज्ञवालीले पनि बताएका छन् ।

यसैक्रममा बर्दघाट नगरपालिकामा रहेको ऐतिहासिक बुद्धमङ्गल तालको पनि अध्ययन एवं उत्खननको आवश्यकता खड्किएको छ । पश्चिम नवलपरासीको सदरमुकाम परासीदेखि १० किलोमिटर र पूर्वपश्चिम राजमार्गको बर्दघाट चिसापानीदेखि सात किलोमिटर दक्षिणतर्फको दूरीमा रहेको दबिला गाउँको बीचमा बुद्धमङ्गल ताल छ । यस तालको बीचमा स्थानीय सरकारले एउटा बुद्धको मूर्ति स्थापना गर्नुबाहेक केही पनि नगरेको भन्दै स्थानीयवासीले विरोध गर्दै आएका छन् । बुद्धकालीन समयको भन्दा पनि पुरानो समयको यो तालको संरक्षण, प्रचारप्रसारको काममा स्थानीय सरकारको ध्यान नजाँदा यो ऐतिहासिक ताल र यस क्षेत्रको ऐतिहासिकता ओझेलमा परेको छ । यस तालसँग जोडिएका विभिन्न प्रकारका किंवदन्ती प्रचलित भए पनि गौतम बुद्धले आफ्नो मावलीस्थल देवदह आउने क्रममा बुद्धमङ्गल तालको नजिकै बसेर दबिलाका स्थानीयवासीलाई ज्ञान दिएको र एक रात यहीँ बसेको भन्ने भनाइ पनि छ ।

यो तालसँग जोडिएको दबिला क्षेत्रमा स्थानीयवासीले घर बनाउने क्रममा वा पानीका लागि कुवा खन्ने क्रममा प्राचीन समयका इँटा, खपडाका टुक्रालगायत विभिन्न प्रकारका वस्तु फेला पर्ने गरेको छ तर सम्बन्धित निकायले चासो नदिँदा यी प्राचीन प्रमाण नष्ट हुँदै गएका छन् । टाढाटाढाबाट बुद्धसँग सम्बन्धित जानकार व्यक्ति दबिला क्षेत्र र बुद्धमङ्गल ताल खोज्दै आउने गरेको भए पनि यस क्षेत्रको ऐतिहासिक महत्त्व केकति छ भनेर त्यति अध्ययन भएको पाइँदैन ।

ताललाई बुद्धको समयभन्दा पनि पहिलेको मानिन्छ । तालको वरपर बुद्धको समयमा बाक्लो बस्ती रहेको थियो तर पछिल्लो समय यहाँको बस्ती पातलियो । अहिले यो तालको बाहिरी भागमा बाक्लो जङ्गल छ । जङ्गलको फँडानी गरी नेपाल सरकारको पुनर्वास कम्पनी आयोजनाले २०३१ सालमा यो क्षेत्रमा नयाँ बस्ती बसाएको थियो । यो बस्तीको नाम दशरथ बस्ती राखिएको थियो । तालको अतिक्रमण रोक्नका लागि लुम्बिनी प्रदेश सरकारको तर्फबाट पोखरीको चारैतर्फ सिमेन्टको डिल बनाइएको छ भने स्थानीय सरकारले पोखरीको चारैतर्फ विद्युतीकरण गरेको छ तर ताल क्षेत्रको अध्ययन, उत्खनन एवं उचित प्रचारप्रसार भने हुन सकेको छैन ।

करिब छ बिघा क्षेत्रमा फैलिएको यो तालमा वर्षैभरि पानी सुक्दैन । विभिन्न प्रकारका पाहुना चरा यहाँ आउने गरेका छन् । जाडोको समयमा साइबेरियन चरासमेत यो तालमा आउने गरेको भनिन्छ । जैविक वनस्पती एवं जीवसमेत यो तालमा पाइन्छ । बुद्धकालमा सातवटा नगरमध्ये एउटा विकसित नगरलाई हलिदावसन भन्ने गरिन्थ्यो । त्यो ऐतिहासिकतालाई झल्काउन स्थानीय सरकारले दविला ताल क्षेलाई हलिदावसन नगर घोषणा गरेको छ । गोपी ज्ञवाली/गोरखापत्र

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।