ताजा अपडेट »

कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने त्रास

सोमबार, १६ चैत्र २०७७, ०६ : ५१
6 Shares

काठमाडौँ ।  कोरोना सङ्क्रमणको दोस्रो लहर आउनसक्ने भन्दै स्वास्थ्य मापदण्ड अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरे पनि फागुको अवसरमा आइतबार मापदण्ड अवलम्बन गरेको पाइएन ।

फागु मनाउने क्रममा काठमाडौँका वसन्तपुर, नयाँ बानेश्वर, चाबहिल, भक्तपुर लगायतका क्षेत्रमा भीडभाड भएपछि सम्बन्धित निकाय र विशेषज्ञले चिन्ता व्यक्त गरेका छन् । स्वास्थ्य मापदण्ड अपनाउन गरिएको आग्रहलाई बेवास्ता गर्दै फागु खेलिएकाले कोरोना सङ्क्रमण बढ्ने चेतावनी विशेषज्ञले दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले भोलिका दिनमा कोरोना सङ्क्रमित बढ्न सक्ने चेतावनी दिए । डा. अधिकारीले भारतमा दोस्रो लहर देखिएको भन्दै नेपाल पनि त्यत्तिकै जोखिममा रहेको जानकारी दिए । उनले भारतसँग नेपालको खुला सीमा रहेकाले पनि मानिस सामान्य रूपमा आवतजावत गर्नसक्ने भन्दै नेपाल कोरोनाको उच्च जोखिममा रहेको जानकारी गराए । 

डा. अधिकारीले भने, “पछिल्ला दिनमा ५० को सङ्ख्यामा देखिएको कोरोना बढेर १८० सम्म पुगेको छ, भोलिका दिनमा दैनिक एक हजारसम्म पुग्न सक्छ, त्यसैले सचेत हुनु जरुरी छ ।” डा. अधिकारीले स्वास्थ्य मन्त्रालयले चाडपर्वका नाममा भीडभाड नगर्न आग्रह गर्ने तर त्यसको नियमक निकाय गृह प्रशासन भएकाले भीडभाड नियन्त्रण गर्ने जिम्मा स्वास्थ्य मन्त्रालयको नभएको जानकारी गराए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।