६ जेष्ठ २०७९, शुक्रबार

May 20, 2022


शान्ति ठटाल

राजनीतिक चेतना जगाउने काम पनि हुने भएकाले दार्जिलिङमा राज्यले गीत, साहित्य र कवितामा प्रतिवन्ध लगाएको थियो। मानिसहरु संगीतमा लागे तापनि त्यति धेरै सचेत थिएनन्। स्थानीय गीत भन्दा पनि नेपाली र हिन्दी गीतहरु बढी गाउँथे। विशेषगरी प्रेमका गीतहरु।

Advertisement

यस्तो परिवेश रहेका बेला शान्ति ठटाल दार्जिलिङको मुटु मानिने चोक बजारमा जन्मिइन्। उनको घरमा संगीतको माहोल थिएन। गाउँ–घरमा भजनहरु गाइन्थे। र, उनलाई गीत भनेकै भजन हो भन्ने लाग्थ्यो।

भजन सुन्दै गर्दा शान्तिको संगीतप्रति आकर्षण बढ्न थाल्यो। अनि सुन्न थालिन् हिन्दी गीतहरु। विस्तारै शान्तिले आफूले सुनेका हिन्दी गीत गाउन थालिन्। स्वर मन परेपछि उनलाई स्थानीय नाटकहरुमा गायनका लागि बोलाउन थालियो।

कुरा बिसं २०१० सालतिरको हो।

सानै उमेरमा शान्तिको स्वरले दार्जिलिङमा चर्चा पायो। नेपालबाट गएका साहित्यकारहरुको सम्मानमा आयोजित कार्यक्रममा उनले स्वागत गीत गाइन्

यस पतझरमा आगमनले ल्यायो नव बसन्त रे…

यसरी शान्ति संगीतमार्फत् आफ्नो प्यास मेट्दै थिइन्। नेपालबाट तारादेवी, नातिकाजी, शिवशंकार, पुष्प नेपालीहरु बेलाबेलामा दार्जिलिङ पुग्थे। उनीहरु पुगेको कार्यक्रममा शान्ति पनि आफ्नो प्रस्तुती दिन्थिन्।

उनलाई याद छ, एकपटक दार्जिलिङ गएकी तारादेवीसँग शान्तिले पनि स्टेज साटेकी थिइन्।

विस्तारै शान्तिका गीतले दार्जिलिङका स्थानीय रेडियोमा स्थान पाउन थाले। शान्तिको स्वरलाई प्रेम गर्नेहरु बढ्दै जान थाले।

नेपाल यात्रा
२०१३ मा नाटकको गीत रेकर्ड गर्न शान्तिलाई कलकत्ता लगियो। त्यहाँ पहिलो नेपाली गीत रेकर्ड गरिन्ः

चाँदनी चाँदनी तिमी छौ शीतल पथमा…

त्यसपछि दोस्रो र तेस्रो पनि गाइन्। उनले गाएका गीतमध्ये एउटा झ्याउरे भाकाको थियो भने अन्य ‘स्लो गीत’ थिए।

त्यतिबेला उनी संगीतको ‘स’ सम्म जान्दिनथिन्। शान्ति विगत सम्झिन्छिन्, ‘मेरो स्वर राम्रो थियो, त्यत्ति हो।’

२०२२ मा तत्कालिन राजा महेन्द्रको जन्मजयन्तीमा शान्तिलाई पनि नेपाल डाकियो। अन्य ३ जना साथीसहित उनी जीवनमै पहिलोपटक नेपाल आइन्।

शान्ति लगायतका साथीहरुको गीत सुनिसकेपछि राजाले सोधे, ‘दार्जिलिङबाट किन यति थोरै कलाकार आएको?’

शान्ति र अरुणा लामा केही बोलेनन्। शरण प्रधानले, ‘हामी यत्ति नै आयौँ हजुर’ भने। राजाको यो प्रश्नले उनलाई भित्रैदेखि छोयो। उनले राजामा संगीतप्रतिको लगाव र प्रेम देखिन्।

त्यसबेला शान्तिले नेपाली भूमिमात्र टेकिनन्, नेपाली कलालाई बुझ्ने अवसर पनि पाइन्। नेपाली कलाकारसँगको चिनजानले छोटो समयमै उनलाई थुप्रै ठाउँ घुमायो। शान्ति भन्छिन्, ‘त्यतिबेला १ महिना नेपालमा बसेर कार्यक्रम गरियो।’

उनले रेडियो नेपालमा दुई गीतसमेत गाइन्– ‘सम्हालेर राख’ र ‘मेरो दुःखी मन।’ दुबै गीतमा अम्बर गुरुङले संगीत भरेका थिए।

सम्हालेर राख, संगालेर राख
फेरि फुल्ने हो कि होइन जोवनको फूल
यसरी राख, साँचीसाँची राख
चाहे झरोस् बिरानीमा, निशानी भई फूल…

माथिल्लो गीतले निकै चर्चा कमायो। गीतसँगै नेपाली संगीतमा शान्ति ठटालको नामले उचाई लियो।

शान्तिले ८१ वर्ष टेकिसकेकी छन्। सहयोगी र लठ्ठीबिना हिँडडुल गर्न गाह्रो हुन्छ उनलाई। यस्तो बेला उनलाई फेरि एकपटक काठमाडौँले बोलायो। उनी लुसुक्क आइन्, नेपालयको ‘पलेँटी श्रृङ्खला’ को ‘आर’ शालामा आफ्नो माधुर्यता गुञ्जाउन, संगीतका पारखीलाई लठ्याउन।

स्वरमा खराबी
गीत गाउने क्रममा शान्तिको स्वरमा खराबी आयो। उनको मन खिन्न भयो। संगीतसँग झाँगिएको प्रेम, संगीतप्रतिको लगाव, उनी कसरी छाड्न सक्थिन् यी सबै कुरा……

त्यसैले त उनले संगीत सिकिन्। अनि ‘कम्पोजिसन’ तिर लागिन्। सँगसँगै गाउन गाउँथिन् पनि। तर, स्वरमा सुरुवाती दिनमा जस्तो चमक थिएन।

यसको पनि कारण छ। स्वरले राम्रो चर्चा पाउन थालेपछि शान्तिलाई संगीतबारे धेरै कुरा सिक्ने हुटहुटी जाग्यो। त्यसपछि उनी कलकत्ता हानिइन्। रवीन्द्र भारती विश्वविद्यालयमा भर्ना भइन्।

३ वर्ष त्यहाँ बिताएपछि शान्तिले संगीतबारे धेरै कुरा थाहा पाइन्। उनमा रहेको ज्ञानको दायरा फराकिलो बन्यो। तर, स्वर ?

‘सिकेको कुरालाई लागू गर्न खोज्दा आफूमा भएको चिज हराएर गयो’ शान्ति भन्छिन्, ‘त्यसपछि त हो म ‘कम्पोज’ मा लागेकी।’

संगीत सिकेपछि ‘परालको आगो’ मा संगीत भरेर नेपाली फिल्मकी पहिलो महिला संगीतकारको रुपमा आफूलाई चिनाउन सफल भइन् उनी।

नेपाली संगीत क्षेत्रसँग जोडिएर मनग्य चर्चा कमाउँदा शान्तिलाई अब म नेपालमै बस्छु भन्ने लागेन त?

‘त्यो सोचिन मैले’, शान्तिसँग यसको प्राकृतिक जवाफ छ। शान्तिलाई त्यतिबेला पनि धेरैले नेपालमै बस्नका लागि आग्रह गरेका थिए। तर, यस विषयमा उनी मौन रहिन्।

नेपालमा बसेर भन्दा दार्जिलिङमा बसेर नेपाली गीतमा काम गर्दा त्यसको महत्व बढी हुने लागेर नै आफूले नेपाल बस्नेबारे कहिल्यै नसोचेको उनी बताउँछिन्। फेरि, नेपाल–दार्जिलिङबीच गीत–संगीतमा कुनै सीमा थिएन। सहजै आवातजावत हुन्थ्यो, कार्यक्रमहरु भइरहन्थे।

‘मनमा प्रेम छ भने धरातलले आत्मियता छेक्न सक्दैन नि’, शान्तिले थपिन्।

त्यो गीत
शान्तिले लोकप्रिय गायक नारायण गोपाललाई समेत गीत सिकाउने अवसर पाइन् ।

मेरो कथा खाली खाली पिँजडामा खोज
मेरो व्यथा भत्किएको मन्दिरलाई सोध

रुँदारुँदै हाँसी दिनु गाह्रो कि छैन
जली जली खाक हुने मैनबत्तीलाई सोध

मेरो कथा…

शान्तिले नारायण गोपाललाई सिकाएका दुई गीतमध्ये माथिल्लो गीत निकै लोकप्रिय भयो। त्यसमा उनैले संगीत भरेकी थिइन्।

मैले बोल्नै भएन, केही भन्नै भएन
दुई चार कुरा मनको मैले पोख्नै भएन…

शान्तिले नारायण गोपाललाई सिकाएको दोस्रो गीत यही थियो। तर, यसलाई तत्कालिन सरकारले प्रसारणमा प्रतिबन्ध लगायो। गीतमा अधर्म शब्दको प्रयोग गरिएकाले त्यस्तो भएको हो।

‘नारायण गोपालजस्तो महान कलाकारले मसँग गीत सिक्दा, मेरो संगीतमा गीत गाउँदा मलाई निकै खुसी लाग्यो’ शान्ति भन्छिन्, ‘उहाँले खोई गीत सुनौँ त भन्नुभयो, मैले सुनाएँ । त्यसपछि त ‘गाउन सिकाउनु’ भनेर सिक्न थालिहाल्नुभयो।’

धेरै वर्षपछि (२०५२ तिर) रामकृष्ण ढकाल शान्तिकहाँ पुगे। त्यतिबेला रामकृष्ण आफ्नो ‘करिअर’ बनाउँदै थिए। उनले शान्तिलाई कुनै गीत भए आफूलाई दिन भने। साथै, सो गीत मुम्बईमा रेकर्ड हुने कुरासमेत बताए।

रामकृष्णको उत्सुकता देखेर शान्ति कायल भइन्। उनले आफूले नारायण गोपाललाई सिकाएको एउटा गीत रहेको बताइन्। त्यति भनेपछि नारायण गोपालकै छत्रछाँयामा हुर्किएका रामकृष्णको कुतुहलता झन् बढ्यो। शान्तिले उनलाई पनि सिकाइन्ः
मैले बोल्नै भएन, केही भन्नै भएन…।

यो गीत नेपाली संगीतमा कालजयी बनेको छ।

गीत गाएर पैसा पाइन्छ र!
दार्जिलिङमा त्यतिबेला सबै सामान्य मानिस थिए। धनाढ्यहरु औँलामा गन्न सकिने (२–४) जनामात्र थिए। त्यसैले, न कसैले गीत गाएवापत पैसा दिन्थे, न गाउनेहरुले नै आश गर्थे।

‘गीत–संगीत क्षेत्रको विकास र विस्तारका लागि त्यतिबेला कलाकारहरुले सित्तैमा काम गरेका हुन्’ शान्ति भन्छिन्।

नेपाली फिल्म ‘परालको आगो’ र ‘बाँच्न चाहनेहरु’ मा संगीत भरेवापत पनि उनले कुनै रकम पाइनन् । न उनले मागिन्, न कसैले दिए नै।
तर, जीवनमा एकदिन नसोचेको भयो। उनकै भाषामा भन्ने हो भने अचम्म भयो।

मायालुले सम्झे कि क्या’ हो बाडुली पो लाग्यो
मेरो याद आयो कि बाडुली पो लाग्यो
जब तिम्रो नाम सम्झेँ मैले
बाडुली मलाई चट्टै हरायो…

यो र अरुणा लामाको ‘आकाशको प्रित, धरतीको गीत’ बोलको गीत एसियाली संगीतको उत्कृष्ट मध्येमा चुनियो। त्यतिबेला शान्तिको हातमा एउटा चेक पर्यो– १८ सय रुपैयाँको। संगीत क्षेत्रमा लागेपछि यो नै उनको जीवनको पहिलो कमाई थियो।

‘मलाई त यस्तो पनि हुँदोरहेछ भन्ने भयो’ आफ्नो पहिलो कमाईबारे हाँस्दै शान्ति भन्छिन्, ‘त्यो पैसा त मैले सबै मेरो आमालाई दिएँ।’

त्यसपछि उनी खर्साङ रेडियोबाट ‘कम्पोजर’ को रुपमा अनुमोदन भइन्। ‘कम्पोज’ गरेवापत शान्तिले पैसा पनि पाउँथिन्। एउटा भजन ‘कम्पोज’ गरेको ६–७ हजार आउने शान्ति बताउँछिन्। यो बिसं २०३४ सालतिरको कुरा हो।

अरुणासँगको सम्बन्ध
धेरैले शान्ति र अरुणा लामालाई ‘बेस्टफ्रेण्ड’ भन्छन्। खासमा उनीहरुको सम्बन्ध के हो त?

‘ऊ मभन्दा जुनियर हो। मैले नाटकहरुमा गाउने समयमा अरुणा भर्खरै स्टेजमा आएको थियो’ शान्ति भन्छिन्, ‘बेस्टफ्रेन्ड भन्दा पनि उसले मलाई आदर गथ्र्यो, म उसलाई माया गर्थें।’

शान्तिले आफ्नो जीवन धेरै जनासँग निकट भएर काम गरिन्। मन्देश गुरुङ र शिवप्रसाद सिंहका गीतहरु नाटकमा गाइन्। कुनै समय उनीहरुसँग निकट भइन्। पछि संगीत पढ्न कोलकत्ता गएपछि त्यो सम्बन्ध टुट्यो।

३ वर्षपछि कोलकताबाट फर्केर उनले सिक्किममा सरकारी जागिर गर्न थालिन्। त्यही समय उनको निकटता अमर गुरुङसँग बढ्यो। पछिपछि योपाल योञ्जन, डम्बर थपलिया, रञ्जित घिसिङ, मीनबहाहुर गुरुङलगायतसँग नजिक भइन्। तर, उनले जीवनमा ‘बेस्टफ्रेण्ड’ नै भनेर भने कसैलाई बनाइनन्।

‘मसँग निकट भएका जति सबै मेरा फ्रेन्ड, सबै मेरा बेस्टफ्रेन्ड’ शान्ति मुस्कुराउँछिन्, ‘यो (व्यक्ति) चाहिँ अलिक खास (महत्वपूर्ण) भन्ने नै भएन।’

गीतमा प्रेम
त्यतिबेला गीतमा प्रेम र माधुर्यता झल्कन्थ्यो। गीत सुन्दा आनन्द महसुस हुन्थ्यो। शान्ति पनि त्यस्तै गीत गाउँथिन्। गीतमा संगीतको ‘चार्म’ निकै पछि आएको हो। त्यसैले, संगीतमा भन्दा पनि शब्दमा जादु हुन्थ्यो। शब्दले नै मान्छेको मनमा तरङ्ग ल्याइदिन्थ्यो। त्यसमा स्वरले लालित्यता थप्ने कुरा त भइहाल्यो।

‘प्रेम गीत नै सबैभन्दा ‘मेलोडियस’ हुन्छ भन्ने भनाइ छ’ शान्ति हिन्दी भनाइलाई उदाहरणको रुपमा प्रस्तुत गर्छिन्, ‘है सबसे मधुर व गीत जिन्हे दर्दके सुरमे गाते है।’

शान्ति पनि प्रेम गीतहरुमा निकै ‘इन्जोय’ गर्थिन्। प्रेममा मर्म र दर्द दुबै मिसिने भएकाले यस्ता गीतहरु कालजयी हुने उनको भनाई छ।

शान्तिले चाहिँ गीतमा आफ्नो दर्द कत्तिको पोख्थिन् त?

‘शब्द–संगीतहरुमा म पनि आफ्नो दर्द पोख्थेँ’ शान्ति भावुक हुन्छिन्, ‘जसरी नारायण गोपालले पोख्नुहुन्थ्यो।’

अहिले पनि त उनको गायनमा प्रेम छचल्किन्छ। गाइ रहँदा उनी गीतमा डुब्न पुग्छिन्।

‘यो प्रेम नभएर के हो त?’ शान्ति उल्टै प्रश्न गर्छिन्। उनलाई लाग्छ, यही प्रेमका कारण बच्चु कैलाश, नारायण गोपाल, गोपाल योञ्जनहरु अहिले पनि मानिसको तन–मनमा बसिरहेका छन्।

प्रेम विवाह
शान्ति उमेरले ८१ टेकिन्। अझै पनि उनको मुहारमा चमक देखिन्छ। यसबाट पनि अनुमान लगाउन सकिन्छ कि, जवानीमा उनको रुप कस्तो थियो होला? खासमा उनी रुपकी खानी नै थिइन्। त्यसैले त दिग्गज कहलिएका कलाकारहरु उनलाई प्रेम गर्थे।

उनले पनि कसैलाई प्रेम गरिन् त?

‘जवानीमा प्रेम त सबैको हुन्छ नि!’ शान्ति ‘लाउड्ली’ हाँस्छिन्, ‘सायद प्रेम गीतको जन्म पनि प्रेमपछि न हुन्छ कि!’

शान्ति जीवनमा प्रेम नै गरिनँ भनेर ढाट्न चाहन्नन्। तर, सबै प्रेम सफल हुन्छ भन्ने कहाँ हुन्छ र?

अर्को के कुरा पनि सत्य हो भने, शान्तिको व्यक्तिसँग भन्दा बढी संगीतसँग प्रेम बस्यो। त्यसैले त उनले जीवनमा कहिल्यै बिहे गरिनन्।

किन त?

‘संगीतसँग मेरो ब्रेकअप नै भएन क्या!’ शान्ति जोडले हाँस्छिन्, ‘अहिले त मेरो प्रेम भने पनि, जीवन भने पनि संगीत नै हो।’

-साभार/ कृष्ण आचार्य

प्रतिकृया दिनुहोस्

Flash News

स्थानीय वायुको प्रभाव, आज देशका धेरै क्षेत्रमा वर्षाको सम्भावना तिलोत्तमामा मतान्तर बढाउँदै चापागाईं, उप मेयरमा चौधरी ३ हजार मतले अघि काठमाण्डौंमा बालेन करिब १२ हजार मतले अघि, यस्तो छ पछिल्लो मत परिणाम ५७९ स्थानीय तहको मतगणना सम्पन्न, २९,३०३ उम्मेदवार निर्वाचित बर्दघाटको मेयर र उपमेयरमा गठबन्धनका काग्रेंस-माओवादी विजयी तिलोत्तमामा एमालेका चापागाईं १३५ मतले अघि, पुन: मत गणना भएका वडामा काँग्रेसलाई अग्रता मदन भण्डारी यु–१४ क्रिकेट: बुटवल र सैनामैना फाइनलमा नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित कपिलवस्तुको शिवराज नगरपालिका मेयरमा राप्रपा विजयी २२ वर्षदेखि फरार अभियुक्त चुनावका बेला गाउँ जाँदा पक्राऊ चुनाव स्थानीय तहको, जित टोपबहादुर रायमाझीको बुटवलमा कांग्रेसका पाण्डेय र एमालेका भट्टराईबीच ६ हजार बढी मतको भिन्नता सियारीमा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी भरतपुरमा कसले कति पाए मत ? यू-२० साफको तालिका सार्वजनिक, पहिलो खेलमा माल्दिभ्सको सामना गर्ने नेपालमा थपिए १२ कोरोना संक्रमित पत्रकारिता पुरस्कार भैरहवाका तीन पत्रकारलाई सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो