ताजा अपडेट »
पठनाभूति:

सानो तर सुन्दर  !

मंगलबार, १५ फागुन २०८०, १५ : ३९
366 Shares

पुस्तक पढनु  बाध्यता र रहर हुन् मेरा  । कुनैबेला शैक्षिक योग्यता हासिल गर्नका लागि पढनु पथ्र्यो । त्यो मेरो बाध्यता थियो । नपढिकन अघि बढ्न सकिदैनभन्ने तर्क थियो  । आज पुस्तक पढ्नु,पढेका पुस्तकका बारेमा अनुभूति ब्यक्त गर्नु, छलफल,अन्तक्र्रिया गर्नु,पठनाभूति लेख्नु मेरा रहरका विषय बनेका छन्  । यी मेरा नीजि कुरा हुन् । कसैसँग मेल खान पनि सक्लान् ! 

यतिबेला मैले पढिरहेको पुस्तक हो–यादव आचार्यको जनवादी शिक्षा । हुन त यो पुस्तक धेरै वर्ष अघि हात लागेको थियो । त्यतिबेला यादव आचार्यसँग मेरो चिनजान थिएन । तैपनि शीर्षकले आकर्षित गरेकै कारण पुस्तक खरिद गरेको थिएँ । प्रायः कम्युनिष्टहरुले भन्ने गरेको जनवादी शिक्षा के रहेछ भन्ने कुराको नालीबेली जान्ने उत्कट इच्छा थियो । पुस्तक पढिरहँदा मेरा इच्छाहरुले अर्को इच्छा जन्माएका छन् । सायद पुस्तकको बलियोपना भनेकै त्यही हुनुपर्छ  !  यादवले आफ्नो एमफिलको शोधपत्रका लागि ‘जनवादी शिक्षा–उद्भव,विकास र भविष्य ’ शीर्षकमा केन्द्रीत भएर  लेखेका रहेछन् ।  लेखनले उनलाई खोज, अध्ययन र अनुसन्धानमा खर्लप्पै घोप्टाएको रहेछ । मिहिन तरिकाको खोज, अध्ययन र अनुसन्धानले विषयगत रुपमा पूर्णतातर्फ उन्मुख भएको पाउन सकिन्छ । उनको

शोधपत्रबाट तयार भएको पुस्तक पढिरहँदा माक्र्सवादी पुस्तकका ठूलै ठेली पढेको अनुभूति हुन्छ र भयो मलाई । यति सानो पुस्तकमा त्यतिधेरै गुदोरहेछ भन्ने कुराको एकीन भयो । साँचिक्कै गागरमा सागर रहेछ ।  यादवका अनुसार जनवादी शिक्षा प्रजातान्त्रिक शिक्षा हो तर बुर्जुवा प्रजातान्त्रिक शिक्षा भने होइन । यो शिक्षाले माक्र्सवादलाई स्वीकार गर्छ । उत्पादनमा योगदान दिदैं समाजवादमा संक्रमण गर्ने लक्ष्य राख्छ । जनतालाई ज्ञानको स्रोत ठान्दछ । उनीहरुमा ज्ञान,सीप र प्रविधि देख्छ,भेट्छ । विद्यार्थीलाई समालोचक र अन्वेषक बनाउने भन्छ । यसले जनपक्षीय र जननिर्मित पाठ्यक्रम खोज्छ । जनता,समाज,सिकाइ,श्रम र प्रकृतिसँग  प्रत्यक्ष साक्षात्कार हुन सकेमा सिकाई प्रभावकारी हुन्छ भनेर ठोकुवा गर्छ । सहकारी र राज्यमा आधारित व्यवस्थापनमा जोड दिन्छ । यसको कार्यान्वयनमा कुनैपनि अमूक व्यवस्थालाई कुरिरहनुपर्छ भन्ने रहेनछ । 

यति कुरा भनेपछि धेरै कुरा हेक्का भइसकेको छ । जनवादी शिक्षाका बारेमा धेरैलाई मनमा आउने मुखमा नआउने विषय हो । हल्का रुपमा धेरैका मुखबाट सुनिएको कुरा यो हो कि–सस्तो,सुलभ,प्रभावकारी वा बैज्ञानिक ढंगले दिइने शिक्षा प्रणाली नै जनवादी शिक्षा हो । भरखर भरखर वामपन्थी विद्यार्थी आन्दोलनमा सहभागी विद्यार्थीले जनवादी शिक्षाको परिभाषा यस्तै दिने गर्छन् । हुन त जसको जति क्षमता छ त्यति भन्न सक्नुलाई अन्यथा  ठान्नु बेकार छ ।  उनले जनवादी शिक्षाका बारेमा पाँचवटा कुराको खोज,अध्ययन र अनुसन्धान गर्ने दृढ संकल्प गरेका छन् । जनवादी शिक्षाको दार्शनिक आधार के हो ? विभिन्न दार्शनिकहरुले जनवादी शिक्षालाई कसरी व्याख्या गर्छन् ? कम्युनिष्ट पार्टीको सत्ता रहेका देशमा कस्तो शिक्षा व्यवस्था थियो र छ ? नेपालका कम्युनिष्ट पार्टीका नेताहरुले जनवादी शिक्षालाई कसरी बुझ्छन् ? नेपालका लागि जनवादी शिक्षाको ढाँचा के र कस्तो होला ? यिनै प्रश्नका उत्तर खोजिएका छन् शोधपत्रमा । पुस्तक सानो भएर पनि बहुमूल्य छ अर्थात् स्मल इज ब्युटीपूmललाई प्रमाणित गरेको छ । 

आफ्नो शोधपत्र तयार गर्न उनले घटनाशास्त्रको प्रयोग गरेका छन् । हर्मिन्यूटिक विधिलाई आत्मसात् गरेका छन् । विश्लेषणात्मक र समालोचनात्मक उपागमलाई साथ लिएका छन् । नेपालका कम्युनिष्ट नेताहरुसँग प्रश्नोत्तर गरेका छन् । नेकपा एमाले,एनेकपा माओवादी,नेकपा माओवादी,नेपाल मजदूर किसान पार्टी,नेकपा माले,राजमोका नेताहरु बाहेक स्वतन्त्र वामपन्थीहरु,नेपालको  पहिलो कम्युनिष्ट शिक्षामन्त्री ,स्वतन्त्र लेखक समेत उनका उत्तरदाता रहेछन् ।  यादवले शोधपत्रलाई पुस्तकमा रुपमा उतारेका हुन् । यतिबेला उनी समावेशी शिक्षामा केन्द्रीत भएर विद्यावारिधिको तयारीमा छन् । सानै उमेरमा त्रिवि सेवामा प्रवेश गरेका उनले शिक्षाशास्त्र केन्द्रीय विभाग,कीर्तिपुरमा प्राध्यापन गर्छन् । शैक्षिक लगायत सबै क्षेत्रमा आशा र भरोसा गरिएका पात्र हुन् उनी । 
जनवादी शिक्षाका पक्षपातीहरु भन्छन्–यो शिक्षा विज्ञानमा आधारित हुन्छ । विज्ञानले प्रमाणित गरेको तथ्यलाई सत्य ठान्छ । अदृश्य,अलौकिक र अन्धविश्वासलाई नकार्छ । जनवादी शिक्षाको मर्म भनेको शिक्षामा व्यापारीकरणको अन्त्य गर्नु हो । एउटै स्तरको शिक्षाको ग्यारेन्टी गर्नु हो । जनवादी शिक्षा आमजनता,गरिव किसान,मजदूर आदिको हित, आवश्यकता, क्षमता । ज्ञानमा आधारित हुन्छ । 

नेपाली कम्युनिष्टहरुले जनवादी शिक्षाका बारेमा जति दुहाइ दिएपनि,जति रगटेपनि परिणाम शून्य छ । शब्दमा र अर्थमा जनवादी शिक्षा रहेपनि विद्यालय, कलेज र विश्वविद्यालयमा यो शिक्षा भेटिदैन । माओवादीहरुले द्वन्द्वकालमा जनवादी शिक्षाका बारेमा ठूलाठूला चामत्कारिक गफ दिएपनि आज उनीहरुले सञ्चालन गरेका जनवादी शिक्षालयहरु कि बन्द छन् कि बोर्डिङ्गमा परिणत भएका छन् वा जनवादी शिक्षाका सञ्चालकहरु नीजि विद्यालय चलाउन बाध्य छन् ।  उनीहरुले सुरु गरेका जनवादी विद्यालयमा तयार पारिएका पाठ्यपुस्तकमा क भनेको कमरेड,ख भनेको खतरा र ग भनेको गद्दार भन्ने सुनिएको थियो तर आज कमरेडहरु जोबाट खतरामा थिए उनीहरुसँग घाँटी जोडिरहेका छन् । जसलाई गद्दार भन्थे उनीहरुसँग गला मिलाई रहेका छन् । सायद, नेपालमा जनवादी शिक्षा मृग मरिची हुने पो हो कि ! धेरैका मनमा नैराश्यताको बादल फाट्न सकेको छैन । 

नेपालको कम्युनिष्ट आन्दोलन, टुटफूट र जूटमा अल्मली रह्यो । जनवादी शिक्षाका बारेमा सोच्न भ्याएन । एकले अर्का नेतालाई,पार्टीलाई हिलो छ्याप्दैमा ठिक्क भो । विकास निर्माण र शिक्षाका बारेमा विमर्श गर्ने समय नै रहेन । सरकारको किचलोमा अड्कि रह्यो । सत्ता टिकाउने र भत्काउने खेलमा नेपालका कम्युनिष्टहरु तल्लीन रहे । नेपालमा ६४ प्रतिशतसम्म कम्युनिष्टका मत आउँदा समेत जनवादी शिक्षाको जसम्म उच्चारण हुन सकेन । कार्यान्वयन त एकादेशको कथा सावित भयो । 

तैपनि नेपालमा वामपन्थीहरुको एकता,कम्युनिष्टहरुको कर्तव्यनिष्ट चरित्र र शिक्षालाई बहुप्राविधिक र बहुप्रयोगी बनाउने सोचका साथ गरीखाने जनवादी शिक्षामा जोड दिने अक्कल आएछ भने यादव आचार्यको पुस्तक कोसे ढुंगो बन्ने छ ।  छोटो वाक्य । मिठासपूर्ण लेखाइ । तार्किक विचारहरुको सम्मिलन हो उनको पुस्तक । साहित्यकार एवम् शिक्षाप्रेमी डाक्टर मोदनाथ प्रश्रित र प्रा.डा. विद्यानाथ कोइरालाको सारगर्वित भूमिकाले पुस्तक थप वजनदार बनेको छ । पुस्तकमा देखिएका वर्णविन्यासका केही कमजोरीलाई थप व्यवस्थित गर्न सकिएको भए सुनमा सुगन्ध थपिन्थ्यो । 


 

दलबहादुर गुरुङ
लेखकको बारेमा
दलबहादुर गुरुङ
स्तम्भकार