काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्रलाई फर्काउने सपना देखेर अराजक र असहिष्णु प्रवृत्ति बोक्नेहरु लागेकाले तिनका विरुद्ध सचेत खबरदारी गर्न मजदुर वर्गलाई आग्रह गरेका छन ।
एक सय ३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ ९जिफन्ट० द्वारा आज आयोजित कार्यक्रममा नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक परिवर्तन र सचेतनाका लागि योगदान दिने मजदुर वर्गलाई एकताबद्ध भएर सही र महान् उद्देश्यप्राप्तिमा गतिशील हुन आग्रह गरे ।
फालिएको राजतन्त्र पक्षधरहरुको अराजकता गत चैत १५ को तीनकुने(हिंसात्मक र दानवीय घटनामा स्पष्ट देखिएको बताउँदै उनले भने ‘उनीहरुको प्रशंसा नगर्ने कलाकारको फिल्म नहेर्ने जस्ता असहिष्णु व्यवहार गर्ने राजतन्त्रवादीहरुले फेरि फर्कने कुचेष्टा गरिरहेका छन् । शान्ति कायम गर्न उभिएका प्रहरीमाथि गाडी लिएर किच्न जान्छन् भने त्यस्ताहरुको हातमा शासन सत्ता पुगेमा के गर्लान् भन्ने प्रश्न उब्जिएको छ । उनीहरुले हाम्रो सभ्यता र संस्कृतिमा चुनौती दिएका छन् । हामीले त्यस्तालाई जवाफ दिन सक्नुपर्छ । यसमा श्रमजीवी विगतमा झैँ वर्ग सचेत हुनुपर्छ,’, प्रधानमन्त्री ओलीले भने ।
उनले अगाडि भने, ‘हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर सुनौलो भविष्य बोकेर हिँडेका छौँ । हामीले रगत पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा हामीले गर्छौं । हाम्रो झण्डा ख्याल ख्यालमा रातो भएको होइन, मजदुरहरुले शान्तिपूर्ण र न्यायपूर्ण समाजका लागि लाग्दा गोली खाएर ढल्दाखेरि सेतो झण्डामा रगत लतपतिएकाले रातो भएको हो ।बलिदानबाट निस्किएका झण्डाहरु राता हुन्छन् । हाम्रो देशको झण्डामा पनि रातो रंग रहेको छ । हामी संघर्षको गाथा झल्काउने झण्डा छोड्ने छैनौँ ।’’
कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, नेपाल उद्योग वणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतले श्रमिक दिवसका अवसरमा सम्बोधन गरेका थिए ।
प्रतिक्रिया