ताजा अपडेट »

लुम्बिनीको पर्यटन उकास्न साइकल यात्रा

आइतबार, ११ असोज २०७७, १७ : ५०
4 Shares

भैरहवा । कोभिड-१९ महामारीले बढी प्रभावित हुने मध्य पर्यटन क्षेत्र हो । महामारीले यो अवधि पर्यटनका लागि संकटकाल रहेको पर्यटनविदहरुले बताउने गरेका छन् । अबको अवस्थामा पर्यटनलाई उकास्न सरकारी प्रयास मात्र प्रयाप्त नहुने जिकिर गर्दै पर्यटन व्यवसायीहरुले यसको सफलताको लागि नागरिकबाट पनि उत्तिकै पहल हुनु पर्ने आवश्यकता औल्याएका छन् ।

पर्यटनलाई बढावा दिन सरकारले योजना निर्माण गरी प्रचार प्रसारमा जोड दिनु पर्ने यस क्षेत्रका व्यवसायीहरुले बताउने गरेका छन् । खस्किएको पर्यटनलाई उकास्न विकल्पको रुपमा साइकल यात्रा हुन सक्ने पर्यटन व्यवसायीले औल्याएका छन् । विश्व पर्यटन दिवसको अवसरमा साइकल सिटि भैरहवाले आयोजना गरेको साइकल यात्रामा सहभागीहरुले पर्यटन प्रवद्र्धनको विकल्पको रुपमा साइकल यात्रालाई लिन आग्रह गरेका छन् ।

भैरहवा देखी लुम्बिनीसम्मको यात्रा तय गर्दै उनिहरुले निर्माणाधिन भैरहवा–लुम्बिनी सडकमा साइकलका लागि अलग लेनको निर्माण गर्न भद्र दबाब दिएका हुन् । भैरहवा र बुटवल क्षेत्रका गरि ७० जना बढी सहभागी रहेको यात्राको आयोजना गरी भ्रमणको निम्ति लुम्बिनी आउने बाह्य पर्यटकलाई साइकल एक उपयुक्त माध्यम हुन सक्ने सम्भावनाका बारेमा सन्देश दिइएको हो ।
लुम्बिनी केन्द्रित अधिकांश पर्यटन व्यवसायीको गुनासो लुम्बिनीमा पर्यटकको बसाई लम्ब्याउन नसक्नु रहेको छ ।

विशेष गरि भारतहुँदै आएका पर्यटकहरु सम्भवतः सोही दिन भारत फर्किदा यसले लुम्बिनीको पर्यटन विकास अपेक्षाकृत हुन सकेको छैन । यसकारण भैरहवा स्थित गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल वा बेलहियाबाट आउने पर्यटकलाई साईकलबाट लुम्बिनी ल्याउन सकिए उनिहरुको बसाई लम्ब्याउन सक्नेमा लुम्बिनी विकास कोष पनि आशावादी देखिएको छ । यसको लागी विकास कोषले गृहकार्य समेत सुरु गरि सकेको छ ।

लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मेत्तेय) ले अहिले वृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजनाको सर्वे र अध्ययनको काम भइरहेकोले यसमा पनि साइकल सडकको परिकल्पना गरिएको जानकारी दिए । उनले लुम्बिनी, कपिलवस्तु, सैनामैना, देवदह र रामग्राम हुँदै पुनः लुम्बिनी जोड्ने करिब १ सय १० किलोमिटर बाटोमा साइकल सडकको निर्माणको लागि सुझाव दिइएको जानकारी दिए ।

साइकल सिटी भैरहवाका अध्यक्ष सुर्य सारु मगरले अहिले भैरहवा देखी लुम्बिनीको बाटो निर्माणकै क्रममा रहेकोले यो बाटोमा अनिवार्य रुपमा साइकल लेन छुट्टै बनाउन माग गरेका छन् । उनले साइकल लेन बनाउन दबाब दिने उद्देश्यले पनि साइकल यात्राको आयोजना गरिएको बताए । यस अतिरिक्त साइकल यात्राको उद्देश्य आन्तरिक पर्यटनलाई बढावा दिने रहेको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।