ताजा अपडेट »

झापाका मिटरब्याजीका आरोपी ओली पक्राउ

बुधबार, ३० फागुन २०८०, २० : ३३
36 Shares

झापा । झापाको बिर्तामोडबाट प्रहरीले अनुचित लेनदेन (मिटरब्याजी) का आरोपीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले बिर्तामोड – ७ गरामनी निवासी दीर्घ भनिने पृथ्वी ओलीलाई पक्राउ गरेको हो ।

मिटरब्याज पीडितहरुले जिल्ला प्रशासन कार्यालय झापामा उजुरी गरेसंगै प्रहरीले पहिलो पटक अनुचित लेनदेनका आरोपी ओलीलाई पक्राउ गरेको हो । पक्राउ गरिएका ओलीलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको प्रहरी श्रोतले जनाएको छ ।

विप्लब नेतृत्वको (नेकपा) ले समेत यस अघि अनुचित लेनदेन (मिटरव्याजी) ओलीसंग ब्यवहार मिलाउन पटक– पटक तागेता गर्दै आएको थियो । तर, ओलीले अटेर गरी सर्बसाधारणलाई दुःख दिँदै आएको नेकपाका मेची ब्यूरो इञ्चार्ज सुमनसिंह ‘सी’ले बताए ।

अनुचित लेनदेनमा सम्लग्न आरोपी ओलीलाई पक्राउ गरेको प्रति नेकपाले प्रहरीलाई धन्यवाद दिएको छ । एक विज्ञप्ति जारी गर्दै पार्टीका मेची व्यूरो इञ्चार्ज सुमन सिले प्रहरीलाई धन्यवाद दिएका हुन् ।

झापामा झण्डै एकसयको हाराहारीमा मिटरब्याज पीडितका उजुरी जिल्ला प्रशासन कार्यालय झापामा उजुरी परेको बताइएको छ । यस अघि नेकपाले बिर्तामोड ५ स्थित नवराज बिमलीको घर कब्जा गर्दै झण्डा गाडेको थियो ।

सर्बसाधारणको सम्पत्ति फिर्ता गर्न मिटरब्याजीलाई आग्रह गर्दै विमलीको घर कब्जा गरिएको घोषणा गरेको थियो ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।