ताजा अपडेट »

कुरा धेरै सुनियो अब काम गर्नुछ : मन्त्री अधिकारी

शनिबार, १५ बैशाख २०८१, ०९ : ५४
304 Shares

उषा किरण पन्थ
‘फाईलहरु मेरो टेवलमा ल्याउनुस् म हेर्छु । कुरा धेरै सुनियो अब काम गर्नु छ ।’–यो भनाई हो लुम्बिनी प्रदेशका नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगवती अधिकारीको । निधारमा अविर र गलामा खादा मालासहित आफ्नो पद बहाली लिँदैगर्दा उनले बोलेका यी बाणीले साँच्चीकै काम गर्ने हुटहुटी लिएर मन्त्रालय प्रवेश गरेको आभाष गर्न सकिन्थ्यो ।

त्यसो त प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन २०७९ मा लुम्बिनी प्रदेशबाट नेकपा एकिकृत समाजवादीको समानुपातिकतर्फबाट एकल सांसद बन्न सफल भएकी अधिकारीलाई २०८० बैशाख ६ गते मुख्यमन्त्री जोगबहादुर महराले प्रदेश प्रमुख सामू विना विभागीय मन्त्रीका रुपमा सिफारिस गरेका थिए । २०८१ बैशाख १२ गते महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी प्राप्तपछि आफ्नो जिम्मेवारी समाल्ने क्रममा अधिकारीले महिला, बालबालिका तथा जेष्ठ नागरिका विषयमा धेरै काम गर्न बाँकी रहेको र त्यो काम गर्ने तिब्र ईच्छा आफूमा रहेको बताईन । आफू लुम्बिनी प्रदेशको सम्रग सामाजिक, आर्थिक, राजनैतिक र साँस्कृतिक विकास गर्ने गरी नम्बर एक प्रदेशका रुपमा लुम्बिनी प्रदेशलाई स्थापित गर्नका लागि पहिलो पाईला चालेको उनको दाबी छ ।

लुम्बिनी प्रदेशमा महिला बालबालिका र ज्येष्ठ नागरिकका क्षेत्रमा काम गर्न निकै कठिन छ । दैनिक रुपमा घटिरहेका हत्या, हिंसा, आत्महत्या जस्ता कुरितिले पनि चोखो छैन लुम्बिनी प्रदेश । यसरी हेर्दा अवका दिनमा एक्सन प्लानका साथ सामाजिक चेतना, आर्थिक सशक्तिकरण, राजनैतिक सशक्तिकरणसँगै साँस्कृतिक क्षेत्रमा अब्बल रुपमा काम गर्नु पर्ने छ । ५ दल र १ स्वतन्त्र सदस्यको समर्थन लिएको मुख्यमन्त्री जोखबहादुर महरा नेतृत्वको सरकारले भाग पुर्याउन १० मन्त्रालयबाट १२ मन्त्रालय बनाएको छ । १२ मन्त्रालयको बाँडफाटमा ठूलै भाग लिएका दलहरुले भने महिला सहभागिता गराउन सकेनन् । अधिकारीले मन्त्री पद पाउनु पनि ‘पार्टीबाट एकल सांसद भएर मात्रै हो’ भन्ने धेरै महिला अधिकार कर्मीहरुको भनाई छ ।

यस्तो छ मन्त्री अधिकारीको राजनीतिक यात्रा ?

बुवा तुल्सीप्रसाद र आमा पवित्रा अधिकारीको कोखबाट २०२० साल कार्तिक ११ गते पाल्पाको मदन पोखरामा जन्मेकी भगवती अधिकारी १६ वर्षकै उमेरमा २०३६ सालमा शुरु भएको विद्यार्थी आन्दोलनमा होमिइन । बामपंथीको गड मानिने मदनपोखरामा उनी पनि आफना दाजुहरुको साथमा लागेर प्रगतिशिल विद्यार्थी आन्दोलन र जनमत संग्रहमा बहुदलको पक्षमा रहेर निरन्तर लागि रहिन । मदनपोखराबाट पटक–पटक तानसेन पाल्पासम्म आउने, दैनिकी तत्कालिन पञ्चायती मण्डलेहरुलाई हातहातमा लौरा, भाटा लिएर लघार्दै मदनपोखराबाट डाँडातर्फ लखट्ने लगायतका घटना उनको स्मरणमा छ । तत्कालिन स्थानीय पञ्चायती शासकहरुलाई नयाँपाटीदेखि जरेपिपलसम्म कालोमोसो दली जुत्ताको माला लगाएर घुमाउने यिनको दैनिकी बनेको थियो । सोहि सिलसिलामा आफ्नो शक्ति कमजोर हुँदै गएपछि भने अधिकारीलाई वारेण्ट जारी हुन थाल्यो । उनि लुक्दै हिँडीरहिन ।


यसरी विद्यार्थी जीवनमै आफ्नो अब्बल कर्ममा खटेकी अधिकारी २०३८ सालमा विवाह गरि रुपन्देहीको पश्चिम अमुवाको मदनगंजमा बस्न थालिन । उक्त समयमा तत्कालिन नेकपा मालेको राजनीतिमा आबद्ध भइन् । तत्कालिन नेकपा मालेले पंचायति व्यवस्थालाई हरक्षेत्रमा कमजोर बनाउनु पर्छ भन्दै स्थानीय पंचायतदेखि राष्ट्रिय पंचायतसम्म जनपक्षीय उमेदवारको रुपमा पार्टीका प्रतिनिधि पठाउने रणनीति बनायो । अधिकारीलाई २०४२ सालमा सोही रणनीति अनुसार उनी पनि प्रतिनिधिका लागि गइन् । पार्टीको रणनीति बमोजिम् राष्ट्रिय पंचायतमा पद्यमरत्न तुलाधर, सोमनाथ प्यासी, बिरोध खतिवडा आदीले निर्वाचनमा भाग लिएर बिजय प्राप्त गरेका थिए ।

सोही नीति बमोजिम अधिकारीलाई पनि पार्टीले पश्चिम अमुवामा गाउं पंचायतको नेकपा मालेको प्रतिनिधिको रुपमा महिला सभापतिको उम्मेदवार उठायो । हरेक धाक धम्की दवाव र भिडन्तका बीच उक्त निर्वाचनमा उनले बिजय हासिल गर्न सफल भईन । त्यो उनको पहिलो जनप्रतिनिधिको अनुभव थियो । त्यो समय पंचायती काल भए पनि कुनै किसिमको सेवा सुबिधा हुदैन्थ्यो । तर पनि उनि महिला सभापति भएर पंचायतलाई कमजोर बनाउने, जनतालाई सहयोग गर्ने र पार्टीलाई मजबुत बनाउने कार्यमा कृयाशिल रहिरहिन ।

बि.सं. २०४६ साल फागुन ७ बाट शुरु भएको ५० दिने आन्दोलनमा अधिकारी रात दिन नभनी लागिरहिन । २०४४ सालदेखि साबिक शंकरनगरमा बस्दै आएकी अधिकारी शंकरनगरमा रहँदा नेकपा मालेमा आबद्ध भइन् । भूमिगत शैलीमा भने काम गरिनन् । शंकरनगरमा आएपछि उनि अखिल नेपाल महिला संघको गाउं कमिटी, क्षेत्रीय कमिटी हुँदै जिल्ला कमिटी र लामो समयसम्म जिल्ला कमिटीको सचिब भएर काम गरिन । आन्दोलनको दौरानमा उनि अनेमसंघको अञ्चल कमिटी सदस्यसम्म भईन । कामको शिलसिलामा महिलाहरुको हक अधिकार, महिला मुक्ति र महिलामाथि हुने बिभिन्न दमन उत्पिडन, अन्याय, अत्याचार बिरुद्ध रुपन्देही जिल्लाका बुटवल, खैरेनी, भैरहवा, सालझण्डी, छपिया दयानगर, लुम्बिनि, मर्चवार लगायत बिभिन्न ठाउँमा महिलाहरुलाई संगठित गर्ने र अत्याचारमा परेका महिलालाई न्याय दिलाउने काममा लागिन ।
२०३५ सालमा स्थापना भएको नेकपा (माले) र मनमोहनको नेतृत्वमा रहेको नेकपा (माकर््सबादी) बीच २०४७ सालमा पार्टी एकिकरण भयो र नेपाल कम्युनिष्ट पाटी (एकिकृत मार्कसबादी लेनिनबादी ) अर्थात नेकपा (एमाले) स्थापना भयो । नेकपा (एमाले)को स्थापनासँगै उनले कम्युनिष्ट पार्टीको संगठित सदस्यता भूमिगत कालदेखि नै नेकपा मालेमा रहेर गरिन । उनले पार्टीको संगठितसदस्यता भने २०४६ सालमा मात्रप्राप्त गरेकी थिईन । त्यसपछि पनि निरन्तर पार्टिको वार्ड कमिटी, गाउं कमिटी, ईलाका कमिटी हुँदै जिल्ला कमिटी, अञ्चल कमिटी र प्रदेश कमिटीसम्म कार्य सम्पादन गर्दै गइन । २०५४ सालमा सि.पि. मैनाली र बामदेवको नेतृत्वमा नेकपा एमाले बिभाजन भई नेकपा माले भयो । उनी भने नेकपा एमालेमा रहेर काम गरिन । बिभाजन पश्चात अधिकारी २०५४ सालमा नेकपा एमाले रुपन्देही जिल्ला कमिटी सदस्यको रुपमा मनोनित भईन ।

२०४६ सालदेखि २०७७ सालसम्म नेकपा एमालेको गाउँ कमिटीदेखि ईलाका कमिटी, जिल्ला कमिटी, अञ्चल कमिटी प्रदेश कमिटी हुँदै उनले २० वर्ष नेकपा एमाले रुपन्देही जिल्ला कमिटीको सचिवालय सदस्यको जिम्मेवारीमा रहिन् । उनले २०४९ साल र २०५४ साल गरी दुबै पटक शंकरनगर गाबिसमा महिला वार्ड अध्यक्षको जिम्मेवारी निभाई सकेकी छन् ।

तत्कालिन राजा ज्ञानेन्द्रले बहुदलीय ब्यवस्था अपदस्त गरी पुनः निरंकुश ब्यवस्था ल्याउने प्रयास गरेपछि २०६२ साल चैत्र २४ गतेबाट नेपालमा दोश्रो ठूलो जनआन्दोलन शुरु भयो । १९ दिनसम्म सो आन्दोलनमा अधिकारी अग्रमोर्चामा रहेर जिम्मेवारी सम्हालेकी थिईन । फलस्वरुप आन्दोलनले २०६३ साल बैशाख ११ गते संसद पुनःस्थापना गर्दै २३७ वर्ष पुरानो जहानीया राजतन्त्र ढालेर देशमा लोकतान्त्रिक गणतन्त्रको जग बसाल्यो । हरेक निर्वाचनमा आफ्नो पार्टीका उमेदवारलाई जिताउन अधिकारी रात दिन खटेर लागिरहने कार्यकर्तामा पर्ने गर्दथिइन । उनी हरेक निर्वाचनमा निर्वाचन परिचालन कमिटीमा रहेर सम्पूर्ण युवाहरुलाई परिचालित गर्दै अग्रमोर्चामा रहन्थिन । उनि प्राय कार्यकर्ता र समर्थक सबैकी भगवती दिदी भइन । तर विस्तारै पार्टीमा जति योगदान दिए पनि कुनै गुट विशेशमा संलग्न नभएकै कारणले उनले आफ्नो योगदानको कुनै कदर नभएको महशुस गर्न थालेकी थिईन ।

२०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा साबिकको नेकपा एमाले र नेकपा माओबादी मिलेर निर्वाचन लडे । उक्त निर्वाचनमा झण्डै दुई तिहाई बहुमत प्राप्त भयो । पछि दुबै पार्टीको एकिकरण गरी नेपाल कम्युनिष्ट पार्टी गठन भयो । नेकपाको तर्फबाट केपी शर्मा वलीको नेतृत्वमा शक्तिशाली बाम सरकार निर्माण भयो । उता उपेन्द्र यादबले नेतृत्व गरेको नेपाल समाजबादी पार्टी पनि सरकारमा सामेल भयो अनी त नेपालमा बामपंथीहरुको दुई तिहाईको शक्तिशाली सरकार बन्यो । तत्कालिन प्रधानमंत्री एवं प्रथम पार्टी अध्यक्षमा रहेका केपी वलिले पहिलो पटक २०७७ साल पौष ५ गते संसद बिघटन गराए । असंवैधानिक तरिकाले संसद बिघटन गरिएको भन्दै अधिकारी पार्टी नेतृत्व विरुद्धको आन्दोलनमा सहभागी भईन । सर्बोच्च अदालतको मिति २०७७ फाल्गुण १२ को निर्णयले संसद पुनःस्थापना गरे संगै दोश्रो पटक पुनः २०७८ साल जेष्ठ ८ गते मध्यरातमा वलीले संसद बिघिटनको घोषणा गरेपछि फेरि आन्दोलन चर्कियो ।

केपी वलिले आफ्ना निकटलाई लिएर महाधिवेशनबाट निर्वाचित ३०० जनाको केन्द्रीय कमिटीमा संबिधानका पक्षधरहरुलाई निश्कासन गरी गैर कानुनी तरिकाले १५०० जनाको केन्द्रिय कमिटी गठन गरेको भन्दै उनले बिरोध जनाइन् । सो कमिटी केन्द्रिय कमिटीको सदस्यमा रहन अधिकारीलाई पनि प्रस्ताव आयो तर अधिकारी गैर कानुनी र गैर संवैधानिक तरिकाले बनाएको केन्द्रीय कमिटीमा बस्न नसक्ने भन्दै भाग लिईनन् । केही समयपछि सर्बाेच्च अदालतले उक्त केन्द्रीय कमिटी खारेज गरिदियो । तत्पश्चात २०७८ भदौ २ गते निर्माण भएको नेकपा (एकिकृत समाजबादी)मा आबद्ध हुन पुगिन । सोही पार्टीबाट उनी समानुपातिक सांसद बन्न सफल भएकी हुन् । नेपाल भर समानुपातिक तर्फ १ करोड ४० लाख ५ हजार ८ सय ६२ मत मध्ये नेकपा एकिकृत्त समाजवादी पार्टीले जम्मा २ लाख ९४ हजार ४ सय ११ मत प्राप्त गरेको थियो । समाजवादीले लुम्बिनी प्रदेशमा ४२ हजार ६ सय २१ मत पाएको थियो ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।