ताजा अपडेट »

श्रमिक महिलाहरुको अधिकार सुनिश्चित गर्न संविधान कार्यान्वयनमा जोड

विहीबार, २४ फागुन २०८०, १८ : २४
106 Shares

बुटवल । श्रमिक महिलाहरुको अधिकार सुनिश्चित गर्नका लागि नीतिगत सुधार भएपनि व्यवहारिक रुपमा लागू नहुँदा उनीहरुको अवस्था सुधार हुन नसकेको सरोकारवालाहरुले औल्याएका छन् । ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा गैर सरकारी संस्था महासंघ रुपन्देहीले विहिबार बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले श्रमिक महिलाको पक्षमा आवाज उठाउन जोड दिएका हुन् ।

महिला तथा बाल अधिकार जिल्ला सञ्जाल रुपन्देहीसँगको समन्वयमा आयोजित अन्तरक्रियामा बोल्दै लुम्बिनी प्रदेशसभा सांसद तथा महिला नेतृ जमुना ढकालले संविधानमा महिलाको अधिकार सुनिश्चित गर्नका लागि विगतमा भएका आन्दोलन जस्तै अब कार्यान्वयनका लागि दबाब सिर्जना गर्न आवश्यक रहेको उल्लेख गरिन् । संविधान तथा नीतिगत तहहरुमा धेरै कुराको सुधार भए पनि ती कुराहरुलाई कार्यान्वयनमा ल्याउँनुपर्नेमा उनले जोड दिइन् । यसैगरी लुम्बिनी प्रदेशकी पूर्व सांसद तथा महिला नेतृ रमा अर्यालले महिला राज्यका हरेक तहमा महिलाको समान पहुँच र प्रतिनिधित्वका लागि राजनीतिक दलहरुलाई समेत दबाब दिनुपर्नेमा जोड दिइन् । यसैगरी बुटवल उपमहानगरकी पूर्व उपप्रमुख गुमादेवी आचार्यले पिछडीएका महिला तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिक महिलाहरुको सवालमा थप आन्दोलन र सुधारको आवश्यकता औल्याइन् ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गैसस महासंघ रुपन्देहीकी पूर्व अध्यक्ष रिमा बिसीले कार्यपत्र प्रस्तुत गर्दै संविधा र ऐन कार्यान्वयनमा जोड दिइन् । पितृसतात्मक सोच बदल्नु पर्ने, समान ज्यालाको सुनिश्चितता तथा राजनीतिको निर्णायक तहमा महिलाहरुलाई पुर्याउनु पर्नेमा उनको जोड थियो । महिलाको विषयमा आवाज उठ्नुका साथै स्वतन्त्रताका बारेमा बहस सुरु भएपनि श्रमिक महिलाहरुको पक्षमा खासै परिवर्तन नदेखिएको उनले टिप्पणी गरिन् । श्रमिक महिलाहरुको विश्व आन्दोलनका श्रृङ्खला, नेपालमा भएको आन्दोलनका चरण लगायतका बारेमा चर्चा गर्दै बिसीले अब गर्नुपर्ने काम र आन्दोलनको स्वरुप बारे कार्यपत्रमा उल्लेख गरेकी थिइन् ।  


हरेक वर्ष ८ मार्चको दिन मनाउँदै आइएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सन्दर्भमा कार्यक्रम गरिएको थियो । ‘महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने मूल नारासहित यस वर्षको दिवस मनाउन थालिएको गैसस महासंघ रुपन्देहीका अध्यक्ष धर्मराज घिमिरेले जानकारी दिए । श्रममा महिलाहरुको अवस्था र चुनौती विषयक अन्तरक्रिया कार्यक्रममा गैसस महासंघ रुपन्देही उपाध्यक्ष समिता मल्लको स्वागत तथा सचिव सावित्र घिमिरेले सञ्चालन गरेकी थिइन् । कार्यक्रममा विभिन्न गैरसरकारी संस्थाहरुको प्रतिनिधित्व गर्ने अधिकारकर्मीहरु बीच श्रमिक महिलाहरुको बारेमा अन्तरक्रिया भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।