ताजा अपडेट »

भारतीय दुई ब्रान्डका ४ मसला नेपालमा आयात र बिक्रीमा रोक

शनिबार, ०५ जेठ २०८१, २० : ०७
238 Shares
शनिबार, ०५ जेठ २०८१
238 Shares

काठमाडौँ । भारतिय चर्चित दुई मसला कम्पनी एमडीएच र एभरेष्टका मसलामा हानिकारक ‘एथलिन अक्साइड’ रहेको भन्दै नेपालमा आयातमा रोक लगाईएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतको एमडीएच र एभरेष्ट ब्राण्डको मसलाको आयात, बिक्री बितरण तथा उपभोगमा प्रतिवन्ध लगाएको हो ।

हङकङको खाद्य सुरक्षा केन्द्र(सीएफएस) र सिंगापुर फुड एजेन्सीले रोक लगाएको र विभिन्न सञ्चारमाध्यममा आएको समाचारका आधारमा तत्काललाई यी चार प्रकारका मसलामा विभागले रोक लगाएको जनाएको छ । विभागले एमडीएचको मद्रास करी पाउडर, साम्बर मसला मिक्स्ड मसला पाउडर, करी पाउडर, मिक्स्ड मसला र एभरेस्ट ब्रान्डको फिस करी मसलाको आयात र बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको हो । 

एमडीएचका उक्त मसला १०० ग्राम र एभरेस्टको ५० ग्रामको प्याकिङ छ । विभागले यी मसलाको आयात अनुमति तत्काल स्थगित गर्ने र आयात विन्दुमा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयहरूलाई सूचित गर्ने निर्णय गरेको छ । ‘सम्बन्धित कार्यालयमा केही भारतका ब्रान्डका मसलाको आयातमा रोक लगाइएको पत्राचार गरिएको छ,’ पछिल्लो निर्णयबारे जानकारी दिँदै विभागकी महानिर्देशक मनिता  जोशी वैद्यले बताईन ।

Ethylene-oxide_Notice (1)

विभागले उल्लेखित ब्रान्डका उत्पादन बजारमा रहेको भए फिर्ता गर्न पनि आयातकर्तालाई निर्देशन दिइसकेको छ । साथै राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशालालाई ‘एथलिन अक्साइड’ परीक्षणलाई उच्च प्राथमिकतामा राख्न समेत भनेको छ । ‘एथलिन अक्साइड’ मानिसमा क्यान्सर गराउन सक्ने रासायनिक पदार्थ हो । यसलाई इन्टरनेसनल एजेन्सी फर रिसर्च अन क्यान्सर (आईएआरसी) ले कार्सिनोजेनिक रसायनको समूह–१ मा राखेको छ । यसले स्तन क्यान्सरलगायत विभिन्न क्यान्सर हुन सक्ने आईएआरसीको भनाइ छ ।

सिंगापुर र हङकङले भारतीय मसलाको आयातमा रोक लगाएपछि यसको गुणस्तर र खाद्य सुरक्षामा विश्वका विभिन्न मुलुकले प्रश्न उठाएका छन । मसला उत्पादन र निर्यातका हिसाबले भारत विश्वकै अग्रणी मुलुकमध्ये एक हो । बीबीसीका अनुसार भारतले झन्डै ४ बिलियन डलरबराबरको मसला बर्सेनि निर्यात गर्छ, जुन विश्व मसला निर्यातको १२ प्रतिशत हो ।

नेपालले समेत भारतबाट ठूलो परिमाणमा मसला आयात गर्छ । यो आर्थिक वर्षको ९ महिनामा मात्र नेपालले भारतबाट झन्डै ८ अर्ब रुपैयाँ बराबरको विभिन्न मसला आयात गरेको छ । नेपालले प्रत्येक वर्ष भारतबाट खुर्सानी र मरिचमात्र झन्डै २ अर्ब रुपैयाँबराबरको आयात गर्दै आएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) ले समेत भारतीय एमडीएच र एभरेस्ट मसलाका बारेमा अध्ययन गरिरहेको जनाएको छ । ‘

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।