ताजा अपडेट »

बुटवलमा रहेको मुलुककै पहिलो ढुवानी ग्राम पुग्ने सडकमा स्थानीयको अवरोध

आइतबार, २३ बैशाख २०८१, १३ : ४९
578 Shares

बुटवल । सार्वजनिक–निजी क्षेत्रको साझेदारीमा बुटवलमा सञ्चालन भैरहेको नेपालकै पहिलो र नमूना ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेका छन् । बुटवल उपमहानगरपालिका–१२ ढवाहामा रहेको ट्रान्सपोर्ट भिलेज अर्थात् ढुवानीग्राम जाने सडकमा स्थानीयले अबरोध गरेपछि व्यवसायीहरु अन्यौलमा परेका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत नयाँगाउँदेखि करिब ३ दशमलव ६ किलोमिटर दक्षिणतर्फ रहेको ढुवाग्राममा पुग्ने सडक किनारका बासिन्दाहरुले ढुवानीका गाडी गुड्न रोक लगाएका हुन् । ढुवानीका गाडीहरुले चर्को आवाज निकाल्ने, स्थानीयलाई ध्वनी प्रदुषण तथा वायु प्रदुषण हुने, कुनै पनि बेला अकल्पनीय सडक दुर्घटना हुन सक्ने लगायतका कारण देखाउँदै स्थानीयले ‘संगमपथ सुधार समिति’ गठन गरेर आवागमन ठप्प पारेपछि ढुवानीग्राम बन्द हुने स्थितीमा पुगेको छ ।

संगमपथ सुधार समितिका संयोजक डम्मरदेव अर्यालले कुनै पनि हालतमा ढुवानीग्रामसम्म पुग्नका लागि आफ्नो टोलको सडक प्रयोग गर्न नदिने उल्लेख गरे । बुटवल उपमहानगरले आफ्नो प्रतिवद्धता अनुसार काम नगरेको, ढुवानी ग्रामका लागि वैकल्पिक सडकको व्यवस्था नगरेको लगायतका कारण देखाउँदै आर्यालले आफूहरुले सडक प्रयोग गर्न नदिने अडान लिए । टोस सुधार समितिले सडकमा चेतावनी पूर्ण व्यानरनै टाँसेर अटेर गरे सम्पूर्ण क्षतिको जिम्मेवारी गाडीधनी वा चालकले लिनुपर्ने भन्दै त्रसित पारेपछि व्यवसायीहरु अन्यौलमा परेका छन् । नयाँगाउँ चोकदेखि दक्षिणतर्फ बेलभरिया पुलसम्मको सडक कुनैपनि हालतमा ढुवानीका सवारीका लागि प्रयोग गर्न नदिने स्थानीयको अडानले तत्काल कुनै पनि विकल्प नभएपछि ढुवानीग्राम बन्द हुने स्थितीमा पुगेको हो ।

काठमाडौं, पोखरा लगायत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका शहरहरुमा सामान पुर्याउने स्टेशनको रुपमा रहेको ढुवानीग्राम बन्दहुँदा देशभरको सेवा प्रभावित हुने व्यवसायी कमल घिमिरे बताउँछन् । ढुवानीग्राम बन्द हुँदा निजी क्षेत्र तथा राज्यले समेत ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने उनले बताए । ढुवानीग्राम पुग्ने सडक प्रयोग गर्दा स्थानीयले अबरोध गर्ने, ढुङ्गा मुढा लिएर बस्ने लगायतका क्रियाकलाप हुन थालेपछि आफूहरुले असुरक्षित ठानेर सेवा बन्द गर्नुपरेको घिमिरेले बताए । ढुवानी ग्रामको प्रयोग गरे बापत व्यवसायीहरुले मासिक डेढ लाख बढी राश्व बुटवल उपमहानगरलाई बुझाउँदै आएको उनले बताए । उपमहानगरसँग विकल्पका लागि पटक–पटक छलफल गर्दा पनि निष्कर्श निस्कन नसकेको उनले बताए ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले स्थानीयहरुले भनेका सबै मागहरु तत्काल पूरा गर्न नसकिने स्पष्ट पारे । महुँमार्गका लागि उपमहानगरले लगानी गरेको कुरा स्मरण गराउँदै उनले स्थानीयले यसरीनै अबरोध गरे ढुवानीग्राम बन्द गरेर राख्नु बाहेकको विकल्प नभएको स्पष्ट पारे । ग्रामसम्म पुग्नका लागि अर्को विकल्पको रुपमा रहेको तिनाउ–दानव कोरिडोरसँग पुलले जोड्ने भनिए पनि कोरिडोरनै निर्माण नभएको अवस्थामा तत्काल सम्भव नभएको उल्लेख गरे । समस्या समाधानका लागि व्यवसायी तथा स्थानीय दुबै पक्षसँग छलफलका लागि उपमहानगरले प्रयास गरेको उनले बताए ।

सार्वजनिक–निजी साझेदारीको करिब ३७ करोड लागतमा ढुवानीग्राम निर्माण भएको हो । सार्वजनिक–निजी क्षेत्र साझेदारीको योजनाअनुसार रुपन्देही परिवहन प्रालिसँगको सहकार्यमा बुटवल उपमहानगरले ढुवानीग्रामको कामलाई बहुवर्षीय योजनाको रूपमा अगाडि सारेको थियो । व्यस्त सहरी क्षेत्रमा हेवीलोडका सवारीसाधनलाई छिर्न नपर्ने र ट्राफिक अवस्था व्यवस्थित गर्न अलग्गै ढुवानी ग्राम बनाएको हो ।

सुरक्षाका लागि गार्डरुम, शौचालय, प्राथमिक उपचार कक्ष, सुरक्षा पोष्ट लगायतका संरचनासहितको पूर्वाधार रहेको ढुवानी ग्राममा हाल ४४ जना ढुवानी व्यवसायी रहेका छन् । हेवी लोडका ढुवानीका सवारीलाई अलग्गै ठाउँको व्यवस्था मिलाएर व्यस्त बुटवलको ट्राफिक चापलाई कम गर्ने योजना अनुसार स्थापना गरिएको ढुवानीग्राम पहुच मार्गको विवादले बन्द हुने स्थितीमा पुगेको छ । सार्वजनिक निजी साझेदारी मोडलमा मुलुकमै पहिलो नमूनाको रूपमा रहेको ढुवानीग्राम बुटवलको गौरवको योजना हो । सार्वजनिक–निजी साझेदारीमा यसप्रकारको अलग्गै ढुवानीग्राम मुलुकमा अन्यत्र नरहेको उपमहानगरको दावी छ ।

उपमहानगरले त्यस क्षेत्रमा पुग्न पहुँचमार्ग, ढल तथा नाली निर्माण गरेको छ । थप वाइपास सडक निर्माण गरेर दानव नदी करिडोरमा जोड्ने तयारी भए पनि करिडोरनै नबनेकाले उक्त विकल्प अहिले उपलब्ध छैन ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।