ताजा अपडेट »

तिनाउको शैक्षिक सुधार कार्यक्रम : सतप्रतिशत नतिजा ल्याउने विद्यालयको तह घट्यो, शुन्य नजिता ल्याउने विद्यालयमा मर्ज

मंगलबार, ०१ जेठ २०८१, ०७ : ४८
2.27K Shares
मंगलबार, ०१ जेठ २०८१
2.27K Shares

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका–१ झिगामाराका ११ वर्षीय तिलक फौँजा भर्खर कक्षा ५ उत्तिर्ण गरी कक्षा ६ मा पुगेका छन् । नयाँ शैक्षिक सत्रसँगै अब उनले नयाँ कक्षामा अध्ययन गर्न पाउँदा खुसी छन् । तर, उनका अभिभावक गँगा फौंजालाई चिन्ताले सताउन थालेको छ ।

नयाँ कक्षाका लागि उनका छोराले अब ३ घण्टा लामो पैदलयात्रापछि पुगिने विद्यालयमा जानु पर्ने छ । गाउँमा सडक तथा यातायातको सुविधा नभएका कारण दैनिक विद्यालय आउजाउ गर्न नसक्दा छोराले पढ्न नपाउने चिन्ताले गँगालाई पिरोलेको छ । तिलकले अध्ययन गर्दै आएको स्थानीय सरस्वती आधारभुत विद्यालयमा यसअघि कक्षा ८ सम्म अध्यापन हुँदै आएपनि अब भने स्तर घटेर ५ कक्षासम्म मात्रै अध्यापन हुने भएपछि गँगाजस्तै कक्षा ६ मा पुगेका विद्यार्थीका अभिभावक अहिले चिन्तामा छन् ।

तिनाउ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्ने भन्दै नयाँ कार्यविधि बनाएपछि तिलकले पढ्ने विद्यालयको तह घट्ने भएको हो । अब उनी नयाँ कक्षा अध्ययनका लागि सबैभन्दा नजिक मानिएको ३ घण्टा लामो पैदल हिँडेर युवा वर्ष माविमा जानु पर्ने छ । उनको विद्यालयको स्तर खस्किनुमा त्यहाँको शैक्षिक गुणस्तर नराम्रो भएर भने होइन । उनको विद्यालय सरस्वती आधारभुतबाट तिनाउँ गाउँपालिकाले लिने वार्षिक परीक्षामा कक्षा ८ बाट सतप्रतिशत नतिजा निकाल्न सफल भएको थियो । बरु उनले अब अध्ययन गर्न जानुपर्ने विद्यालय युवा वर्ष माविको नतिजा शुन्य रहेको थियो ।

गाउँपालिका शिक्षा शाखा प्रमुख लक्ष्मी कुंवरका अनुसार सरस्वती आधारभुत विद्यालयबाट परीक्षामा सहभागी भएका ८ जना विद्यार्थी नियमित उत्तिर्ण भएका थिए । यसैगरी युवा वर्ष माविबाट भने २६ जना विद्यार्थी सहभागी भएकोमा पूरै विषयमा उत्तिर्ण हुने विद्यार्थीको सङ्ख्या शुन्य थियो । जसमध्ये २० जना विद्यार्थीले दुई वा सो भन्दा कम विषयका लागि पुनःपरीक्षामा सहभागी भई ग्रेड वृद्धि गरेका छन् भने ६ जनाले ३ वा सो भन्दा बढी विषयमा अनुत्तिर्ण भएका कारण पुरानै कक्षामा दोहोरिने छन् ।

यसरी आफ्नो घर अगाडि रहेको विद्यालयमा शैक्षिक गुणस्तर हुँदाहुँदै पनि नयाँ कार्यविधिको नाममा विद्यालय बन्द गरेर बालबालिकालाई ३ घण्टा पैदल हिँड्नुपर्ने वाध्यता सिर्जना भएपछि यहाँका अभिभावक चिन्तित छन् । गाउँमा कम्तिमा आधारभुत तहसम्मको विद्यालय सञ्चालन गर्नुपर्ने भनेरनै स्थानीयले आफै रकम जम्मा गरी विद्यालय सञ्चालन गर्दै आए पनि गाउँपालिको कार्यविधिले आफूहरुलाई संकुचित गरेको स्थानीय कृष्ण खड्का बताउँछन् । ‘गत वर्ष भन्दा यस वर्ष हाम्रो विद्यार्थी सङ्ख्या बढेको पनि छ । गुणस्तर पनि राम्रो छ । तर, गाउँपालिकाले जबरजस्ती गुणस्तर सुधारका नाममा विद्यालय बन्द गर्नुपर्ने अवस्था सिर्जना गर्नु गलत हो ।’–खड्काले भने । ‘विद्यालय ताढा हुँदा, गाउँमा सडक तथा यातायातको सुविधा छैन । दिनदिनै घरबाट आउजाउ गर्न सम्भव हुँदैन । यसरी बालबालिकालाई गुणस्तरीय शिक्षा दिने नाममा अभिभावकसँग ताढा गराउँदा उनीहरुको बाल मस्तिष्कमा कस्तो असर पर्ला ?’   

तिनाउको नयाँ शैक्षिक कार्यविधि अनुसार ५ वटा धारभुत विद्यालयको स्तर घटेर अब कक्षा ५ सम्म मात्रै सीमित हुने भएका छन् । जस मध्ये तिनाउ–५ मरामकोटमा रहेको भूमिशाला आधारभूत विद्यालय, तिनाउ–६ मा रहेका श्री आधारभूत विद्यालय अर्खले, लक्ष्मी आधारभूत विद्यालय र पाटन आधारभूत विद्यालयको स्तर घट्ने भएका हुन् । गाउँपालिकाले सरस्वती आधारभुतका विद्यार्थीलाई तिनाउ–१ कै युवा वर्ष माविमा लैजाने योजना बनाएको छ भने अन्य विद्यालयका विद्यार्थीलाई तिनाउ-६ मा रहेको मस्याम माविमा लैजाने योजना बनाएको छ । अब बालबालिकाले कक्षा ६ देखि माथिल्लो कक्षा अध्यनका लागि २ देखि ४ घण्टा सम्म पैदल हिड्नु पर्नेछ ।

अव्यवहारिक र पहुँचका आधारमा अभिभावकलेनै संरक्षण गरेर सञ्चालन गरिरहेका विद्यालयको स्तर घट्ने गरी ल्याइएको कार्यविधिले बालबालिको शिक्षा प्राप्त गर्ने अधिकारलाई समेत संकुचित गरेको भन्दै अभिभावकहरुले कार्यविधिको बिरोध गरेका छन् । सरस्वती आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अम्मर तरामुले कार्यविधि अव्यवहारिक भएको भन्दै सच्याउन माग गरे । तिनाउ गाउँपालिकाले यसअघि घोषणा गरेको ‘बालमैत्री पालिका’ कार्यक्रमको मर्म विपरित कार्यविधि ल्याएर गलत गरेको उनले बताए । यसैगरी कार्यपालिका सदस्य सन्तोष परियारले पनि कार्यविधि व्यवहारिक नभएको गुनासो गरे । ‘गाउँमा शिक्षाको पहुँच नहुँदा बसाई सरेर गाउँ रित्तिने अवस्थामा पुगेको बेला यो कार्यविधिले थप गाउँ रित्याउने बाहेक सकारात्मक प्रभाव पर्छ जस्तो लाग्दैन ।’–परियारले भने ।

गाउँपालिका उपाध्यक्ष लालबहादुर थापाको संयोजकत्वमा रहेको शिक्षा समितिले गरेको सिफारिसका आधारमा कार्यपालिकाले नयाँ कार्यविधि पारित गरेको हो । उपाध्यक्ष थापाकै जोडबलमा पारित गरिएको यो कार्यविधिले ५ विद्यालयको स्तर घटेपछि प्रभावित क्षेत्रमा गाउँ थप रित्तिने चिन्ता थपिएको छ । भौगोलिक विकटताले छरिएर रहेको तिनाउका गाउँहरुमा सञ्चालन भैरहेका विद्यालयलाई स्तर घटाउँदा यसले थप नकारात्मक असर पार्न सक्ने जानकारहरु बताउँछन् ।

गउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले भने शिक्षाको गुणस्तर वृद्धिका लागि नयाँ कार्यविधि लागू गर्नै पर्नेमा जोड दिए । बालबालिकालाई सहजताका लागि मर्ज गरिएका विद्यालयमा आवासीय सुविधा उपलब्ध गराइने उनले बताए । उनका अनुसार स्तर घटेका ५ मध्ये २ विद्यालयका विद्यार्थी मर्ज भएको विद्यालयमा गएर अध्ययन गर्न थालेका छन् भने अन्य ३ विद्यालयका बारेमा छलफल हुँदै छ । यदी ती विद्यालयमा विद्यार्थी सङ्ख्या पुगेको अवस्थामा पनि नयाँ प्रक्रियाबाट अनुमति माग गर्ने, स्वीकृति गर्ने लगायतका प्रक्रियाहरु पूरा गर्नुपर्ने उनले बताए । गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले सबै राजनीतिक दल तथा शिक्षा समितिको सिफारिसका आधारमानै नयाँ कार्यविधि पारित गरिएको दाबी गरे ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।