ताजा अपडेट »

पर्यटकका लागि आकर्षक गन्तव्य नुवाकोट : थपिँदै होटल तथा रिसोर्ट

शनिबार, २९ बैशाख २०८१, १२ : ३४
1.52K Shares
शनिबार, २९ बैशाख २०८१
1.52K Shares

बुटवल । पूर्व-पश्चिम राजमार्गदेखि उत्तरतर्फ ८ किलोमिटर उकालो चढेपछि आउने नुवाकोट आन्तरिक पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको छ । शहरको कोलाहलभन्दा छुट्टै र शान्त वातावरणसहित नाङ्गो आँखाले सहजै बुटवल, भैरहवा, देवदह तथा लुम्बिनीसम्मका दृश्य अवलोकन गर्न सकिने पाल्पाको नुवाकोटमा चहलपहल दिन/प्रतिदिन बढीरहेको पर्यटन व्यवसायीहरु बताउँछन् । गर्मी मौसममा चिसो हावा र जाडो मौसममा घाम ताप्न पाइने भएकाले बाह्रै महिनाजासो यस ठाउँमा पर्यटकको भिड लाग्ने गरेको छ ।

शहरको व्यस्त जीवन शैली र थकान मेट्नका लागि तराईदेखि छोटो दूरीमै आरामको बिसौनीका लागि साथीभाई तथा परिवारसँग सहजै पुग्न सकिने गन्तव्य भएका कारण नुवाकोटमा चहलपहल बढेको छ । अङ्ग्रेजलाई हराएका नेपाली सेनाको आश्रय स्थलदेखि प्राचीन पुर्खाहरूले नुन बोक्दा रेकर्ड राख्ने भन्सार डाँडाको इतिहास बोकेको नुवाकोट ऐतिहासिक महत्वसँग पनि जोडिएका कारण पर्यटकहरुका लागि अध्ययनको ठलो समेत हो । पाल्पाको तिनाउ गाउँपालिका-२ मा अवस्थित यस ठाउँमा नेपाल-अङ्ग्रेज युद्धमा नेपाली वीरले अङ्ग्रेजलाई पराजित गरेको ऐतिहासिक जीतगढी किल्लाको सहायक गढीको रुपमा रहेको ‘नुवाकोट गढी’ भएकाले ईतिहास अध्ययनका लागि महत्वपूर्ण स्थल हो ।

गौतम बुद्धका पिता शुद्धोधनका गुरु ऋषिकालदेवलको आश्रम स्थलका रुपमा पनि नुवाकोट प्रसिद्ध छ । यहाँ रहेको भगवती मन्दिर, भैरव कामना मन्दिर, खड्ग मन्दिर, राजा मणि मुकुन्द सेनको ग्रिष्मकालीन दरबारको भग्नावशेष, तोपाहान क्षेत्र, खरखजाना घर, राजा शुद्धोधनका गुरु ऋषिकालदेवल(आशुतोष)को आश्रम स्थल लगायत ऐतिहासिक तथा धार्मिक महत्वका सम्पदाहरुले भरिएको नुवाकोट पर्यटकका लागि मन नघाउने गन्त्यको रुपमा बिकास भएको छ ।

बुटवलको मणि मुकुन्द सेन उद्यान र बुटवल मावि गेटबाट पुरानो सिँढीको पैदलमार्ग करिब साढे दुई घण्टामा नुवाकोट पुग्न सकिन्छ । त्यस बाहेक बेलबास शान्तिचोकबाट ८ किलोमिटर पक्की उकालो बाटोबाट पनि नुवोकोट पुग्न सकिन्छ भने पाल्पाको दोभानबाट करिब ५ किलोमिटर ग्राभेल सडकबाट नुवाकोट पुग्न सकिन्छ ।

बुटवलको देउराली देखि नुवाकोट सम्मचल्ने सिद्धार्थ केवलकार पनि केही महिनामै सुरु हुँदैछ । यसले नुवाकोटको विकासमा ठूलो टेवा पुग्ने विश्वास लिइएको छ । नुवाकोटमा केवलकारको टप स्टेशन बनाइएको छ । त्यस्तै कमलको फूल सहितको बगौचा पनि तयार भइसकेको छ । गौतमबद्धको मुर्ति निर्माणधिन अवस्थामा छ ।

अहिलेसम्म नुवाकोटमा २० भन्दा बढि साना ठूला होटल छन् । त्यसमा १ अर्बभन्दा बढी लगानी भइसकेको व्यवसायीहरु बताउँछन् । नुवाकोट गढी विकास समितिका अध्यक्ष माधव नेपालले नुवाकोटले अझै फड्को मार्ने गरी योजनाहरु कार्यान्वयनको चरणमा रहेको बताए । नुवाकोटमै सिद्धार्थ केवलकारको टिमले पाँचतारे होटल समेत निर्माण गर्ने योजना बनाएको छ ।

नुवाकोटमा अहिले खानेपानीको केही समस्या छ । यसको समधानका लागि लिफ्टिङ खानेपानी निर्माण सम्पन्न भईसकेको छ । तर बढ्दो जनघनत्वलाई यसले थेग्न मुस्किल भएकाले ओभरहेड टंकिको योजना अगाडि बढेको उनले बताए ।

स्वागतका लागि थपियो ‘नुवाकोटगढी रिसोर्ट’
यसैबीच नुवाकोटको पर्यटकीय गन्तव्यमा स्वागतका लागि दुई जना युवा व्यवसायीहरुले ‘नुवाकोटगढी रिसोर्ट’ सञ्चालनमा ल्याएका छन् । बुटवलका युवाहरु कृष्ण कुमाल र प्रतिक भट्टराईको संयुक्त लगानीमा नुवाकोटगढी रिसोर्ट सञ्चालनमा आएको हो । बुटवलबाट आधा घण्टाको दुरीमा सजिलै पुग्न सकिने रिसोर्ट समुन्द्र सतह देखि ९५० मिटर उचाईमा रहेको छ ।

बुटवलको चर्को गर्मीबाट केही सित्तलता प्राप्तगर्न र रमाउन चाहनेहरुका लागि मध्यनजर गर्दै दुई युवाहरुले ९० लाखको लगानीमा रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । रिसोर्टले एग्रो फार्म पनि सञ्चालन गरेको छ । रिसोर्ट सञ्चालक कृष्ण कुमालले बुटवलको कोलाहलबाट केही टाढा रहेर रम्नेहरुका लागि रिसोर्ट उत्कृष्ट गन्तव्य रहेको बताए ।

रिसोर्टबाट रात्रिकालिन बुटवल पूरा देख्न सकिन्छ । गाउँले परिवेश रहेको रिसोर्टमा गुन्द्रीमा पलेटी कसेर खानपिनमा रमाउन सकिन्छ । साथै घोडा सवार गर्न पनि रिसोर्टमा पाईने उनले बताए । १० रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमाहाल ८ वटा मात्र कोठा छन् । रिसोर्ट बाहिर क्याम्पियन फायर गर्ने व्यवस्था समेत छ । त्यस्तै १५ वटा टेन्ट राखेर बाहिरै ग्राहकले रातीमा सुत्न पाउँछन् ।

अहिले रिसोर्टमा दैनिक २० देखि ५० जना सम्म पुग्ने गरेका छन् । सञ्चालक कुमालले यो अवस्थामा पनि रिसोर्टले गतिलिनु सुखद भएको बताए । उनले अझै केही संरचना थप गर्न बांकी रहेको भन्दै पूर्ण क्षमतामा रिसोर्ट सञ्चालनमा आउनभने केही समय लाग्ने बताए ।

रिसोर्टमा मौलिक परम्पराका बस्तुहरु राखिएको छ । गुन्द्री, लान्टिन, डोका, थुम्सीले रिसोर्टलाई थप आर्कर्षित बनाएको छ । रिसोर्टका अर्का सञ्चालक प्रतिक भट्टराईले ग्राहकहरुलाई सन्तुष्ट दिने गरी आफूहरुले रिसोर्टमा नेपाली मौलिकता पन झल्काएको बताए । गाउँले परिवेशमा बनेको जस्तै रिसोर्टको भवनले धेरैलाई लोभ्याउने गरेको उनले बताए ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।