ताजा अपडेट »

रुपन्देहीको सियारीमा अव्यवस्थित बसोबासीलाई लालपूर्जा

सोमबार, १५ माघ २०८०, १८ : ३१
82 Shares

बुटवल । रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर १ र ७ का अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गरिएको छ । 

सोमबार सियारी–७ स्थित अमवामा राष्ट्रिय भूमि आयोग जिल्ला समिति कार्यालयको आयोजना एवं सियारी गाउँपालिका रुपन्देहीको समन्वय तथा सहजीकरणमा भएको कार्यक्रममा लालपूर्जा वितरण गरिएको हो ।

रुपन्देहीमा ३५ हजार लालपूर्जा तयार रहेको राष्ट्रिय भूमि आयोग रुपन्देही जिल्ला अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बताए । उनले भने, ‘रुपन्देहीमा अव्यवस्थित र सुकुम्बासी गरी १ लाखको हाराहारीमा हुनुहुन्छ । ’जग्गा प्राप्तीका लागि तिर्नुपर्ने राजस्व धेरै भएको भन्ने नागरिकबाट गुनासो आएको उनले बताए । यसबारे प्रधानमन्त्रीसँग पनि आफूले कुराकानी गरेको उनको भनाइ छ । अब शुद्धोधन र कञ्चन गाउँपालिकामा पनि लालपूर्जा वितरणको तयारी रहेको बताए ।
त्यस्तै सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्षसहित टीमको प्रयत्नबाट सियारीमा जग्गाधनी प्रमाणपूर्जा वितरण गर्न सफल भएको बताए । उनले यो कार्यमा खटिने सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिए । उनले भने, ‘सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि लालपूर्जा वितरण गर्ने कार्यलाई प्राथमिकतामा राखेका छौं । निर्वाचित भएको ६ महिना बितिसकेपछि भूमि आयोगसँग समन्वय गरेर सियारी गाउँपालिका वडा नम्बर १ देखि ७ सम्म आयोगले तोकेको सीमाभित्र रहेर जग्गा नाप्ने काम भएको उनको भनाइ छ ।

अध्यक्ष घिमिरेले आफूहरु निर्वाचित भएको ६ महिनामा २५० वटा लालपूर्जा वितरण गरेको बताए । उनले फागुन मसान्तसम्म सियारीमा ४५० वटा लालपूर्जा वितरण गरिने बताए । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले कुनै पनि राजनीतिक गन्ध नआउने गरी काम गर्न आग्रह गरे । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गोविन्द के.सी.ले सियारी गाउँपालिकाले राम्रो काम गरेको भन्दै धन्यवाद दिए । नेपाली कांग्रेसका नेता गोपाल पाण्डेले लालपूर्जा दिलाउन अथक प्रयास गरेको सबैलाई धन्यवाद दिए ।

नेकपा (एमाले)का नेता विनोद सहानीले लालपूर्जा वितरण कार्यलाई व्यवस्थित गरेको भन्दै सियारी गाउँपालिकालाई धन्यवाद दिए । सियारी गाउँपालिका वडा नम्बर ७ का वडाअध्यक्ष दीपक बहादुर शाहीले जनताको सेवा र गाउँपालिकाको विकासमा लागिपरेको बताए ।लालपूर्जा प्राप्त गर्ने नीम बहादुर नेपालीले सियारी अध्यक्ष थानेश्वर घिमिरेले नागरिकको घरदैलोमा पुगे समस्या बुझेर समाधान हुने बताए ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।