ताजा अपडेट »

२१ औं लिस्नु कपको उपाधि फर्साटिकरलाई

शुक्रबार, ०५ असोज २०८०, १९ : १०
65 Shares

भैरहवा । रुपन्देहीको कोटिहवामा सम्पन्न २१ औं लिस्नु कपको उपाधि रुपन्देहीको फर्साटिकर फुटबल क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाईनल खेलमा फर्साटिकरले कपिलवस्तु-११ लाख ४-० गोल अन्तरले हराउँदै उपाधि कब्जा गरेको हो ।

फर्साटिकरका लागि जर्सि नम्बर १५ का खेलाडी सुनिल खड्काले खेलको नवौं मिनेट र ३५ औं मिनेटमा गरि २ गोल गरेका थिए । यस्तै जर्सी नम्बर ९ का खेलाडी टिकाराज गुरुङ्गले १४ औं मिनेट र ३४ औं मिनेटमा गरि २ गोल गरे । खेल अवधि भर कपिलवस्तुका खेलाडीहरुले गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेनन् । फाइनल खेल विजेतासंगै फर्साटिकरले ३ लाख ५ हजार पुरस्कार जितेको छ । दोश्रो भएको कपिलवस्तु ११ ले १ लाख ५५ हजार रुपैयामा चित्त बुझाउनु परेको छ ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी कपिलवस्तु–११ का विश्वास थापाले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । उत्कृष्ट गोलकिपर फर्साटिकर फुटबल क्लबका बिशाल केसी घोषित भई १० हजार प्राप्त गरे। सर्वाधिक गोलकर्ता विक्की चाम्लिङ्ग, सन्जु शाही ठकुरी र निरज चौधरी गरि ३ जनालाई संयुक्त रुपमा प्रदान गरिएको थियो ।

उदीयमान खेलाडी संजिवनी युवा क्लबका अनुप बुढा मगरलाई घोषित गरिएको आयोजक लिस्नु युवा क्लबका सचिव मनोज कुमार क्षेत्रीले बताए । प्रतियोगिताको अनुशासित टिम वालिङ्ग वारीयरलाई घोषणा गरिएको थियो । सेमिफाईनलमा पराजित भएका देवदह फुटबल क्लब र पाल्पा-११ लाई पनि २५/२५ हजार रुपैया प्रदान गरिएको थियो ।

प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा र वालिङ्गबाट गरि १२ वटा टिमको सहभागीता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।