ताजा अपडेट »

बेलायती प्रधानमन्त्रीलाई नेपालको विश्वकप क्रिकेट जर्सी उपहार

बुधबार, ०९ जेठ २०८१, ०५ : ००
86 Shares
बुधबार, ०९ जेठ २०८१
86 Shares

लन्डन : बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई नेपालको टी ट्वान्टी विश्वकप क्रिकेट जर्सी उपहार दिइएको छ। नेपाल बेलायत मैत्री सन्धीको शतवार्षिकीका अवसरमा टेन डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री कार्यालयमा सोमबार साँझ आयोजित विशेष समारोहका बेला सुनक नामाङ्कित १० नम्बरको नेपाली जर्सी उनलाई हस्तान्तरण गरिएको हो। 

नेपाली क्रिकेट विकासका लागि पहल गर्दै आएका लन्डनस्थित ट्रेड एण्ड इन्भेस्टमेन्ट कन्सल्टेन्ट प्रशान्त कुँवरले बेलायती प्रधानमन्त्रीलाई नेपाली जर्सी उपहार दिएका हुन्। सो अवसरमा चर्चित अभिनेत्री मनिषा कोइराला समेत साथमै थिइन्। 

नेपाली क्रिकेट जर्सी ग्रहण गर्ने क्रममा खुशी व्यक्त गर्दै बेलायती प्रधानमन्त्री सुनकले आफू क्रिकेटको ठूलो फ्यान रहेको बताएका थिए। उनले नेपाली क्रिकेट भावी दिनमा थप सफल बन्दै जाने शुभेच्छा पनि प्रकट गरेका थिए। 

नेपाली क्रिकेटको प्रवर्द्धनको लक्ष्य राखेर बेलायती प्रधानमन्त्रीलाई जर्सी उपहार दिएको कुँवरले बताए। ‘दुई देशबीचको मैत्री सन्धीको शतवार्षिकी मनाउने समारोह बेलायती प्रधानमन्त्रीलाई नेपालको आगामी महिना हुने विश्वकपको जर्सी उपहार दिन उपयुक्त अवसर लाग्यो’, उनले भने, ‘यसबाट नेपाल पनि क्रिकेट खेल्छ र अहिले विश्वकप समेत खेल्दैछ भन्ने सन्देश प्रवाह गर्न पनि सहयोग पुग्नेछ भन्ने विश्वास छ।’ 

यसअघि सन् २०१६ मा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई पहिलोपटक बेलायत ल्याएर लर्ड्समा एमसीसी क्लबसँग क्रिकेट खेलाउनमा पनि कुँवरको पहल थियो। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।