विराटनगर । उदयपुरमा दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी सवार स्कार्पियो दुर्घटनामा परेको छ । दुर्घटना हुँदा दमक नगरपालिकाका कानुन अधिकृत माधव बस्नेतको ज्यान गएको छ।
दुर्घटनामा ६ जना घाइते भएका छन्। दमक नगरपालिकाका कर्मचारी र वडाध्यक्षसहित जनप्रतिनिधिहरु चढेको मे १ च ३०४० नम्बरको गाडी बिहीबार दुर्घटनामा परेको थियो।
चितवनबाट झापातर्फ जाँदै गरेको सो स्कार्पियो गाडी उदयपुरको कटारीमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। विहिबार दिउँसो झन्डै साढे ४ बजेतिर मदन भण्डारी राजमार्ग अन्तर्गत उदयपुर जिल्लाको कटारी नगरपालिका-६ सोमबारेमा स्कर्पियो दुर्घटना भएको हो।
आफैँ अनियन्त्रित भएको स्कारपियो सडक साइडमा लगाएको फलामको ट्रष्ट बेरियरमा ठक्कर खाई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते झापाको दमक नगरपालिका-३ का ५५ वर्षीय बस्नेतको प्रादेशिक अस्पताल कटारीमा उपचारको क्रममा मृत्यु भएको हो।
घाइतेहरूमा सवारी चालक दमक नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३८ को देबेन्द्र तामाङ, दमक नगरपालिका १० बस्ने वर्ष ४९ को राजेन्द्र प्रसाद भण्डारी, दमक १ बस्ने वर्ष ४५ को ज्ञानेन्द्र गौतम, दमक नगरपालिका ६ बस्ने वर्ष ५४ को कमल श्रेष्ठ, दमक २ बस्ने वर्ष ३८ को नबिन खतिवडा र गौरादह नगरपालिका १ बस्ने वर्ष ५४ को भुवन दाहालको प्रादेशिक अस्पताल कटारी उदयपुरमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरीक्षक कमल बजगाईले जानकारी दिए।
प्रतिक्रिया