ताजा अपडेट »
सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरण

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरणमा विकल पौडेल भ्रष्टाचारी ठहर, २ वर्ष कैद, साढे २५ कराेड जरिवाना

५ जनाले सफाइ पाए

बुधबार, ०९ जेठ २०८१, ०५ : ४५
54 Shares
बुधबार, ०९ जेठ २०८१
54 Shares

काठमाडौं । विशेष अदालतले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारद्वारा दायर मुद्दामा फैसला सुनाउँदै सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई २ वर्ष कैद सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा चलाएको थियो । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ६९ करोड ८ लाख ८१ हजार रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको दाबी थियो। विशेष अदालतका अध्यक्ष टेकबहादुर कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले २५ करोड ४७ लाख १ हजार ६८ रूपैयाँ असुलउपर गर्नुपर्ने पनि ठहर गरेको छ ।

विकलले सम्झौताविपरुीत गुणस्तरहीन विद्युतीय ट्रान्सफरमर खरिद गरेको प्रमाणबाट पुष्टि भएको विशेष अदालतले जनाएको छ । खरिद सम्झौता बमोजिम मर्मत नगरी झूटो बिलको आधारमा भुक्तानी दिएको पनि विशेष अदालतको ठहर छ । विकलमाथि अमेरिकाको पीआर लिएर त्यसबारेको विवरण लुकाइ नेपालमा नियुक्ति लिएको साथै अकुत सम्पत्ति आर्जनको दुई मुद्दा विचाराधीन छ ।

उक्त मुद्दामा नवीनकुमार ६ महिना कैद र ५ करोड ८४ लाखभन्दा बढी जरिवाना तोकिएको छ । रोहितमान प्रधानलाई पनि ५ करोड ८४ लाख बढी विगो असुल गर्नुपर्ने फैसला गरिएको छ । विशेष अदालतले परामर्शदाता भुवन महर्जनबाट ५ करोड ७९ लाख ६२ हजार १३५ रूपैयाँ जरिवाना तोकेको छ ।

यस प्रकरणमा ५ जना अभियुक्तले सफाइ पाएका छन्। सफाइ पाउनेमा शाखा अधिकृत मनिकमान महर्जन, तत्कालीन लेखा अधिकृत रामबहादुर बुढा, शाखा अधिकृत शिरीष उपाध्याय, मेपटेक बिल्डिङ सर्भिसेस प्रालिका निर्देशक भुवन महर्जन र परामर्शदाता वास्तुशिल्प एसोसिएट्सका प्रबन्ध निर्देशक मित्रलाल गुरौ छन्।

विकल पौडेलविरुद्ध विदेशको पीआर लिएर नेपालको सार्वजनिक पदमा बसेकोमा अर्को भ्रष्टाचार मुद्दा पनि अख्तियारले अदालतमा दायर गरेको छ। यो मुद्दा विशेष अदालतमा विचाराधीन नै छ भने उनीमाथि अकुत सम्पत्ति मुद्दामा पनि अनुसन्धान पनि जारी छ।।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।