ताजा अपडेट »

पाकिस्तानसँगको तनावपछि भारतले बन्द गर्यो २४ विमानस्थल

शुक्रबार, २६ बैशाख २०८२, ०७ : ४२
146 Shares
शुक्रबार, २६ बैशाख २०८२
146 Shares

काठमाडौं । भारतको पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् । नागरिक उड्डयन सुरक्षा ब्यूरोले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ।

निर्देशनअनुसार सबै विमानस्थलहरूमा सबै यात्रुहरूको माध्यमिक भर्याङ पोइन्ट जाँच गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । एयर मार्शलहरू पनि तैनाथ गरिने भएको छ। एयर इन्डियाले अब घरेलु यात्रुहरूले तीन घण्टा अगाडि विमानस्थल पुग्नुपर्नेछ र चेकइन ७५ मिनेट अगाडि बन्द हुने जनाएको छ । भारत र पाकिस्तानबीचको सीमा क्षेत्रमा त्रासको वातावरण छाएको छ । भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर बुधबार राति पाकिस्ताविरुद्ध हवाई आक्रमण गरेसँगै पाकिस्तानले पनि जवाफी हमला गरेको छ । 

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहीबार ३ राज्यका ११ सहरहरूलाई लक्षित गरी ड्रोन आक्रमण भएको छ ।  जम्मू कश्मीरका जम्मू, साम्बा, केरन, तंगधार, कर्नाह, अखनूर, आरएस पुरा सेक्टर र अरनिया तथा पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरणलगायत सहर पाकिस्तानी ड्रोनको निशानामा परेका छन् । पाकिस्तानी ड्रोनहरूले जम्मू विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई समेत निशाना बनाएको बताइए पनि भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ ।

पाकिस्तानले राजस्थानको जैसलमेरमा समेत ड्रोन आक्रमण गरेको छ। पाकिस्तानले आक्रमण थालेसँगै भारतले पनि प्रतिकारस्वरुप मिसाइल हानेको समाचारमा उल्लेख छ । बीबीसीले पाकिस्तानले सतवारी, साम्बा, आरएस पुरा र अर्नियालाई लक्षित गरी ८ वटा क्षेप्यास्त्र प्रहार गरेको सरकारी टिभी च्यानलाई उदृत गर्दै समाचार लेखेको छ । 

यद्यपि ती सबै मिसाइलहरूलाई वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकेर निष्क्रिय पारिएको बताइएको छ । यस्तै अर्कोतर्फ जम्मू कश्मीरमा पूर्ण रूपमा ब्ल्याकआउट भएको छ। प्रभावित अन्य क्षेत्रमा पनि ब्ल्याक आउट गरेर सर्वसाधारणलाई घरभित्रै बस्न भनिएको छ । राति जम्मू विमानस्थलमा विस्फोट भएको खबर छ। जम्मू शहरको गुज्जर नगर पुलमा उपस्थित एक प्रत्यक्षदर्शीले बताएअनुसार जम्मू विमानस्थल नजिकै मिसाइल हानिएको देखिएको छ।  

पहलगाम हमलामा २६ पर्यटकको मृत्युपछि भारत-पाकिस्तानबीच तनाव बढेको हो । पाकिस्तानले पहलगाम हमलामा आफ्नो हात नरहेको बताए पनि भारतले पाकिस्तानमाथि आरोप लगाउँदै आएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।