काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्मा नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)को नवौँ अधिवेशनमा अतिथिका रुपमा सहभागी हुने सिलसिलामा संयुक्त राज्य अमेरिका पुगेकी छन् ।
अमेरिकाको नेभाडा राज्यको लस भेगस सहरमा हुने अधिवेशनमा सहभागी हुन जाने क्रममा अध्यक्ष शर्मा त्यहाँ पुग्दा उनलाई नेजाका अध्यक्ष सुरज भण्डारी लगायतका पदाधिकारीले स्वागत गरेका छन् । नेजाको निमन्त्रणामा महासङ्घका अध्यक्ष शर्मा गत बुधबार यहाँबाट त्यसतर्फ प्रस्थान गरेकी थिइन् ।
उत्तर अमेरिकामा रहेका नेपाली पत्रकारहरूको संस्था नेजाको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा अतिथि तथा पत्रकारहरू गरी करिब २०० प्रतिनिधिको सहभागिता रहने ‘कन्भेनर’ रोशन अधिकारीले जानकारी दिए । नेजाका महासचिव बाबुराम दाहालका अनुसार सो अधिवेशनमा भाग लिन ८१ प्रतिनिधिले सदस्यता दर्ता गरिसकेको, नेजाको वार्षिक प्रकाशन ‘प्रयास’ सार्वजनिक गरिनाका साथै पत्रकारिता पुरस्कार र पत्रकारिता सम्मानसमेत प्रदान गरिने कार्यक्रम छ ।
गैह्रआवासीय नेपाली सङ्घ (एनआरएनए) अमेरिका नेभाडा राज्य च्याप्टरका अध्यक्ष दुर्गा प्याकुरेलले नेजाको नवौँ अधिवेशनलाई लस भेगसका नेपाली समुदायले निकै उत्सुकताका साथ सहकार्य गरेको बताए ।
प्रतिक्रिया