ताजा अपडेट »

एन्फाको साधारणसभामा गणेश थापालाई प्रवेश गर्न नदिएपछि झडप

शुक्रबार, २६ बैशाख २०८२, ११ : ४१
40 Shares
शुक्रबार, २६ बैशाख २०८२
40 Shares

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा लफडा भएको छ।

धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब आरसी ३२ को प्रतिनिधि बनेर सहभागी हुन पुगेका थिए।

तर थापाको हलमा प्रवेशका लागि साधारणसभाको परिचय पास नभएको बन्दै गेटमै रोकिएको छ। त्यसपछि आक्रोशित बनेका थापा र उनका जेठा छोरा गौरव थापासहितको समूहले गेटमा विरोध गरेका छन्।

यसअघि आरसी ३२ बाट प्रतिनिधि बनेपछि एन्फाले साधारण सभामा रोक्ने ठान्दै उनले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।

साधाराणसभामा भाग लिन पाउनु पर्ने माग गर्दै दायर गरेको मुद्दामा उनको पक्षमा फैसला आएको थियो। तर अदालतबाट कुनै चिठी प्राप्त नभएको भन्दै एन्फाले उनलाई सभा हलमा पस्न दिएको छैन। यसलाई थापाले अदालतको मानहानी भन्दै गेटबाहिर आक्रोशित हुँदै चर्को स्वरमा रिस पोखेका छन्।  

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले थापालाई १० वर्षसम्म फुटबलसम्बन्धि कुनै पनि गतिविधिमा संलग्न हुन लगाएको प्रतिबन्ध वैशाख पहिलो साता सकिएको थियो। थापालाई फिफाले सन् २०१५ को अप्रिलमा प्रतिबन्ध लगाएको थियो।

भ्रष्टाचार गरेको तथा घुस लिएकोसहित विभिन्न धाराहरू उल्लंघन गरेको फिफाको अनुशासन समितिको ठहर गरेपछि थापालाई फिफाले प्रतिबन्ध गरेको थियो। प्रतिबन्धको अवस्थामा थापाले केही वर्षयता सामाजिक सञ्जालमार्फत् एन्फाका कामविरूद्ध टिप्पणी गरिरहेका छन्।

थापाले आफ्नो प्रभाव देखाउन आफ्ना नजिकका व्यक्तिमार्फत एन्फामा दबाब दिने गरेको एन्फा नेतृत्वको बुझाइ छ।  फिफाले प्रतिबन्ध लगाउनुअघि ‍२०७१ सालमा संसदको सार्वजनिक लेखा समितिले थापामाथि ५८ करोड रुपैयाँ अनियमितताको गरेको आरोप लगाउँदै छानविनका लागि अख्तियार पठाएको थियो। तर अख्तियारले भने आरोप पुष्टि हुन नसकेको भन्दै उजुरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो।

यद्यपी गत महिना थापाले फिफाको निर्देशन उल्लङघन गरेको र अरु गतिविधि गरेको भन्दै अख्तियारसहित विभिन्न निकायमा कारबाहीका लागि पत्राचार गर्ने एन्फाले निर्णय गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।