ताजा अपडेट »

बुटवलमा वडा अध्यक्षसँगको दुश्मनीले स्वास्थ्य स्वयम् सेवीको जागिर नै चैट !

सोमबार, १५ साउन २०८०, १७ : ३८
71 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–१ मा रहेको शहरी स्वास्थ्य केन्द्रमा विगत २० वर्षदेखि काम गर्दै आएकी स्वास्थ्य स्वयम् सेविकाले वडा अध्यक्षसँगको दुश्मनीका कारण जागिर गुमाएकी छन् । वडा अध्यक्ष नरेन्द्र बस्नेतले आफूसँग विवाद गरेको भन्दै स्वास्थ्य स्वयम् सेवी सिता नापितलाई जागिरबाट निकालेका हुन् ।

वडा अध्यक्ष नरेन्द्र बस्नेतले आफू जनप्रतिनिधि भएपछि पटक–पटक विभिन्न विषयमा नापितसँग भनाभन तथा हातपाई समेत हुने गरेको उल्लेख गरे । यसैगरी पछिल्लो पटकको विवाद भने वडा अध्यक्ष बस्नेत विरुद्धको मुद्दामा स्वयम्सेविका साक्षि बस्नु रहेको छ । स्थानीय जमुना पुनले आफू विरुद्ध घरबाट निकाला गरेको लगायतका आरोप लगाउँदै जिल्ला अदालत रुपन्देहीमा दिएको मुद्दामा साक्षिको रुपमा स्वयम्सेवी नापितले हस्ताक्षर गरेको वडा अध्यक्ष बस्नेतले बताए । यसरी पटक–पटक विवाद गरेर आचारसंहिता विपरित काम गरेको भन्दै अध्यक्ष बस्नेतले स्वास्थ्य स्वयम्सेवी नापितलाई जागिरबाट निकालेको उल्लेख गरे । यद्यपि नापितले भने जमुनाले दिएको मुद्दामा आफू साक्षि बसेको कुरा अस्विकार गरिन् । विभिन्न समयमा आफूहरु बीच हुने व्यक्तिगत विवाद र रिसिबीलाई साध्न वडा अध्यक्ष बस्नेतले महिला स्वयम् सेवीको जागिर नै चट पारिदिएका हुन् ।

वडाध्यक्ष बस्नेतले व्यक्तिगत रिस साध्नका लागि आफूलाई विभिन्न आरोप लगाउँदै सेवाबाट निश्कासन गरेको नापितले गुनासो गरिन् । आफूलाई निस्कासन गर्नका लागि कृते रुपमा स्वास्थ्य महिला समूह निर्माण गरी वडा अध्यक्ष बस्नेतले निर्णय गराएको समेत उनले आरोप लगाइन् । स्वास्थ्य केन्द्रको सेवा क्षेत्रमा पर्ने जितगढी स्वास्थ्य महिला समूहमा १ वर्षअघि चुनिएका अध्यक्ष माया भण्डारीलाई नै जानकारी नदिई वडा अध्यक्ष बस्नेतले सोही टोलकी अध्यक्ष लक्ष्मी पन्तलाई स्वास्थ्य आमा समूहको अध्यक्ष बनाएर नापितलाई निस्कासन गर्ने निर्णय गराएका छन् । २०८० साउन ५ गते कृते रुपमा खडा गरिएको समितिकी अध्यक्ष लक्ष्मी पन्तको अध्यक्षतामा बसेको बैठकले स्वास्थ्य स्वयम्सेवी नापितलाई बुटवल उपमहानगर स्वास्थ्य महाशाखाको सिफारिस अनुसार निस्कासन गर्ने व्यहोरासहितको निर्णय गरेको छ । यसरी आफ्नो कार्यकाल पूरा नहुँदै आफूलाई नै जानकारी नदिई कृते अध्यक्ष खडा गरिएको भन्दै स्वास्थ्य आमा समूहकी अध्यक्ष माया भण्डारीले प्रश्न उठाएकी छन् । वडा अध्यक्ष बस्नेतले भने आफू निर्वाचित भएको एक वर्षसम्म पनि उक्त समिति बारे आफूलाई जानकारी नभएका कारण नयाँ समिति गठन गरिएको दाबी गरेका छन् । वडा अध्यक्ष बस्नेतले स्थापना गरिएको स्वास्थ्य आमा समूहमा रहेकी पन्त जितगढी टोल बिकास संस्थामा समेत अध्यक्ष पदमा रहेकी छन् ।

वडा अध्यक्ष बस्नेतले निस्काशन गरिएकी स्वास्थ्य स्वयमसेवी नापितलाई विभिन्न ३ आरोप लगाएका छन् । पहिलो आरोप आफू विरुद्ध विवाद हो भने दोस्रो आरोप खोप कार्यक्रम सम्बन्धी र तेस्रो आरोप सामाजिक सञ्जालमा भ्रामक स्वास्थ्य सन्देश जाने सेल्फी तस्विर सार्वजनिक गर्नु रहेको छ ।

उपमहानगरका स्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेयले वडा कार्यालयबाट निर्णय गरी आएपछि सोही आधारमा नापितलाई निस्कासन गर्न सिफारिस गरिएको बताए । यसैगरी सम्बन्धित स्वास्थ्य केन्द्रका इन्चार्ज सन्तोष गुरुङले वडाको निर्णय तथा उपमहानगरको स्वास्थ्य महाशाखाबाट आएको सिफारिस अनुसार निर्णय कार्यान्वयन गरिएको उल्लेख गरे । नापितलाई निस्कासन गर्नका लागि बुटवल उपमहानगर स्वास्थ्य महाशाख प्रमुख मित्रमणी खनालले सिफारिस गरेका थिए ।

पूर्ण स्वास्थ्य खोप कार्यक्रम बारे प्रश्न उठाउँदा अध्यक्षको असन्तुष्टी
वडा अध्यक्ष बस्नेतले नापितलाई निस्कासन गर्नु परेको कारणहरु बारे बताउँदै, स्वास्थ्य खोप कार्यक्रम बारेको एक घटना सुनाए । बुटवल उपमहानगरले बुटवललाई पूर्ण खोप घोषणा गर्ने भनि अन्तरक्रियाको आयोजना गर्यो । बुटवल उपमहानगर भित्रका सबै स्वास्थ्य स्वयम्सेवी उपस्थि उक्त कार्यक्रममा सिता नपितले प्रश्न उठाइन । उनको प्रश्न थियो–‘मेरै वडामा सबैले खोप पाएका छैनन्, अनि बुटवल कसरी पूर्ण खोप हुन सक्छ ?’

आफ्नै वडाको उदाहरण प्रस्तुत गर्दै उनको प्रश्नको आसय थियो सबैले खोप नपाउने तर पूर्ण खोप कसरी घोषणा हुन सक्छ ? पूर्ण खोप घोषण गर्न हतार गरिएको विषयलाई उनको प्रश्नले उठाएको थियो । तर, यही विषयलाई फरक व्याख्या गरेर वडा अध्यक्ष बस्नेतले नापितमाथि रिस साध्ने काम गरे आरोप छ ।

वडा अध्यक्ष बस्नेतले आफ्नै स्वास्थ्य केन्द्रमा उठाउनु पर्ने विषय उपमहानगरको सार्वजनिक कार्यक्रममा उठाएको भन्दै असन्तुष्टि जनाए । आफ्नै वडामा भएको कमजोरी आफूले नै समाधान गर्नुको साटो सार्वजनिक ठाउँमा प्रश्न उठाइएकोप्रति बस्नेतले असन्तुष्टि व्यक्त गरे । यसैगरी स्वास्थ्य इन्चार्ज सन्तोष गुरुङले समेत नापितले उठाएको प्रश्नप्रति असन्तुष्टी व्यक्त गरे ।

सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्दा विवादित
निस्कासनमा परेकी स्वास्थ्य स्वयम्सेवी नापितले गरेको तेस्रो गल्ती हो सामाजिक सञ्जालमा तस्विर सार्वजनिक । वडा अध्यक्ष बस्नेतका अनुसार नापितले कोभिड-१९ को दोस्रो डोजको खोप लगाएपछि बिरामी परिन् । आफू विरामी भएपछि सेल्फी खिच्दै खोपका कारण विरामी भएर सुत्नु परेको जानकारी सहित सामाजिक सञ्जाल फेसबुमा सार्वजनिक गरिन् । अध्यक्ष बस्नेतका अनुसार यसरी उनले अन्य नागरिकलाई समेत स्वास्थ्य सम्बन्धी गलत सन्देश जानेगरी तस्विर सार्वजनिक गर्नू गल्ती थियो ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।