ताजा अपडेट »

१०४ औं जन्म दिन मनाउँदै यदुकानन्द कालिन गुल्मीका ‘कान्छा पण्डित’

सोमबार, १९ चैत्र २०८०, १३ : ४६
1.08K Shares

गुल्मी ।  गुल्मीको प्रशिद्ध धार्मिक क्षेत्र रेसुङ्गामा सताब्दी अघिसम्मका तपश्वी स्वामी यदुकानन्दका जिवित साँक्षी अहिले पनि भेट्न सकिन्छ । राणा शासनयता गुल्मी उपल्लो तम्घासका ‘कान्छा पण्डित’ नै यदुकानन्द कालका जिवित साक्षी हुन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका ९ उपल्लो तम्घास निवासी  कान्छा पण्डितको वास्तविक नाम परशुराम उपाध्याय पन्थी हो । उनलाई पुरानो पुस्ताले कान्छा पण्डितकै रुपमा चिन्दछन् । श्रद्धय गुरुका रुपमा उनलाई पुज्ने गरेका छन् ।

चैत्र १९ गते उनको जन्म दिन हो । यही चैत्र १९ गते उनले आफ्नो १०४ औं जन्म दिन मनाउँदै छन् । यस अवसरमा तम्घासबजार निवासी ८४ वर्षीय नरप्रसाद श्रेष्ठले भने–‘गुरु बा, जन्म दिनको शुभकामना आर्शिवाद पाउँ ।’ १०४ वर्षी कान्छा पण्डितसँग यस भेगका सर्वसाधरण जनतादेखि तत्कालिन राणा महराजहरु जुद्ध शम्शेर, मोहन शम्शेर र उनका भाईभारदारसम्मको घरमा सप्ताह, पुराण प्रवचन गरेको अनुभव छ । प्रशिद्ध तपोभूमी रेसुङ्गाको नित्य पूजा जिज्युबाजेको पालादेखि चलाएको अतुलनिय योगदान छ ।

भाडगाउँस्थित  स्वर्गीय डाक्टर टिकराम पन्थीका पिता मुक्तीराम पन्थी रेसुङ्गामा स्वामी रहेका थिए । त्यस्तै परशुरामका हजुरबुवा विश्वनाथदेखि बाबु हरिलालसहित ३÷४ पुस्ते रेसुङ्गा धामका नित्य पूजाकर्ता पन्थी परिबार धार्मिक र शैक्षिक घरानाका रुपमा चिनिन्छन ।

१४ वर्षअघि किरण पुस्ताकालयबाट प्रकाशन भएको उनले लेखेको ‘तपोभूमी रेसुङ्गाधाम ’नामक पुस्तकमा प्रकाशकका हैसियतले प्रधान सम्पादक शशी पन्थीले लेखेका छन् –‘पण्डित पर्शुराम उपाध्याय पन्थी यदुकानन्दकालिन रेसुङ्गाका जिवित प्रमाणको रुपमा रहनु भएको छ । ’ त्यस पुस्तकका समीक्षक दिन पन्थीले लेखेका छन्– ‘पण्डित पर्शुराम उपाध्याय पन्थी विगत सताब्दीको ईतिहासका जिवन्त साक्षी हुनुहुन्छ । रेसुङ्गा तपोभुमीको संरक्षण र विकासको निम्ती अहोरात्र खट्नु भयो । यस क्षेत्रमा विद्याधर्मको प्रचारा प्रसारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । ’

उपल्लो तम्घासस्थित पीता हरिलाल उपाध्याय पन्थी, माता बशुन्धारा पन्थीको कोखबाट विक्रम सम्बत १९७७ साल चैत्र १९ गते जन्मिएका पन्थी शैक्षिक योग्यतामा पूर्वमाध्यमिकमा उतिर्ण भएका हुन् । पाँच छोरा, चार छोरीहरुसहित ९ सन्तानका पीता उनका दुई श्रीमति केशरादेवी र यमकुमारी रहेको पुस्तकमा उल्लेख छ । हाल उनका नाती नातिनाको संख्या ३६ जना र पलाती पलातीनीको संख्या ३० जना रहेका छन् । उनै सन्तती अन्य आफन्त र देश विदेशमा रहेका शिष्यहरुले जन्म दिनको शुभकामना दिईरहेका छन् ।

सोमबार विहानैदेखि उनलाई शुभकामना टक्राउन र आर्शिवाद लिन जानेहरुको घुँईचो लगेको छ । रेसुङ्गाको नित्यपूजा चलाउन तत्कालिन राणा सरकारले सनद् लालमोहर लगाएर अंशियार गुठी खेत पन्थी परिवारलाई भोगचलन गर्न दिएका थिए । पछि विभिन्न ब्यक्तिले उक्त जग्गा हडपेका थिए । त्यस विरुद्ध सर्वोच्च अदालतसम्म पुगेर फिर्ता गरी सबै गुठीका खेतहरु आफूले नराखी रेसुङ्गाको सम्पत्तिका रुपमा हस्तान्तरण गरेका थिए ।

२०१६ सालमा राजा महेन्द्र तम्घास भ्रमणमा आउँदा तत्कालिन प्रधानमन्त्री विपी कोईराला, गिरीप्रसाद बुढाथोकी, काँशीनाथ गौतमसहित चार जना मन्त्रीहरु उनको घरमा बास बसेको स्मरण पन्थीले गरेका छन् । उनका बारे तत्कालिन  तम्घास गाउँपञ्चायतका प्रधानपञ्च बिष्णुप्रसाद पन्थी  भन्छन् –‘उहाँ धार्मिक क्षेत्र रेसुङ्घाको संरक्षक नै हो । धार्मिक र सामाजिक क्षेत्रमा उहाँको योगदन अतुलनीय छ । सधै सत्कर्मको बाटो देखाउने उहाँले हामी सन्ततीहरुलाई पनि सत्कर्मकै बाटोमा डोराउनु भएको छ । १०४ वर्षको उमेरसम्म उहाँको दर्शन गर्न पाउनु हाम्रा लागि अहोभाग्य नै हो ।’

 

प्रेम सुनार
लेखकको बारेमा
प्रेम सुनार