ताजा अपडेट »

अन्तरपालिका महिला भलिबलको उपाधि बुटवललाई, पत्रकारले जिते राजनीतिक दललाई

आइतबार, २९ माघ २०७९, १८ : ४७
14 Shares

बुटवल । बुटवल उपमहानगरपालिकाको ६४औ स्थापना दिवसको अवसरमा आयोजित अन्तरपालिका महिला कर्मचारी भलिबल प्रतियोगिताको उपाधि आयोजक बुटवलले जितेको छ। बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाबीच भएको फाइनल खेलमा २-० को सोझो सेटमा बुटवलले उपाधि हात पारेको हो।

बुटवलले उपाधिसँगै २० हजार रुपैयाँ पाएको छ भने उपबिजेता देवदहले १५ हजार रुपैयाँ प्राप्त गरेको छ। यस्तै तिलोत्तमा नगरपालिका तेश्रो हुँदै १० हजार रुपैयाँ जितेको कार्यक्रम संयोजक राजकुमार श्रेष्ठले जानकारी दिए।बिजेता र उपबिजेतालाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले पुरस्कार र उपाधि प्रदान गरे । कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले अन्तरपालिकाबीचका खेलले आपसी सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी, देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीलगायतले बोल्दै खेल र खेलका माध्यमबाट आपसी सम्बन्ध बलियो बनाउन र सहकार्य गर्न मदत पुगेको बताए । यस्तै, स्थापना दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तरगत आइतबार बिहान नेपाल पत्रकार महासंघ रुपन्देही र नगरस्तरीय राजनीतिक दलको संयुक्त टीमबीच भएको खेलमा पत्रकार महासंघको टीमले सोझो सेटमा जित हात पारेको थियो।

महासंघले बिजेता बन्दै १५ हजार रुपैयाँ प्राप्त गर्दा उपबिजेता संयुक्त टीमले १० हजार रुपैयाँ प्राप्त गरेको कार्यक्रम संयोजक ठगिश्वर पोखरेलले जानकारी दिए। यस्तै यसअघि शनिबार अन्तरपालिका जनप्रतिनिधि मैत्रीपूर्ण फुटबल, रक्तदान, भलिबल, टेबलटेनिस, घैटोफोर, कुर्ची दौड प्रतियोगितालगायतका कार्यक्रम शुरु भएका हुन्।

उपमहानगरपालिकाको ६४औ स्थापना दिवसको अवसरमा खेलकुद कार्यक्रमहरु हुने र फागुन ३ गते मूल कार्यक्रम आयोजना हुने बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताउनुभयो। उहाले मैत्रीपूर्ण खेलकुद कार्यक्रमहरुले मैत्रीपूर्ण भाव सिर्जना गर्ने र सम्बन्ध बलियो बनाउने विश्वास व्यक्त गरे।

कर्मचारी एशोसिएशनका अध्यक्ष अनिल कुमार माण्डब्यले सप्ताहव्यापी कार्यक्रमअन्तरगत सोमबार महिला र पुरुष कर्मचारीबीच खुला टेबलटेनिस प्रतियोगिता, फागुन १ गते महिला जनप्रतिनिधि र महिला कर्मचारीबीच मैत्रीपूर्ण भलिबल प्रतियोगिता, अन्तर महाशाखा पुरुष भलिबल प्रतियोगिता कार्यक्रम रहेको कर्मचारी एशोसिएशन इकाइ समिति अध्यक्ष अनिल कुमार माण्डव्यले बताए।

यस्तै फागुन २ गते महिला, पुरुष जनप्रतिनिधि र कर्मचारीबीच घैटोफोर, कुर्सी दौडलगायतका कार्यक्रम आयोजना गरेको उहाले बताए । फागुन ३ गते उपमहानगरपालिकाले स्थापना दिवसको मूल समारोह कार्यक्रम आयोजना गरेको प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । मुल समारोहमा उत्कृष्ट कर्मचारी, करदाता, विभिन्न क्षेत्रका व्यक्तिहरुलाई पुरस्कार वितरण र सम्मान गर्ने कार्यक्रम रहेको उनले बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।