ताजा अपडेट »

तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ

आइतबार, १८ मंसिर २०७९, १७ : ३०
22 Shares

बुटवल । नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रको महशुल संकलन केन्द्रको भवन उद्घाटन भएको छ । तिलोत्तमा–५ मणिग्राममा रहेको वितरण केन्द्रको प्रशासनिक भवनको पछाडि २७ लाख रुपैयाँ लागतमा नयाँ भवन बनेको हो ।

नयाँ भवनको ठूलो हलमा ३ वटा महशुल तिर्ने काउन्टर र एउटा अन्य कामका लागि काउन्टर बनेको छ । नयाँ भवन बनेसँगै अब वितरण केन्द्रका उपभोक्ताहरु महशुल तिर्न खुला आकाशमुनि लाइन लागेर बस्नुपर्ने बाध्यता अन्त्य भएको छ । अब उपभोक्ताहरु वातानुकुलित हलमा बसेर महशुल तिर्न पाउनेछन् । नयाँ भवनमा कुपन प्रणालीबाट पालो अनुसार महशुल भुक्तानी गर्न पाइने छ । यसले उपभोक्ता बीच पालो मिच्न खोज्दा हुने विवाद पनि अन्त्य हुने वितरण केन्द्रका प्रमुख सञ्जयकुमार मिश्रले बताए ।

‘नयाँ भवन नहुँदा चर्को घाम र वर्षामा सडकमै लाइन बस्नुपर्ने वाध्यता थियो अब ग्राहकहरुले एसी भएको हलमा बसेर आनन्दका साथ महशुल तिर्न पाउनेछन्’–मिश्रले भने–‘हामी ग्राहकलाई सन्तुष्ट बनाउन र सेवालाई गुणस्तरीय बनाउन कटिबद्ध छौं ।’

नव निर्मित भवनको उद्घाटन नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रादेशिक कार्यालय प्रमुख नवराज ओझाले गरेका छन् । सो अवसरमा बोल्दै उनले नयाँमिल वितरण केन्द्रका कार्यालय प्रमुख मिश्रको कार्यकुशलताका कारण उपभोक्ताबाट आउने गुनासो ५० प्रतिशत घटेको उल्लेख गर्दै अन्य वितरण केन्द्रका कार्यालय प्रमुखहरुले मिश्रबाट सिक्नुपर्ने बताए । सो अवसरमा तिलोत्तमा ५ का वडाध्यक्ष रमेश डुम्रे,राष्ट्रिय कर्मचारी युनियनका सचिव टेकबहादुर बुढा, राष्ट्रिय कर्मचारी संघका लुम्बिनी प्रदेश उपाधयक्ष रोहिन भण्डारी लगायतले आफ्ना धारणा राखेका थिए ।

नयाँमिल वितरण केन्द्र अन्तर्गत तिलोत्तमाका सबै वडा तथा बुटवल, ओमसतिया र देवदहका केही वडा गरी ३९ हजार ग्राहक रहेका वितरण केन्द्रका प्रशासन प्रमुख विनोद खनालले बताए । ३९ हजार ग्राहक मध्ये ६० प्रतिशतले वितरण केन्द्रमै आएर तथा ४० प्रतिशतले अनलाइनमार्फत महशुल तिर्ने गरेको लेखा प्रमुख प्रकाश रोकाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।