ताजा अपडेट »

सेना र प्रहरीले पुल बनाइदिएपछि हाटसिंजावासीलाई मतदान गर्न जान सहज

शुक्रबार, ०२ मंसिर २०७९, १५ : ३४
23 Shares

जुम्ला । अविरल वर्षापछि आएको बाढीले बगाएको पुल निर्माण भएपछि  हाटसिंजावासीलाई आवतजावतमा सहज भएको छ ।  बाढीले कनकासुन्दरी गाउँपालिका–४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने पुरानो काठको पुल बगाएपछि आवतजावतमा समस्या हुँदै आएको थियो ।

तर, नेपाली सेना र प्रहरीले पुल बनाइदिएपछि आवतजावतमा सहज भएको वडाध्यक्ष सूर्यमणि हमालले जानकारी दिए । पुल नहुँदा ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा मतदान गर्न जान स्थानीयलाई कठिन हुने थियो । पुल बनेपछि कालिका आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गर्ने स्थानीयवासीलाई सहज भएको वडाध्यक्ष हमालले बताए । 

उनका अनुसार स्थानीय वडापालिकाको पहलमा मतदानमा खटिएको नेपाली सेना, हाटसिंजा प्रहरी चौकी, म्यादी प्रहरी र स्थानीयको सहयोगमा एक हप्तामा तीनवटा काठको पुल निर्माण भएको छ । पुल बनेसँगै कनकासुन्दरी–४ कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको हो ।

नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाका अनुसार निर्वाचनमा खटिएको नेपाली सेनाका आदित्यजंग शाहीको नेतृत्वमा खटिएको ३९ जना नेपाली सेनाको टिमले मतदान केन्द्र जाने पुल बनाउन सहयोग गरेको हो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।