ताजा अपडेट »

हराएको साढे चार लाख भेटिँदा …

सोमबार, २१ माघ २०७५, ०७ : ०४
8 Shares

माघ २१,


सिन्धुली । कमलामाई नगरपालिका– १ बेलटारका खुशबहादुर श्रेष्ठले आफ्नो हराएको रु चार लाख ५० हजार ट्राफिक प्रहरीले फेला पारेर दिएपछि उनको खुशीको सीमा नै थिएन । आज काठमाडौँबाट सिन्धुली आउने क्रममा श्रेष्ठको झोला साँटिएको थियो । झोलामा सो रकम फेला पारेपछि ट्राफिक प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेको टोलीले श्रेष्ठलाई उपलब्ध गराएको हो ।

शान्तिनगर चोकमा झरेका श्रेष्ठले झोला सडक छेउमा राखे । सोही क्रममा उनले सडकमा राखेको झोला अर्को यात्रुले बोकेर गए । दुवै जनाको एकनासको झोला थियो । बच्चालाई बान्ता गराउन खोल्सातिर गएका श्रेष्ठले फर्केपछि मात्र पैसा भएको झोला साटिएको पत्तो पाए । तत्काल उनले प्रहरीलाई फोन गरी झोला साँटिएको जानकारी गराए । प्रहरी सहायक निरीक्षक पाण्डे नेतृत्वको टोलीले झोला खोज्न थाल्यो ।

श्रेष्ठले आफ्नो जस्तै झोला बोकेको व्यक्ति माइक्रो बस चढेर काठमाडौँतर्फ गएको जस्तो लागेको बताएपछि ट्राफिक प्रहरीले कमलामाई नगरपालिका– २ पिपलभञ्ज्याङमा माइक्रो बस जाँच गर्ने क्रममा श्रेष्ठको झोलासँगै साढे चार लाख फेला पारेको हो । ट्राफिक प्रहरीले झोला र पैसा श्रेष्ठलाई बुझायो ।

‘झोला भेटिँदा निकै खुशी लाग्यो,’ प्रहरी सहायक निरीक्षक पाण्डेले भने, ‘प्रहरीलाई तत्काल खबर गरेकाले पैंसो भेटाउन सम्भव भएको हो ।’

समस्या पर्दा आत्तिनु भन्दा प्रहरीलाई खबर गर्नुपर्ने उनी बताउँछन् । श्रेष्ठले कमलामाई नगरपालिकामा १० धुर जग्गा किनेको र दिन बाँकी सो रकम बुझाउन जाँदै गरेको बताए । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।