ताजा अपडेट »

प्रिमियरमा महाजात्रालाई उत्कृष्ट प्रतिकृया। दर्शकको राम्रो साथ पाउने विश्वास

विहीबार, ०८ चैत्र २०८०, ०९ : ४५
44 Shares

काठमाडौ । चलचित्र “जात्रा” र “जात्रै जात्रा” पछि षट्कोण आट्र्सले निर्माण गरेको तेस्रो चलचित्र महाजात्रा’ लाई प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त भएको छ । प्रिमियरमा चलचित्र हेर्न हल पुगेकाले यसलाई “जात्रा” शृङखलाकै उत्कृष्ट चलचित्र भन्ने प्रतिक्रिया दिएका छन । प्रिमियरमा सहभागी कलाकर्मीहरुले मिडिया र सामाजिक संजाल मार्फत चलचित्र हलमै गएर हेर्न दर्शकलाई आग्रह समेत गरेका छन ।

प्रदीप भट्टराईको लेखन र निर्देशन संगै हरिवंश आचार्यको फरक भुमिका, विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्का, दिव्य देव, राजाराम पौडेल लगायतका सम्पूर्ण कलाकारको जिवन्त अभिनयको मुक्त कण्ठले प्रशंसा भएको छ । प्रिमियरमा पुगेका अभिनेता मदनकृष्ण श्रेष्ठ, सन्तोष पन्त, किरण केसी, जीतु नेपाल, निर्मल शर्मा, दयाहाङ राई, अभिनेत्री निशा अधिकारी, केकी अधिकारी, ऋचा शर्मा, दीपाश्री निरौला, गायक प्रकाश सपूत, निर्देशक रामबाबु गुरुङ, सौरभ चौधरी, प्रचण्डमान श्रेष्ठ, अभिनेता गजित विष्ट, सुशील श्रेष्ठ, अरुण क्षेत्री, मोडल आश्मा विश्वकर्मा लगायतका सेलिब्रेटीहरुले चलचित्र हेरेर राम्रो प्रतिक्रिया दिएका छन ।

अभिनेता मदनकृष्ण श्रेष्ठले चलचित्र हेरिरहदा समय वितेको पत्तै नपाएको बताए । उनले चलचित्रको विषयवस्तु, प्राविधिक पक्ष, कलाकारको अभिनय र संदेशको खुलेर तारिफ गरे । चलचित्र राम्रो र रमाइलो बनेको छ । कुनै चलचित्र राम्रो हुन्छन, कुनै रमाइलो हुन्छन, यो दुवै विधामा अब्बल छ । जात्राकै शैलीमा यसले सन्देश दिन्छ । स–परिवार एकसाथ बसेर हेर्ने लाएकको चलचित्र बनेको छ’, अभिनेता श्रेष्ठले भने ।

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले मनोरञ्जनात्मक र सन्देशमूलक चलचित्र बनेको बताउदै निर्देशक भट्टराईबाट अपेक्षा गरिए अनुरपकैै चलचित्र बनेको प्रतिक्रिया दिइन । कलाकारहरुले पनि निकै मेहनत गरेको देखिन्छ । उनीहरू रेगुलर देखिरहनेभन्दा फरक देखिएका छन । यो चलचित्र हेरिरहदा एउटा मात्र पक्षलाई तारिफ गर्न सकिँदैन । अभिनेत्री निरौलाले भनिन् ।

अभिनेत्री निशा अधिकारीले “जात्रा” शृङखलाबाट बढिरहेको अपेक्षालाई महाजात्राले पूरा गरेको बताइन । हामीले लिएर आउने अपेक्षालाई जात्रा टिमले महाजात्रासम्म आइपुग्दा पनि कतै पनि घट्न दिएको छैन, पूरा भएको छ । यसको कथा, पटकथा, संवाद सबै उत्कृष्ट छ । यो धित मर्ने फिल्म बनेको छ’, अभिनेत्री अधिकारीले भनिन ।

गायक तथा अभिनेता प्रकाश सपूतले समसामयिक विषयवस्तुमा सुन्दर चलचित्र बनाएको भन्दै निर्माण पक्षलाई धन्यवाद दिए । जात्रादेखि नै बनिरहेकोे शृङखलामा मनोरञ्जनसँगै जीवनका सबै रङ्गहरू समेटिएका छन । एकदमै हास्न पाइन्छ, रुन पाइन्छ, विचार समेटिएको छ, एउटा दर्शकले चलचित्रहेर्दा जे–जे खोज्छ त्यो सबै समेटिएको छ । म महाजात्रा निर्माण समूहलाई धन्यवाद दिन चाहन्छु, एउटा सुन्दर चलचित्र हेर्न पाएँ । यहाँ देखाईएको विषय गम्भीर छन तर प्रस्तुती दर्शकहरुले सजिलै बुझ्ने किसिमले तयार गरिएको छ । यो एउटा पर्फेक्ट फिल्म हो’, गायक सपूतले भने ।

अभिनेत्री केकी अधिकारीले फिल्म हेरिरहदा “बलिदान” चलचित्रको हरिवंश आचार्यको याद आएको प्रतिक्रिया दिइन । जात्राका पात्रहरूसँगै थपिएका पात्र पनि महत्वपूर्ण छन । यहाँ अनुहारका लागि मात्र अभिनय गराइएको छैन । मैले हेरुन्जेल कहिकतै दिक्क फिल गरिन, म दर्शकलाई पनि चलचित्र हलमा स–परिवार हेर्न आग्रह गर्छु’, उलले भनिन् ।

अभिनेता तथा हास्य कलाकार जीतु नेपालले चलचित्र पूर्ण प्याकेज बनेको बताउदै चलचित्र मार्फत राजनीतिज्ञले सन्देश पाउने बताए । एउटा पक्ष मात्र राम्रो भएर यस चलचित्रले तारीफ पाएकाृ होईन, यो प्रिमियरमा उपस्थित सबैले तारिफ गरेका छन । यसको सबै पक्ष उत्कृष्ट छ। दर्शकले छुटाउन नहुने चलचित्र बनेको छ’, कलाकार नेपालले भने ।

अर्का हास्यकलाकार किरण केसीले चलचित्रले सम्पूर्ण वर्गका दर्शकलाई आकर्षित गर्ने बताए । यो चलचित्र परिवारनै बसेर हेर्न मिल्छ । यसले फिल्मी शैलीमा दिएको सन्देश महत्वपूर्ण छ । यो जात्रा शङखलाको उत्कृष्ट चलचित्र हो’, कलाकार केसीले भने । 
अभिनेत्री ऋचा शर्माले समय सान्दर्भिक र दर्शकले हेर्न चाहेको कुरा चलचित्रमा पाएको बताइन । हलमा केही संवादमा सिठ्ठी र ताली बज्नेमा विश्वस्त छु । प्रिमियरमै हामी पात्रको सुख दुःखसँग जोडिएका थियौँ । यसमा कडा म्यासेज, हसाइ–हसाइ दिनुभएको छ । हामीले शब्दमा व्याख्या गर्नुभन्दा पनि दर्शकले हलमै गएर हेर्नुभयो भने बढी पाउनुहुनेछ’, अभिनेत्री शर्माले भनिन ।

अभिनेता हरिवंश आचार्यले लेखिएको भन्दा प्रिमियरमा हेरेको चलचित्र राम्रो बनेको प्रतिक्रिया दिए । मैले भन्दै आइरहेको कुरानै आज चलचित्र हेरेपछि सबैले भन्नुभयो । स्क्रीप्ट राम्रो भएपछि निर्देशक भट्टराईले मन हास्ने चलचित्र बनाउछन भन्नेमा आशावादी थिएँ, अहिले सबैले त्यहि भन्दा डबल हर्षित छु’, अभिनेता आचार्यले भने ।

अभिनेत्री वर्षा राउतले सबैले दिएको प्रतिक्रियाले आफूलाई दंग बनाएको बताइन । म आज टिमसंगै चलचित्र हेर्दा र प्रतिक्रिया बटुल्दा निकै उत्साहित छु । अब दर्शकसँग चलचित्र हेर्न निकै उत्सुक छु । चलचित्रकोे पात्रसँग हलमा रहेका दर्शकहरू कनेक्ट भएको पाउदा म निकै खुसी छु’, अभिनेत्री राउतले भनिन । 

अभिनेता विपिन कार्कीले “जात्रा” र “जात्रै जात्रा” भन्दा बढी मनोरञ्जन “महाजात्रा” मा पाउने दावी गरे । अघिल्ला शृङखलाभन्दा बढी माया पाउनेमा विश्वस्त छु । मलाई हिरो बनाएको र चिनाएको चलचित्र नै जात्रा शृङखलाले हो । यो मेरो करिअरलाई अगाडि बढाउने चलचित्र हो । जात्रा झैँ महाजात्राले पनि मलाई नयाँ उचाईमा पुर्याउने छ’, अभिनेता कार्कीले भने ।

लेखक तथा निर्देशक भट्टराईले चलचित्रले प्राप्त गरिरहेको प्रतिक्रियाले डर भागेको बताए । हामीलाई मन परेर र राम्रो लागेर नै फिल्म बनाएका थियौँ । हाम्रो प्रस्तुतीकरणमा आज प्रिमियरमा फरक ठाउँ र फरक वर्गका दर्शकले उत्कृष्ट छ भन्नुहुँदा हाम्रो टिम र समूहलाई विश्वास गरेर हलसम्म आउने दर्शकको पैसा र समयको सदुपयोग हुन्छ । जात्रामा हामीले तीन साथीको कथा भनेका थियौँ भने यसपटक राष्ट्रिय विषयलाई पनि जोडेका छौँ’, निर्देशक भट्टराईले भने ।

निर्माता म्याक्स दीपेश खत्रीले नेपालसँगै विश्वभर  “महाजात्रा” चैत ९ मा प्रदर्शन हुने जानकारी दिए । मध्यपूर्वका देशमा मार्च २८ मा प्रदर्शन हुँदैछ । अन्य ठाउँमा हाम्रो शोहरू खुलिसकेका छन भने अष्ट्रेलियाको राजधानी क्यानबेरामा पहिलो शो “सोल्ड आउट” भइसकेको छ । साथै, साउदी अरेबियामा पहिलोपटक नेपाली चलचित्रको रुपमा महाजात्रा प्रदर्शन हुँदैछ’, निर्माता खत्रीले भने ।

प्रिमियरबाट प्राप्त प्रतिक्रिया र फिल्मको शृङखलाले बनाएको हाइपको आधारमा नेपालमा यसलाई मल्टीप्लेक्सले उच्च शो दिएका छन । अधिकाँस हलमा यसको शो समय अनलाइन टिकेट बिक्री सुरू भइसकेको छ । य केन्द्रीय चलचित्र जाँच समितिले फिल्मलाई “यु” अर्थात युनिभर्सल प्रमाणपत्र दिएको छ । चैत ९ गतेदेखि नेपालसहित विश्भर एकसाथ प्रदर्शन हुने चलचित्र सम्पूर्ण वर्गका दर्शकले हेर्न पाउनेछन । यो चलचित्र संयुक्त राज्य अमेरिका, क्यानाडा, युरोप, जापान, कोरिया, न्युजिल्यान्ड, र अष्ट्रेलियाका लागि प्रदर्शन अधिकार समेत बिक्री भईसकेको छ ।

यो चलचित्र मार्च २८ देखि साउदी अरेबियामा समेत प्रदर्शन हुँदैछ । कुनैपनि नेपाली चलचित्र साउदी अरेबियामा प्रदर्शन हुन लागेको यो पहिलोपटक हो । आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने यस “महाजात्रा”चलचित्रमा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय हेर्न पाईन्छ । चलचित्रम म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता रहेका छन भने रविन्द्रसिंह बानियाँ कार्यकारी निर्माता छन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।