ताजा अपडेट »

बटौलीको संरक्षण र प्रवर्धनका उपाय

सोमबार, ०३ माघ २०७८, १९ : ४९
12 Shares

बुटवल उपमहानगरपालिकाको हालको वडा नं. १ र २ अर्थात पारि बुटवलको अर्को नाम बटौली हो । बटौली पूरानो नाम हो । यही बटौलीको अपभ्रम्स रुप बुटवल हो भन्ने भनाई छ । बुद्धवल्ली (बुद्धले विचरण गरेको स्थल) बटौली हुँदै बुटवल नामाकरण भएको हो भन्ने संस्कृतिविद् र ईतिहासकार हरुको तर्क छ । यो शहर (बजार) कति वर्ष पुरानो हो भन्ने विषयमा स्पष्ट खोज अनुसन्धान हुन बाँकी छ ।

ईतिहासकारहरुले आगामी दिनमा यसको खोज अनुसन्धान गर्लान् । यो एउटा राम्रो खोज अनुसन्धानको विषय छ, जिज्ञासुहरुका लागि । बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिका लगायतका संघसंस्थाहरुले यसको बिकास र प्रवद्र्धनको लागि चासो र सरोकार देखाएकाले यसको खोज अनुसन्धान अवश्य हुने नै छ । यसको संरक्षण र प्रवद्र्धनका उपायहरु के–के हुन सक्छन ? भन्ने विषयमा चर्चा गर्नु यो लेखको मुख्य उद्देश्य हो । यसको संरक्षण र प्रवद्र्धनका उपायहरुबारे चर्चा गर्नुभन्दा पहिले यसको महिमा वा महत्वबारे चर्चा गर्नु सान्दर्भिक होला । बटौली बजार एक प्राचिन नगर हो ।

पुरातात्विक शहर हो । यहाँ महिमाशाली सम्पदाहरु प्रसस्त रहेका छन् । यसको ईतिहासबारे सामान्य खोज अनुसन्धान गर्दा वा नियाल्दा बुद्धकालसँग जोडिन पुग्छ । यसको नामाकरण नै बुद्धवल्लीबाट भएको पाईन्छ । बुटवल नगरको नामाकरणको सम्वन्धमा सबैभन्दा दमदार वा वजनदार तर्क पनि यहि नै हो । बुद्धकालमा कपिलबस्तु अन्तरगत सगरहवा, निग्लीहवा, तौलिहवा, गोटिहवा, सिसानीहवा, कुवा, हात्तिहवा, छोटीतौलिहवा, सौरहवा, विकुली, श्रीनगर, सैनामैना, धवाहा, डहरगाउँ, केदली, पदरिया, लुम्बिनी, प्रसिद्ध बटौली (बुटवल) जस्ता प्रख्यात नगर तथा गाउँहरु थिए । यसबाट स्पष्ट हुन्छ की– बटौली (बुटवल) नगर बुद्धकाल भन्दा पुरानो हो । पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको निर्माण पछि मात्रै खस्यौली बजार अस्तित्वमा आएको हो ।

त्यसअघि बटौली बजार नै नगर थियो । २०१६ सालमा बुटवल खस्यौली नगरपालिकाको स्थापना हुँदा बटौलीलाई नै बुटवलको रुपमा अगाडि राखेर नामाकरण भएको पाईन्छ । बुटवल नामाकरण १८ औं शताब्दिमा भएको नेपाल–अंग्रेज युद्धकाल अघि नै भईसकेको थियो । बुटवल र स्युराज (हाल कपिलबस्तु) को विषयलाई लिएर नेपाल–अंग्रेजबिच युद्ध भएको हो । यसबाट स्पष्ट हुन्छ, बटौली (बुटवल) एक समृद्ध र महिमाशाली नगर थियो । जसलाई अंग्रेजले आफ्नो कब्जामा लिन चाहन्थ्यो । बटौली कुनैबेला पाल्पा केन्द्र वा राजधानी रहेको सेन बंशीय राजाको शितकालिन दरवार रहेको नगर हो ।

गृष्मकालमा राजकाजका सबै काम पाल्पाबाट हुन्थे भने शितकालमा राजकाजको सबै काम बटौली (बुटवल) बाट हुन्थ्यो । राजकाजको केन्द्र राजधानी भएकाले यहाँ धार्मिक तथा सांस्कृतिक गतिबिधिहरु प्रसस्तै हुन्थे । बुटवलको शितकालिन दरवार र पाल्पा पूर्णाकोट स्थित राजधानीको संरक्षणको लागि बुटवलमा गढी निर्माण गरिएको थियो । हिन्दुहरुका गणेशथान, कृष्णनाराण मन्दिर लगायतका सयौं वर्ष पूराना मन्दिरहरु यहाँ रहेका छन् । बौद्ध धर्मावलम्बीहरुको पद्मचैत्य विहार प्रसिद्ध छ । मुस्लिमहरुको मजार (दर्शन गर्ने स्थान) पनि उत्तिकै प्रसिद्ध छ । बटौली ज्ञानी (बुद्ध) पुरुषहरुको विचरण भूमि हो ।

शाक्यमुनि बुद्धको विचरण स्थल भएको तथ्य बुद्धवल्ली नामाकरणबाट नै स्पष्ट हुन जान्छ । शाक्यमुनि बुद्धले वैराग्य धारण गर्नुअघि बृद्ध, रोगी, मृत र भिक्षु व्यक्तिलाई देखेका भन्ने प्रसंग जुन पाईन्छ, त्यो यतै बटौलीतिर देखेको हुनुपर्दछ । बुद्धकालको यस क्षेत्रको सबैभन्दा ठूलो नगर वा शहर बुटवल रहेको स्पष्ट छ, प्रसिद्ध बुटवल यसको नाम रहेको तथ्यबाट । जिसस क्राईस्टको विचरण भूमि पनि हो, बटौली । जिसस क्राईस्टको जीवनका महत्वपूर्ण वर्षहरु भारत र नेपालमा वितेका थिए भनेर पश्चिमा लेखकहरुले नै लेखेका छन् । यस्ता लेखमा बनारसबाट लुम्बिनी–बुटवल हुँदै ल्हासा गएको भन्ने सन्दर्भलाई जोडेका छन् ।

जिसस क्राईस्टले बुद्धको जन्मस्थलमा ६ वर्ष अध्ययन गरि पवित्र लेखनमा पोख्त भएका थिए भन्ने भनाई छ । सेनकालमा बुटवल ज्ञान भूमिको शिर्ष स्थानमा थियो । सेन राजाहरुको दरवारमा सन्त महन्तहरुको बाक्लो उपस्थिती हुने गर्दथ्यो । त्यसैक्रममा श्रीहरि स्वामिनारायण बटौली (बुटवल) आई राजा महादत्त सेनको दरवारमा पाहुना बनी बसेको भन्ने भनाई छ । यही तथ्यलाई आधार मानि भारतबाट ठूलो संख्यामा स्वामिनारायणका भक्तजनहरु अहिले पनि बुटवल फूलवारी (मणिमुकुन्द सेन उद्यान) मा स्वामिनारायणको विचरण स्थलको दर्शन गर्न आउने गर्दछन् । बटौली मानिसहरु बटुलिने (जम्मा हुने) ठाउँ पनि हो ।

यहाँ पहिले राडीपाखी, घ्यू, नुन, तेलको साटासाट हुन्थ्यो । ढाक्रेहरुको भिड लाग्थ्यो । सुदुरपश्चिम क्षेत्रबाट व्यापारी र साधारण नागरिकहरु मालसामान खरिद बिक्रिका लागि बटौलीमा जम्मा हुने गर्दथे । यसरी बटौली एक प्राचिन प्रसिद्ध वाणिज्य नगर पनि हो । साविक लुम्बिनी, धौलागिरी, गण्डकी, राप्ती र कर्णाली अञ्चलको मुख्य वाणिज्य नगर हो बटौली । यसरी राजनीति, व्यापार, धर्म, संस्कृति आदि मानव सभ्यताको समृद्ध नगर हो बटौली । अहिलेको सन्दर्भ वा अवस्थामा यसको सम्भावना के हो त ? अब यसको खोजी हुनु पर्दछ । बुटवल उद्योग वाणिज्य संघ र बुटवल उपमहानगरपालिका लगायतका संघसंस्थाहरुले यसको सुरुवात गरेका छन् ।

यसले निरन्तरता पाउनु पर्दछ । यो नगरको महिमा बारे विश्लेषणबाट के स्पष्ट हुन आउँछ भने अहिलेको सन्दर्भमा यसको सम्भावना पर्यटकीय गन्तव्य निर्माण गर्ने हो । यहाँ स्थित जीतगढी (बुटवल गढी) किल्ला, सयौं वर्ष पुराना गणेश मन्दिर, कृष्णनारायण मन्दिर, पद्मचैत्य विहार, मजार, स्वामिनारायणको स्पर्श स्थल, मणिमुकुन्द सेन उद्यान, पुराना कलात्मक घरहरु, पाटी–पौवा, सत्तल, गुम्वा, पुरानो घ्यू पकाउने कराई, जात्रा–महोत्सव आदि पर्यटकीय सम्पदा हुन् । मणिमुकुन्द सेन उद्यानले वर्षमा लाखौं पर्यटकहरु भित्र्याएको तथ्यांक छ । आकर्षक पर्यटकीय गन्तव्य बन्न सक्छ, आगामी दिनमा बटौली बजार ।

खस्यौली नयाँ विकसित बजार भएकाले यहाँ व्यापारको लागि मात्रै अनुकुल पूर्वाधार निर्माण गरिएका छन् । बटौलीमा एउटा समृद्ध नगरमा हुने सबै सम्पदाहरु छन् । त्यसैले यसको सम्भावना भनेको आगामी दिनमा पर्यटकीय गन्तब्य नै हो । यसैमा केन्द्रित रहेर अव पूर्वाधार निर्माण गरिनु पर्दछ । प्रचार–प्रसार गरिनु पर्दछ । त्यसका लागिनिम्नलिखित गतिबिधि सञ्चालन गर्न सकिन्छ :

१. सातामा एकदिन विदा मनाउन खस्यौलीका व्यवसायी तथा नागरिकहरु बटौली बजार घुम्न जाने । यसलाई अभियानको रुपमा सञ्चालन गर्ने । यसको नेतृत्व बुटवल उद्योग वाणिज्य संघले गर्ने ।

२. बुद्धकालिन प्रसिद्ध बुटवल नगरको रुपमा यसको विकास र प्रवद्र्धन गर्ने ।

३. प्राचिन तथा पुरातात्विक शहरका रुपमा यसको पर्यटकीय विकास र प्रवद्र्धन गर्ने ।

४. पुरातात्विक गणेशमन्दिर, कृष्णनारायण मन्दिर लगायत पद्मचैत्य विहार, मजार आदि मठमन्दिर, गुम्बा, पाटी–पौवा, सत्तलहरुको संरक्षण र जिर्णोद्धार गरि पर्यटकीय आकर्षण बढाउने । मन्दिरहरुमा सन्ध्याकालिन आरतीको व्यवस्था मिलाउने, जसले गर्दा साँझको रमाईलो वातावरणमा रमाउन मानिसहरु आकर्षित हुन सक्छन् ।

५. होमस्टे, नेवारी रेष्टुरेन्ट एवं खाजा घरहरुको बिकास र प्रवद्र्धन गर्ने ।

६. बटौली संग्रहालयको स्थापना गर्ने । ७. जीतगढी (बुटवल गढी) संग्रहालयको स्थापना गर्ने ।

८. परोपकार भवनको जिर्णोद्धार एवं संरक्षण गर्ने ।

९. खस्यौलीको टक्सार भवनलाई पनि पर्यटकीय भ्रमणको सूचीमा समावेश गर्ने ।

१०. महाविर पुस्तकालयको संरक्षण र प्रवद्र्धन गर्ने ।

११. बटौली बजारका पुराना घरहरुको मौलिकता बचाउने गरी नयाँ संरचना बनाउने । यसको मौलिकपनलाई संरक्षण र प्रवद्र्धन गर्ने ।

१२. जीतगढी (बुटवल गढी) किल्लाको भ्रमण गर्न आउने पर्यटकहरुको बसाई अवधि लम्ब्याउन उक्त पूर्वाधारहरुको विकास गर्न जरुरी छ । निकट भविश्यमा बुटवलमा सिद्धार्थ र लुम्बिनी गरी दुई वटा केवलकार सञ्चालनमा आउँदैछन् । भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको तयारी भईरहेको छ । बुटवलमै अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र औद्योगिक प्रदर्शनी स्थल निर्माण हुँदैछन् । यसले पनि बुटवलमा पर्यटकीय गतिबिधि बढाउने छ । बुटवल पर्यटकीय विश्राम स्थल बन्ने छ । त्यसबेला पर्यटकलाई कहाँ घुमाउने ? के विक्रि गर्ने त ? यसबारे चिन्तन मनन् हुनु आजको आवश्यकता हो । अतः गन्तव्य बटौलीको प्रवद्र्धन गरौं । अस्तु ।-(सन्दर्भ सामग्री संस्मृति सिद्धबाबा धाम,बुटवल )

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।