ताजा अपडेट »

दादुरा रुबेला विरुद्धको अभियान

मंगलबार, २२ फागुन २०८०, ०८ : ३६
176 Shares

सुन्दर तरामु मगर
दादुरा रुबेला रोग सुक्ष्म विषाणु भाइरसको कारणले गर्दा लाग्ने रोग हो । दादुरा रुबेला रोग सरुवा रोग हो । एक ब्यक्तिबाट अर्को ब्यक्तिमा तत्काल सर्दछ । यी  रोगहरु सामान्यतया पांच वर्ष मुनिका बालबालिकाहरुमा  छिट्टै महामारीको रुप लिन सक्छ । दादुरा Paramyxo virus र रुबेला Toga virus ले गर्दा लाग्दछ । दादुरा रुबेला रोग उस्तै उस्तै प्रकारको रोग हो । बाल मृत्युको मुख्य कारण मध्ये यो रोग एक हो ।  

दादुरा रुबेला रोगको संक्रमण भएको ब्यक्तिको नाक तथा घांटीमा यी रोगका भाइरस हुन्छन् । यी भाइरसहरु श्वास प्रश्वास नली एवं शरीरको अन्य अंगहरुमा पनि फैलिन्छन् । जब उक्त रोगीको सम्पर्कमा आउछन् वा रोगीले खोक्दा वा हाच्छिउ गर्दा निस्कने छिर्का हावाको माध्यमबाट रोगका भाइरसहरु अर्को ब्यक्तिमा सर्दछ । यसरी यी रोगहरु तिब्र गतीमा महामारीको रुप लिने गर्दछ । दादुरा रुबेला रोग रोग लाग्दा सामान्यतया उच्च ज्वरो, रातो डाबर वा बिमिराहरु (Maculopapular rash), नाकबाट पानी बग्ने, खोकी लाग्ने, आंखा रातो हुने, घाँटीका ग्रन्थीहरु बढ्ने गर्दछन् । सर्बप्रथम बिमिरा अनुहार र गर्दनमा आएपछि शरीर भरी फैलिन्छन् ।

दादुरा रुबेला रोगको अहिलेसम्म उपचार पद्दतीको विकास भैसकेको छैन । यी रोगबाट जोगिने उपाय भनेकै रोकथामका उपायहरु अपनाउनु हो । दादुरा रुबेला रोग लागि सकेपछि बिभिन्न किसिमका जटिलताहरु आउने गर्छन् । जसमा अन्धोपना, निमोनिया, कानको संक्रमण, मस्तिष्क सुन्निने Encephalitis, कम्पन्न आउने, हाडजोर्नी सुन्निने दुख्ने, रगत जम्ने क्षमतामा कमी आउने, गर्भपतन हुने वा मृत शिशु जन्मिने, गर्भ रहेको पहिलो तीन महिनामा  रुबेला रोग लागेको ब्यक्तिसंग संम्पर्कमा आएमा उक्त आमाबाट जन्मिने बच्चा जन्मिदै बिकलाङ्ग जन्मिन्छ जसलाई  Congenital rubella syndrome  भनिन्छ । जसमा  बच्चा जन्मिदै बिकलाङ्ग जस्तै अन्धोपन, मुटु, मस्तिष्क ,फोक्सो तथा अरु अंगहरुमा बिकृती हुन्छ ।

एउटा बच्चा परिवारमा बिकलाङ्ग अपाङ्ग रोगी भएमा कस्तो परिवार बन्छ कल्पना गरौं । ब्यक्ति परिवारको समय, आर्थिक, सामाजिक तथा बृहत्तर क्षेत्रमा गम्भीर प्रभाब पार्दछ । त्यसो भएको हुनाले विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वि एसियाको क्षेत्रीय बैठकमा नेपालले सन २०२६ सम्ममा दादुरा रुबेला रोग निवारण गर्ने प्रतिबद्धता गरे बमोजिम तथा दक्षिण पूर्वि एसियाको क्षेत्रीय कार्यलयले सन २०२६ सम्ममा दक्षिण पूर्वि एसियाबाट दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य लिएबमोजिम यो अभियान संचालन गरिएको छ । त्यसैले नियमित दादुरा रुबेला खोपको पहिलो मात्रा र दोश्रो मात्राको कभरेज सबै तहमा ९५ प्रतिशतभन्दा बढी पुर्याउन सकिएमा मात्र जनसमुदायमा यी रोग विरुद्धको प्रतिरोधात्मक क्षमता अभिबृद्धि हुने भएकोले पूरक मात्राको रुपमा दादुरा रुबेला खोप अभियान संचालन गरिएको हो ।

दादुरा रुबेला खोप अभियान २०८० विश्व स्वास्थ्य संगठन, दक्षिणपूर्वी एशियाको खोप योजना २०२२-२०३० मा उल्लेख गरिएका आधारभुत विशेषताहरुलाई अनुसरण गरेको छ । साथै राष्ट्रिय खोप रणनीति २०२३-२०३० ले मुख्यतः कुनै खोप नलिएको (zero Dose), लैङ्गिक समानता (Gender Equity), जीवन पर्यन्त (Life Course Approach) र कोही पनि नछुटुन -Leaving No One Behind_ भन्ने विषयलाई केन्द्र विन्दुमा राखेर दादुरा रुबेला खोप अभियान २०८० फाल्गुण १३ देखि २०८० चैत्र ९ गते सम्म संचालन भइरहेकोछ ।

नेपालका जिल्लाहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा पहिलो समूहमा उच्च जोखिममा रहेका तराइका २१ जिल्लासहित काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका र न्यून जोखिम भनी पहिचान गरिएका बाँकी ५३ जिल्लाहरुमा ९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकाहरु विद्यालयको हकमा लक्षित समूह कक्षा १० सम्मका विद्यार्थी हुने गरी  ५,७४२,९९३ जनालाई दादुरा रुबेला खोप लगाउने लक्ष्य राखिएको छ । यसको संगसंगै नियमित खोप सुदृणिकरण गर्न एकिकृत खोप अभियानको रुपमा ९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाहरुको खोपको स्थिती पहिचान गरी छुट खोपहरु मध्ये डि.पि.टी.हेप बी हिव, पि.सि.भि., आई.पि.भि खोप लगाइनेछ ।

नेपालमा बिभिन्न रोगको रोकथामको निम्ति २०३४ सालबाट बिस्तारित खोप कार्यक्रम मार्फत ४ वटा रोगको बिरुद्ध BCG, DPT खोप लगाउन शुरु गरिएको हो भने राष्ट्रिय खोप कार्यक्रमको रुपमा २०३६/०३७ सालबाट POLIO MEASLES थपियो । २०४५ बाट ६ वटा रोगको बिरुद्दमा ७५ वटै जिल्लामा शुरु गरियो । अहिले विश्वमा २५/२६ रोगका बिरुद्धमा खोप दिइरहँदा नेपालमा ११ प्रकारका रोगको बिरुद्धमा खोप दिइन्छ । हुनत नेपालले खोप तथा रोकथामको क्षेत्रमा राम्रै प्रगती गरेको छ । जसमा २०३४ मा बिफर उन्मुलन, सन् २००५ मा मातृशिशु धनुष्टङ्कार निवारण, २०१० देखि पोलियो शुन्य अवस्थामा, जापानिज इन्सेफलाइटिस रोग नियन्त्रण, Congenital rubella syndrome २०१८ देखि नियन्त्रण, बालबालिकामा Hepatitis B २०१९ देखि नियन्त्रणमा, २१७ देखि दादुरा रुबेला नियन्त्रणको अवस्थामा ल्याउन सफल भएको छ ।

नियमित रुपमा १६००० खोप केन्द्रहरुबाट खोप सेवा प्रदान गरिरहेको छ । अझैपनि लक्षित उमेरका बालबालिकाहरु मध्ये चार प्रतिशत बालबालिका खोप लिएका छैनन् । बि.स.२०६९ मा स्थानीय सरकारको अपनत्व र नेतृत्वमा विभिन्न सरोकारहरुको साझेदारी र सहयोगमा खोज र खोपको रणनीति अनुसार प्रत्येक वडा तहदेखि नै पूर्ण खोप सुनिश्चितता घोषणा र घोषण पश्चात दिगोपना कायम गरी बालबालिकाहरुले पूर्ण खोप पाएको सुनिश्चितता गर्ने कार्यलाई निरन्तरता दिइएको छ । यस अवधारणा अनुसार हालसम्म ७२४ स्थानीय तह, ७२ जिल्ला र गण्डकी, लुम्बिनी, कर्णली, सुदुरपश्चिम प्रदेश पूर्ण खोप घोषणा भइसकेका छन् ।

सन् २००३ को सर्बेक्षणले ५४१९ दादुराका रोगी भेटिएकोमा सन् २०१९ सेप्टेमबर मा ३६६ जना दादुराका रोगी  भेटिएका छन् । भने सन् २००८ मा ७८६ रुबेलाका रोगी भेटिएकोमा सन् २०१८ मा ३४ रुबेलाका रोगी भेटिएका छन् । तर नेपालको सन् २०१८ को राष्ट्रिय तथ्याङ्क अनुसार पहिलो दादुरा खोप ८१ प्रतिशत र दोश्रो दादुरा खोप ६६ प्रतिशत मात्र छ । जबकी दादुरा रुबेला रोग निबारणको लागि ९५ प्रतिशत भन्दा बढी बालबालिकाले खोप लगाउनुपर्छ । त्यसकारण ब्यापक बृहत रुपमा अभियानलाइ लिइ भब्य रुपमा सफल बनाउनु जरुरी छ ।

समाजको आधार बालबालिका हुन । उनीहरु स्वस्थ्य सबल भएमा परिवार, समाज, राष्ट्र नै स्वस्थ्य सबल र सम्बृद्द हुन्छ । नेपालको अन्तराष्ट्रिय प्रतिवद्धता पूरा गर्न तथा राष्ट्रलाई स्वस्थ्य बनाउनका लागि लक्षित वर्गका सबै बालबालिकाहरुलाई दादुरा रुबेला रोग बिरुद्धको खोप लगाऔं । राष्ट्रलाई दादुरा रुबेला रोगबाट मुक्त पारौ । उक्त अभियानमा सबै नागरीक आ आफ्नो तहबाट जुटौ । दादुरा रुबेला रोग निवारण गरौ । समाज राष्ट्रलाई स्वस्थ समृद्ध बनाऔं ।
[email protected]

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।