ताजा अपडेट »

लुम्बिनी प्रदेशका सांसदहरुलाई आगामी बजेटमा पौने २ अर्ब बाड्ने तयारी

विहीबार, ३१ जेठ २०८१, १२ : ०७
636 Shares
विहीबार, ३१ जेठ २०८१
636 Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई पौने २ अर्ब वितरण गर्ने तयारी गरेको छ । प्रत्यक्ष निर्वाचित सांसदलाई पौने ३ करोड र समानुपातिक सांसदलाई १ करोडका दरले वितरण गर्ने तयारी अनुसार सांसदहरुले आफ्ना योजना अर्थमन्त्रालयमा बुझाएका छन् ।

८७ सांसद रहेको लुम्बिनीमा ५२ जना प्रत्यक्ष निर्वाचित छन् । चालू आवमा समानुपातिकका लागि ७५ लाख र प्रत्यक्ष निर्वाचित सांसदका लागि प्रतिव्यक्ति २ करोड २५ लाख छुट्याइएको थियो । अहिले त्यसलाई बढाएर समानुपातिकतर्फकालाई प्रतिव्यक्ति १ करोड र प्रत्यक्ष निर्वाचितलाई २ करोड ७५ लाख पुर्याइएको छ । मधेश प्रदेशमा पनि संसद विकास कोषको झल्को दिने गरी बजेट बाँड्न लागेपछि सर्वोच्च अदालतमा मुद्दा परेको थियो । जसमा सर्वोच्चले मधेश सरकारलाई कारण देखाऊ आदेश जारी गरेको छ । सर्वोच्चमा मुद्दा विचाराधीन रहँदै लुम्बिनी प्रदेशसभा सदस्यहरुलाई बजेट बाँड्ने तयारी गरिएकोमा विरोध भएको छ ।

यता लुम्बिनी प्रदेश सरकारले सांसदहरुलाई बजेट वितरण गर्न दिने विषयको आलोचना भए पनि मतदातासँग प्रत्यक्ष जोडिने भएकाले ती सांसदहरुलाई आफ्ना क्षेत्रका साना योजना समेट्न यो खालको योजना अघि सारिएको तर्क गरेको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सांसदहरुलाई रकम उपलब्ध गराउने नीतिलाई निरन्तरता दिने भएको छ । बाहिर आलोचना भए पनि प्रदेशसभामा रहेका सांसदहरूले वडाध्यक्षलाई जति पनि आफूहरुलाई अधिकार नभएको भन्दै रकम वृद्धि गर्न सरकारलाई दबाब दिँदै आएका छन् ।

समानुपातिक सांसदहरूले प्रत्यक्ष सांसद बराबरको योजना दिनुपर्ने भन्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र नै बुझाएका थिए, तर उनीहरुको ज्ञापनपत्रको कुनै सम्बोधन भएको छैन । समानुपातिकमा अधिकांश महिला सांसद भएका कारण यस्तो विभेद गरिएको केही प्रदेशसभा सदस्यहरुले गुनासो गरेका छन् । प्रदेशमा प्रत्यक्ष र समानुपातिक सांसदहरूले आफ्नो तोकिएको रकम बराबरका योजनाहरू पार्टीको प्रमुख सचेतकमार्फत बुझाएको र त्यसरी गएका योजनालाई अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयमा पठाएको बुझिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।