ताजा अपडेट »

भैरहवा सेजभित्र उत्साहभन्दा पीडा : सञ्चालनमा रहेका उद्योग पनि बन्द हुने अवस्थामा

विहीबार, २० असार २०८१, ०९ : ००
3.13K Shares
विहीबार, २० असार २०८१
3.13K Shares

बुटवल । निजी क्षेत्रलाई प्रोत्साहन तथा सहजताका लागि भैरहवामा स्थापना गरिएको विषेश आर्थिक क्षेत्र (सेज) मा उत्साहभन्दा पीडा भोग्नु परेको व्यवसायीहरुले गुनासो गरेका छन् । सरकारले विभिन्न आश्वसन दिएर सेजभित्र उद्योग दर्ताको आह्वान गरेपनि विद्युत, खानेपानीको व्यवस्थापन, सुरक्षा, महङ्गो भाडादर आदि कुराहरुले उद्योगीहरु टिक्नै नसक्ने अवस्थामा पुगेको उनीहरुको गुनासो छ ।

२०५८ सालमा स्थापना गरिएको सेजको हालसम्म तीन पटक उद्घाटन गरिएको छ । सेजको वेवसाईडका अनुसार स्थापनाको २२ वर्षमा हाल सेजभित्र जम्मा सात वटा उद्योगहरु संचालनमा छन् । चौध वटा उद्योगले संचालनका लागि अनुमति लिएपनि विभिन्न कारणले ७ वटा उद्योगको लाईसेन्स रद्द गरिएको छ । हाल शक्ति मिनिरल, ग्लोबल विस्तार, व्रिलियन्ट लाईटिङ, पञ्चकन्या एसएस एक्सपर्ट, एस प्लोयमर्स, जय बुद्ध मेटल र तिरुपति प्रालि भैरहवा सेजभित्र संचालनमा रहेका उद्योगहरु हुन् ।

सरकारको अस्पष्ट उद्योग नीति, आयातमुखी सोंच, कच्चा पदार्थमा उच्च भन्सार दर, बैंकको उच्च ब्याजदर लगायतका कारण निजी क्षेत्र निरास हुँदै गएको उद्योगी अजयमान श्रेष्ठको गुनासो छ । २२ वर्ष पहिला स्थापना गरिएको सेजको पुर्नमुल्याङ्कन गनुपर्ने बताउँदै उनले सरकारले प्रतिवद्धता अनुसार आवश्यक पूर्वाधारको व्यवस्था गर्नुपर्ने औल्याए । सेज भित्र उद्योग स्थापनादेखिनै विभिन्न कानूनी उल्झन तथा पीडाहरु भोग्नु परेको श्रेष्ठले अनुभव सुनाए ।

विषेश आर्थिक क्षेत्रभित्र उद्योग स्थापना तथा संचालन र प्रर्वद्धन सम्बन्धी अन्तरक्रियामा कार्यपत्र प्रस्तुत गर्दै श्रेष्ठले निजी क्षेत्रको समस्या बारे उल्लेख गरेका हुन् । बजेट बनाउँदा आवश्यकताको पहिचान गर्न नसक्नु, बजेट निर्माणमा अनाधिकृत व्यतिmहरुको पहुँच रहनु, बैंकको उच्च व्याजदर, आयातमुखी सोंच, उत्पादनमा ध्यान नजानु, एउटै व्यतिm बैंक तथा उद्योग दोहोरो भुमिकामा रहनु, उद्योगमा प्रयोग हुने कच्चा पदार्थमा भन्सार शुल्क बढी हुनु, छुट प्रक्रिया झन्झटिलो हुनु लगायतका कारणले उद्योगीहरुको मनोवल घट्दै गएको उनले बताए । सरकारले आयातलाई प्रतिस्थापन गर्ने उत्पादनलाई प्राथमिकतामा राखेर सहुलियत प्रदान गर्नुपर्ने उनको सुझाब छ ।

एक तथ्याङ्क प्रस्तुत गर्दै श्रेष्ठले जेष्ठ मसान्तभित्र २ सय ५० उद्योगहरु बन्द भएको बताए । राजनीतक अस्थिरता, रेमिट्यान्स निर्भर सोंच र उद्योगमैत्री वातावरण नहुंदा नयां उद्योग दर्ता हुने क्रम पनि घट्दै गईरहेको उल्लेख गरे । ‘६० को दशकमा देशको जिडिपीमा उद्योगको योगदान १६.८ प्रतिशत रहेकोमा ७० को दशकमा १३ प्रतिशत हँदै अहिले आएर जम्मा ५ प्रतिशतमा खुम्चिनु राज्यकै लागि दुःखद हो ।’–श्रेष्ठले भने । ठूला छिमेकी मुलुक चीन र भारतमा देशको कुल जिडिपीमा क्रमश ४४ र २२.७३ प्रतिशत योगदान रहँदा नेपाल आयातमुखी हुदै गएको पुष्टी हुने उनले बताए । देशभर रहेका ६० हजार १ सय ८५ सानाठूला उद्योगहरु सबै दयनीय अवस्थामा रहेको उनले बताए । सेजभित्रका उद्योगको पनि अवस्था उस्तै रहेको छ श्रेष्ठले उल्लेख गरे ।

सेजभित्र उद्योग संचालन गरिरहेका पञ्चकन्या गु्रपका महाप्रबन्धक देवेन्द्र साहुले उद्योग सञ्चालन गर्न निकै कठिन भएको गुनासो गरे । पञ्चकन्या स्टिल उद्योग संचालन गर्दै आएको गु्रपले विद्युतको समस्या, महंगो भाडादर, उचित व्यवस्थापनको अभाव आदि कारणले उद्योग बन्द गर्न चाहेको बताए । सेजमा प्रवेश गर्दा धेरै उत्साह रहेपनि सुरुवातदेखि अहिलेसम्म भोग्नु परेका समस्याका कारण उद्योग वाहिर सार्ने मनस्थितिमा पुगेको महाप्रबन्धक साहुले गुनासो गरे । सेजको ऐन अस्पष्ट हुँदा साना भन्दा साना समस्याहरु समेत उद्योग संचालनमा बाधक बनेको उनको भोगाई छ ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले विषेश आर्थिक क्षेत्र सेज र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल यस क्षेत्रका विकासका आधार भएपनि दुबै संचालन हुन नसक्दा उद्योगी व्यवसाहयीहरु निरास हुनुपरेको बताए । २०५८ सालमा स्थापना भएको सेज अहिलेपनि उस्तै अवस्थामा रहनु दुर्भाग्य भएको उल्लेख गरे । ‘नीति निर्माण गर्ने व्यतिmहरुले उद्योगको विषयमा अध्ययन गर्न जरुरी छ ।’–अध्यक्ष श्रेष्ठले भने ।

उद्योगीहरु शक्ति मिनिरलका जिएम दिपक कुमार झाले सेजभित्र उद्योग स्थापना गर्नु बाहिरको तुलनामा कुनै सहुलियत नपाएको बताए । सेज आफैमा स्वायत्त रहेपनि कागजी प्रक्रियामा स्थानीय तहदेखि मन्त्रालयसम्म पटक–पटक धाउनु पर्ने वाध्यता रहेको उनले गुनासो गरे । उद्योगी केशव भट्टराईले विषेश आर्थिक क्षेत्र भनिएपनि भन्सार तथा आन्तरिक राजश्व कार्यालयमा दोहोरो करको मारमा परेको गुनासो गरे । सेज सम्बन्धी ऐन कानुन अस्पष्ट भएका कारण उद्योगीहरुले चारैतिर धाउनु पर्ने बाध्यता रहेको उनले बताए । ‘जबसम्म सेजमा उद्योग स्थापना गर्नका लागि सबै सुविधाहरु सेजबाटै उपलब्ध गर्न सकिदैन तबसम्म यसप्रति उद्योगीहरुको आर्कषण हुँदैन, बुकिङ गरेका प्लट पनि सेजलाई फिर्ता गर्ने अवस्था आउँछ ।’–भट्टराईले भने । सेज व्यवस्थापन पक्षले सुरक्षा तथा फोहोर व्यवस्थापनका लागि ल्याण्ड साईडको तत्काल व्यवस्था गर्नुपर्ने उद्योगी रोज कडेंलको सुझाब छ ।

सेज प्राधिकरणका निमिक्त कार्यकारी निर्देशक तुलसीराम मरासिनीले उद्योगीहरुको समस्या सुनेपछि यहाँबाट हुन सक्ने साना तिना समस्याको तत्काल सुधार गर्ने प्रतिवद्धता जनाए । सबै समस्याहरुलाई लिपिवद्ध गरेर समितिमा पेश गरी समाधानको लागि पहल गर्ने समेत उनले उद्योगीहरुलाई आश्वसन दिएका छन् । ‘अबका दिनमा सेजप्रति उद्यागीहरुको आर्कषण बढ्ने गरी सुधारका कामहरु अगाडि बढाउने छु ।’–निर्देशक मरासिनीले भने । यस्तै राष्ट्रिय योजना आयोगका सहसचिव हेमराज सुवेदीले समस्याहरु समाधानका लागि आफ्नो तर्फबाट सहजीकरण प्रतिवद्धता गरे । उद्योगीका समस्या लिपीवद्ध गरेर उद्योग मन्त्रालयमा पठाउन उनले सुझाव दिएका छन् । आयोजना निर्माणमा नभै कार्यान्वयनमा समस्या भएको उनले बताए । भन्सारसँग सम्बन्धि समस्याहरु समाधानका लागि नीतिगत र व्यवहारिक समस्याको पहिचान गरी समाधन गरिने भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले बताए ।

 

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।