दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले श्रमिक अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । विश्व मजदुर दिवस को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्धता रहेको उनले बताएका हुन।
प्रत्येक वर्ष मे १ तारिखमा मनाइने विश्व मजदुर दिवस श्रमिकको पेसागत मर्यादा, सम्मान र अधिकारको प्रत्याभूति गराउने दिवसको रूपमा स्थापित भएको उल्लेख गर्दै यसले विश्वभरिका श्रमिकहरूलाई हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ एकताबद्ध गर्न प्रेरणा दिने विश्वास समेत व्यक्त गरेका छन् ।
उनले नेपालको संविधानले सम्पूर्ण नागरिकका लागि रोजगारी र श्रमको हक सुनिश्चित गर्नुका साथै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई सुनिश्चित गरेको कुरामा जोड दिए । त्यस्तै, समान कामका लागि लैङ्गिक आधारमा पारिश्रमिक तथा सामाजिक सुरक्षामा कुनै भेदभाव नहुने संवैधानिक प्रावधानको स्मरण गराउँदै उनले सबै श्रमिकहरूका हक अधिकार सुनिश्चित गर्न समानताको हकले समेत ग्यारेन्टी दिएको उल्लेख पनि गरेका छन् ।
मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले संविधानले दिएको अधिकारलाई कार्यान्वयन गर्दै प्रदेशको समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी आत्मनिर्भरताको लक्ष्यलाई प्राथमिकतामा राखेको जानकारी दिए ।
उनले उद्यमशीलताको माध्यमबाट समुदाय स्तरमा पुँजीको विकास गर्दै स्थानीय उत्पादनको कार्यमा सबैलाई जोड्न आवश्यक रहेको औँल्याउँदै यस अभियानलाई अघि बढाउन उद्यमी तथा श्रमिक जनशक्तिको महत्त्वपूर्ण भूमिका रहने स्पष्ट पारे ।
मुख्यमन्त्रीले आचार्यले मर्यादित श्रमको वातावरण निर्माण गर्दै उत्पादन र उत्पादकत्व वृद्धिका लागि प्रदेश सरकारले आवश्यक नीतिगत व्यवस्था गर्दै तिनको कार्यान्वयनमा समेत सक्रियता देखाइरहेको उल्लेख गरेका छन्।
प्रतिक्रिया