ताजा अपडेट »

कृषिमा जागेका किसान : स्पष्ट नीति दिन नसकेको सरकार

विहीबार, १७ फागुन २०८०, १४ : ५१
402 Shares

पछिल्लो समय कृषि क्षेत्रको महत्व बढ्दै गएको छ । नेपाल कृषि प्रधान देश हो । नेपालको अर्थतन्त्र कृषिमा आधारित छ । आयात घटाउन र कृषिजन्य बस्तुको निर्यात बढाउन पनि कृषिको निकै महत्वपूर्ण भूमिका छ । तर राज्यले नत कृषि क्षेत्रको बिकासमा स्पष्ट योजना बनाउन सकेको छ, न त मुलुकमा कृषिशिक्षा नै अनिबार्य गर्न सकेको छ । कृषि क्षेत्रले कोरोना संक्रमणपछि झनै महत्व पायो र यो क्षेत्रप्रति आकर्षण पनि बढ्यो । कृषि क्षेत्रको बिकासलाई अर्थतन्त्र र आर्थिक बिकासको मूल आधारको रुपमा लिएको छ ।
 
कृषि क्षेत्रको उत्पादन, अवस्था र उत्पादित बस्तुको बजारीकरण कृषि क्षेत्रको बिकासको लागि अपरिहार्य पक्ष हो । कृषि उत्पादनको उचित बजारीकरण बिना कृषकले आफ्नो श्रमको मुल्य पाउन सक्दैनन् । तसर्थ नेपाल सरकारले आफ्ना नीति कार्यक्रमका योजना  बनाउँदा कृषि उपजको बजार र बजारीकरणको बिकासलाई महत्वका साथ ध्यान दिन आवश्यक छ ।

कृषि बजारमा निजीक्षेत्रको पहल आवश्यक :
देशभित्र तरकारी तथा फलफुल जस्ता मुल्यवान बस्तु उत्पादन र बिक्रि बितरणमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको छ । तर सरकारले निजी क्षेत्रको महत्वलाई बुझेर आत्मसाथ गर्न सकिरहेको छैन । अहिले मुलुकका ७७ वटै जिल्लामा सानाू–ठूला निजी क्षेत्रको लगानीमा कृषि बजार संञ्चालनमा छन् । संस्थागत रुपमा संघीय सरकारी बजारको संख्या जम्मा मुलुक भर ११ वटा मात्र रहेका छन् । तर पनि सरकारले चासोका साथ निजी क्षेत्रको बजारलाई उपयोग गर्न सकिरहेको छैन ।  

हालै मात्र लुम्बिनी प्रदेश रुपन्देहीको तिलोत्तमा मणिग्राममा करिव २० करोडको लगानीमा आधुनिक सुबिधा सम्पन्न नेपालमै ठूलो  ‘लुम्बिनी कृषि उपज थोक बजार’ स्थापना भएको छ । ३ बिगाह क्षेत्रफलमा निमार्ण भएको यो कृषि उपज थोक बजारमा १ सय ७८ सुबिधा सम्पन्न सटरहरु छन् । तर यस्तो बजारलाई सरकारले साथ, सहयोग र हौसला दिन सकेको भेटिँदैन । राज्यले गनुपर्ने  काम निजी क्षेत्रले गरिरहेका छन् । तर यस्ता बजारको महत्व राज्यले कहिले बुझ्ने ? ब्यवसायहरु यस्तै चिन्ता र गुनासो गर्छन् ।  

बिभिन्न जिल्लामा पालिका, सरकारी तथा गैरसरकारी संस्थाहरुको सहयोगमा कृषि र पशु पालनका क्षेत्रमा जमेरै लागेका किसानहरु पनि छन् । विदेशबाट फर्केका यूवाहरु पनि आधुनिक तरिकाले अलि बिस्तारित रुपमा कृषि कर्ममा लागेका छन् । तर पनि कतिपय मेहनती  किसानहरुले मल, बीउ, खाद, कृषि कर्जाको अभाव झेलिरहेका छन् । सरकारले न त कृषि मैत्री नीति बनाउन सकेको छ न त कृषि क्षेत्रमा सम्भावना देखेर अगाडि बढेका किसानलाई हौसलानै दिन सकेको छ ।

कृषिमा सम्भावना बोकेको नेपालमा कृषि क्षेत्रमा लागेका मेहनती किसान र ब्यवसायीलाई सरकार र सरोकारवाला निकाय कृषि मन्त्रालय, निर्देशनालय, कृषि ज्ञान केन्द्रहरुले साथ र सहयोग गर्ने हो भने यो पेसा ब्यवसायबाट राम्रो आम्दानी लिन सकिन्छ । तरकारी, फलफुल, आलु, प्याजमा बिदेशी आयात घटाउने स्वदेशमै रोजगारको अवसर सिजर्ना गरे ठूलो धनराषि बिदेशीनबाट जोगिन सक्छ । फेरि नेपालको तराई पहाडमा प्रसस्त कृषियोग्य भूमी त्यसै बाँझिएर खेर गएको सबैलाई जगजाहेर नै छ ।

मुलुकबाट यो वर्ष ८ अरवको इलाइची, ३ अरवको चिया कफि लगायतका बस्तु निर्यात भएको छ । ३ सय ४१ अरवको खाद्यान्न  लगायतका कृषिजन्य बस्तु विदेशबाट आयात भैइरहेको छ । यो  तथ्याङ्कले पनि नेपालमा जैबिक लगायतका कृषिजन्य बस्तुको आयात घटाउन निर्यात बढाउन सकिने निकै सम्भावना रहेको बताउँछन्, नेपाल उद्योग बाणिज्य महासंघ कृषि उद्यम केन्द्रका कामु कार्याकारी  अधिकृत दिपेन्द्र जोशी । उत्पादनदेखि उपभोक्ता कहाँ पुग्दाको सबै कार्य बजारीकरण भएकोले त्यो प्रकृयामा सामेल सबैले आफ्नो भूमिका अनुसार मूल्य पाउन सके कृषि कार्यले निरन्तरता पाउने समेत उनको भनाई छ ।  

उता नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेश सभापति झलक लाल श्रेष्ठले नेपालमा कृषि क्षेत्रमा निकै सम्भावना रहेको बताउँदै निजी क्षेत्रको कृषि बजारको बिकासमा नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतका ७७ जिल्लामा रहेका शाखाले जिल्लामा रहेका निजी तरकारी बजार ब्यवस्थापनमा साथ दिँदै किसान र ब्यवसायीको पुलको रुपमा काम गर्न आवश्यक रहेको बताउँछन् ।

किसानको संरक्षण आवश्यक :
ब्यावसायिक रुपमा कृषि कर्म गरेर वार्षिक २० औं लाख आम्दानी गर्ने मेहनती किसान बिभिन्न जिल्लामा छन् । तिनका उत्पादन बिक्री  गर्ने ठूला बजारहरु काठमाडौं, पोखरा, बिराटनगर, चितवन, बुटवल लगायतका ठाउँमा रहेका छन् । तर सरकारले निजी क्षेत्रमा करौडौं  करोड रुपैयाँ खर्च गरेर खुलेका बजारलाई खानेपानी, विद्युत होस वा सरसफाई र जग्गा भाडामा समेत सामान्य सुबिधासम्म सम्बोधन  गरेको पाइँदैन ।  

लुम्बिनी च्याउ तथा अर्गानिक भण्डारका सञ्चालक ऋषव पोखरेलले सैनामैनाको झारगैरामा जग्गा भाडामा लिएर बृहत रुपमा च्याउ फर्म सञ्चालनमा ल्याएका छन् । १८ वर्ष पहिला वैदेशिक रोजगारको क्रममा कतारबाट सेक्युरिटीको जागिर छोडेर नेपालमै केही गर्ने उद्देश्यले नेपाल फर्केका  ऋषवले च्याउ खेती गर्न सुरु गरेका हुन ।
च्याउ खेतीमा लुम्बिनी प्रदेशमा गुरु नै मानिने ऋषव पोखरेलले रुपन्देही, अर्घाखाँची, पाल्पा, कपिलबस्तुमा पनि  बृहत  रुपमा  च्याउ  खेती सूरु गरेका छन् । लुम्बिनी प्रदेका बिभिन्न जिल्ला र पोखरामा समेत उनको च्याउले बजार पाएपछि यो खेती बिभिन्न जिल्लामा  विस्तार गरेका छन् । रुपन्देहीको मणिग्रामस्थित लुम्बिनी कृषि उपज थोक बजारमा उनको बिक्रि कक्ष समेत छ । उनले यहाँ मात्र २० हजार डोम च्याउ उत्पादन गर्ने लक्ष्य राखेको बताउछन् ।

त्यस्तै  रुपन्देहीको बुटवल उप–महानगरपालिकाको बेतहानीमा करिव १२ बिगाह जग्गा भाडामा लिएर बृहत रुपमा मौसमी–बेमौसमी तरकारी खेतीमा लागेका सुदर्शन पन्थ सरकारले किसानहरुलाई अनुदान भन्दा पनि शुन्य प्रतिशत ब्याज दरमा ऋण दिन आवश्यक रहेको बताउँछन् । यी त उदाहरण मात्र हुन अन्य थुप्रै जिल्लामा माटोमै रमाएका किसानहरुको कथाहरु पनि धेरै छन् । यस्ता किसानलाई सरकार र निजी क्षेत्रले चिनेर हौसला बढाउन सके कृषि क्षेत्रमा मूल्य र रोजगारको राम्रो सम्भावना भेटिन्छ ।

नेपालका कतिपय कृषि पैदावार अदुवा, बेसार, कफी, च्याउ, खुर्सानी, स्याउ, सुन्तला, तामा, गेडागुडी लगायतका कृषि पैदावार विदेश निकासी गरेर राम्रो आम्दानी लिन सकिने सम्भावना भएकोले सरकार निजी क्षेत्रसँग मिलेर अगाडि बढ्न सके विदेशी मुद्रासमेत आर्जन  गर्न सकिने बलियो आधार रहेको छ । हुन त मुना कृषि बजारको (निजि क्षेत्र)ले केही महिनादेखि काठमाडौंबाट अर्गानिक कृषि उत्पादन  बिदेशी बजारमा निर्यात सुरु गरिसकेको छ ।

हालै बुटवलमा सम्पन्न राष्ट्रिय प्राङ्गारिक कृषि मेला २०८० मा  भएको सहभागिता र अर्गानिक उत्पादनप्रति उपभोक्ताको चासोले पनि अर्गानिक कृषिमा सम्भावना देखिन्छ । यो कृषि मेला १५ हजार उपभोक्ताले अवलोकन गरेको र १५ लाखको कारोबार भएको जानकारी दिँदै आयोजक संस्था बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले आयोजक र सहभागिमा हौसला बढाएको बताए । यस्ता मेला महोत्सवले किसान, ब्यावसायी र उपभोक्ता माझ बजारीकरण र पुलको  काम गर्ने उनी बताउँछन् ।

कृषिको उत्पादन लागत घटाउन आधुनिक कृषि प्रविधि, कृषि औजार र कृषि मेशीनरी सम्बन्धी जानकारी तथा पशुपन्छी तथा मत्स्यजन्य  बस्तु उत्पादन, बजारीकरण तथा कृषिमा आधारित उद्योगमा लगानी गर्न पनि यस्ता मेला सहयोगी हुन्छ नै । कृषि कार्यमा जमेर लागेका किसालाई बजार र मूल्यको सुनिश्चितता दिन आवश्यक छ । यसो गर्न सकिए भोली गुणस्तरीय कृषि पैदावार निरन्तर उत्पादन हुन सक्छ र नेपाली उत्पादनले स्वदेशी र बिदेशी बजारमा आफ्नो निरन्तर पहिचानसँगै प्रतिस्पर्धा गर्न सक्दछ ।

रुपन्देहीको भैरहवमा गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण भैइसकेकोले लुम्बिनी र कर्णाली प्रदेशका महत्वपूर्ण कृषि उत्पादनलाई  बुटवलमा रहेको थोक बजार र तिलोत्तमा नगरपपालिकाको मणिग्रममा हालै स्थापना भएको लुम्बिनी कृषि उपज थोक बजारलाई प्रयोग  गरेर यस क्षेत्रबाट पनि कृषिजन्य उत्पादन विदेश निर्यात गर्न सकिने बलियो आधार रहेको छ ।

हाल मुलुकको अर्थतन्त्रको करिव २४ प्रतिशत हिस्सा कृषि क्षेत्रले ओगटेको छ भने करिव ६० प्रतिशत जनता कृषिमा लागेका छन् । सरकारले कुल बजेटको १० प्रतिशत मात्र लगानी कृषि क्षेत्रमा गरेको छ । जुन न्यून बजेट हो । जुन बजेट पनि स्पष्ट नीति अनुसार  भरपर्दो र विश्वासिलो आधारमा खर्च नहुँदा लक्षित र वास्तबिक किसानले लाभ पाउन सकेका  छैनन् । यसर्थ सरकारले कृषि क्षेत्रको  बिकासका लागि आधुनिक प्रविधिको उच्चतम प्रयोग गरि वास्तबिक किसानले लाभ पाउने गरि किसान मैत्री नीति बनाएर अगाडि बढ्न जरुरी छ ।

 

दामोदर खनाल
लेखकको बारेमा
दामोदर खनाल
स्तम्भकार