ताजा अपडेट »

चितवन घटनाले उब्जिएका प्रश्नहरु

शुक्रबार, ०५ कार्तिक २०७८, १४ : १९
6 Shares

हिन्दु धर्मका महान पर्वहरू भित्रिएसँगै नेपालकका सम्पूर्ण हिन्दू धर्मावम्लबीहरू चाडपर्वको रमझममा बिताएका छन् । तर, तिनै हिन्दु धर्म भित्रका सिंगो दलित समुदाय भने यतिबेला शोकमा डुबिरहेको अवस्था छ । देशको मध्य भागमा रहेको चितवन जस्तो सुगम र शिक्षित ठाउँमा जातिय विभेदको कारणले मान्छेको हत्या हुन्छ भने हामीले अन्य दुर्गम क्षेत्रबाट के आशा राख्ने ?

चितवनको लंकु भन्ने ठाउँमा रहेको दुर्गा मन्दिर जहाँ वर्षौंदेखि दलितहरूलाई दुर्गा पूजा गर्न र पशु वलि दिन रोक लगाइएको अवस्थामा दलितहरूले पनि वलि चढाउन र पुजा गर्न पाउनु पर्छ भनि आवज उठाएका स्थानीय बासिन्दा भिम बहादुर बिकको हत्या भएको छ । हत्या जातिय आधार र धार्मिक कारणले नभएको भन्दै त्यहाँका कथित उच्च जातिका स्थानीय बासिन्दाले घटनाको ढाकछोप गर्ने षडयन्त्र गरिरहेका देखिन्छ । उनिहरूका अनुसार भिम बहादुर बिक ले रक्सी सेवन गरि झगडा गरेको भन्ने रहेको छ । के रक्सी सेवन दलितले मात्र गर्दछन? रक्सी सेवन गरि झगडा गरेको निहुँमा मान्छेलाई मार्न नेपालको कानूनले छुट दिएको छ त ? हत्या हुने कारण जे सुकैहोस् तर, मान्छे मार्न पाइँदैन ।

यस्तो जघन्य घटनाको बिरोध केही अन्य गैर दलित ब्यक्तिहरू तथा दलितका संघ–संस्थाले मात्रै गरेको पाइएको छ । देशकै चौंथौ अंग मानिने पत्रकारहरूको यस घटना प्रति कुनै चासो देखिँदैन आखिर किन ? यस्ता विभेदजन्य घटनाको बारेमा नेपाली जनतालाई सू–सूचित गराउने, तथ्य सत्य बाहिर ल्याउने कु – संसकार को बिरुद्व कलम चलाउने पत्रकार तथा संचारकर्मी आखिर किन दलितको मुद्दाप्रति नेपालका स्थापित संचार गृह र पत्रकारको भूमिका देखिँदैन ।

नेपालका ख्यातिप्राप्त दलित कलाकारहरूको अन्तरवार्ता लिने, उनिहरसंग सम्बन्धित सामग्री प्रसारण गर्ने अनि भ्यूअर बढाई डलर कमाउने काममा सकृय देखिने केही सञ्चारकर्मीहरूको यति बेला यिनै दलित समुदायमा घटेको घटनाप्रति किन कानमा तेल हालि बसेका छन्, कि त उहाँहरूको कार्य क्षेत्र भित्र दलितहरूको पीडाका विषय पर्दैन?

त्यसो त हाम्रो दलित समुदायको ब्यक्तिहरू विभिन्न राजनीतिक पार्टीमा आवद्व दलित समुदायको अगुवाहरूले मन अमिलो पारेतापनि आ–आफनो ठाउँबाट बोल्नु भएको छैन। हुन सक्छ आ–आफनो राजनीति भविष्य खस्किने डर वा त्रासले खुलेर बोल्नु भएको छैन । देशमा रहेको ६० लाख दलितहरूले एक स्वरमा घटनाको विरोध गरेको खण्डमा घटनाको दोषीलाई कानूनी कठघरामा ल्याउने र अब उप्रान्त कोहि कसैले पनि यस प्रकारको घटना घटाउने हिम्मत समेत गर्दैन थिए।

नेपालमा दलित समुदायको अवस्था पशु भन्दा पनि तल्लो दर्जामा रहेको छ यहाँ पशु मार्दा कानून लाग्ने हाम्रो देशमा यस किसिमले दलितहरूको हत्या हँुदा पनि सरकारले खासै चासो देखाएको देखिँदैन । किनकि यहाँ दलितलाई मान्छेको दर्जा दिइएको छैन । जब चुनाव आउँछ दलितहरूलाई हात जोडेर भोट माग्दा बाहेक कहिले पनि दलितहरू नेपालको नागरिक हुन्, यिनिहरूलाई सम्मान गर्नु पर्छ, भन्ने सोँच यहाँका कथित केहि उच्च जाति एवम् सरकारको कहिले आउन सकेन फलत त्यसको नतिजा दलितहरू चुलो छेएको निहुमा अन्तर्रजातिय विवाह गरेको अवस्था मन्दिर प्रवेश पूजा–पाठ को विषयमा हत्या–हिंसा भइरहेको नै छ ।

दलितहरूको लागि हालसम्मको कुनै पनि सरकार खासै न्याय पाएको अनुभूति हुन सकेको छैन । आशा र भरोसामा बाँचिरहेका दलितहरूले अब बन्ने सरकार दलितमैत्री होला, दलितको सवालमा काम गर्ला, दलितहरूको शान्ति सुरक्षा ज्यू,धनको सुरक्षा होला दलितहरूको समानुपातिक सहभागिता होला भनेर गरेका सम्पूर्ण आशा भरोषाहरू निरासमा परिणत भएका छन् । दलितहरूको लागि ‘जुन जोगी आएपनि कानै चिरेको’ भने झै अन्ततः सम्पूर्ण नेपाली समाजमा भएको क्रान्ति र त्यसबाट प्राप्त उपलब्धिहरू दलितको लागि ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात’ भएको अवस्था छ ।

आखिर कहिलेसम्म दलित समुदायले जातको नाम बलि चढनुपर्ने ? बलि त्यसको चढाइन्छ जो निरिह, कमजोर र प्रतिकार गर्न सक्दैन । अब दलित समुदाय राँगो, बोका जस्तो होइन जो प्रतिकार गर्न नसकी बलि चढ्छन अब हामी बाघ र सिंह जस्तो गर्जिनु पर्दछ ताकि यो समुदायलाई हेपाह दृष्टिले हेर्ने आँट, हिम्मत कसैले नगरोस् जातका नाममा, धर्मका नाममा कुनैपनि दलितको हत्या नहोस् । अन्तर्रजातिय विवाहका कारण कुनै दलित युवाहरूको हत्या नहोस, चुलो पँधेरो, पानी छोइएको कारण कुनैपनि दलितले ज्यान गुमाउन नपरोस् यसको लागि पनि सम्पूर्ण दलितहरू एक भएर संघर्ष गर्नु आवश्यक छ ।

अन्तमा चितवनको घटनामा दोषीहरूलाई कडाभन्दा कडा सजाय र पीडित परिवारलाई क्षतिपूर्ति र मृतक भिम बहादुर बिकलाई साँस्कृतिक सहिद घोषणा गरिनुपर्छ । आगामी दिनमा यस्ता घटना नदोहोरीयोस् भन्ने उद्देश्यले दलित समुदायका अगुवाहरू, राजनीतिकर्मी, नागरिक समाजका अगुवाहरू, मानवअधिकारबादीहरू, विभिन्न धर्मका गुरूहरू, पत्रकार संचारकर्मी, समाजिक अभियान्ताहरू साथै सचेत नागरिकहरूबाट समेत यस्ता मानवता विरोधी घटनाको खुलेर विरोध गर्दै आम दलित समुदायहरुसंग सहकार्य समन्वय गरि विभेदजन्य घटनाको अन्त गरौं । दोषीलाई कडा भन्दा कडा सजायको माग गरौं ।–लेखकका निजी विचार तथा तर्क हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।