ताजा अपडेट »

दशैं पर्व : अशान्ति र गरिबीमाथि विजयी प्राप्त होस्

विहीबार, २८ असोज २०७८, २३ : २१
75 Shares

यस वर्षको बडा दशैंको मुख्य दिन,टिकाको दिनको पूर्वसन्ध्यामा छौं । विजयादशमीको रुपमा पनि मनाइने यस पर्वको आज ९औं दिन । ८ दिन अगाडि घटस्थापनादेखि सुरु भएको नेपालीहरुको महान पर्व दशैंको भोलि मुख्य दिन । यो आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो। दशैंलाई बडा दशैं, विजया दशमीसँगै दशहारा पनि भनिन्छ । यो परापूर्वकालदेखि मनाउँदै आइएको नेपालीहरुको महान पर्व हो । यो खासगरी आश्विन शुक्ल सप्तमीका दिनदेखि दशमीका दिनसम्मका फूलपाती, महाअष्टमी, महानवमी र विजयादशमी लगातार चार दिनको महापर्व हो । यो नेपालीहरूको सबैभन्दा ठूलो राष्ट्रिय चाड हो। घटस्थापनादेखिको दशौं ,टिकाको दिन मुख्य दिन मानिन्छ ।

त्रेता युगमा यहि दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा यस चाडलाई विशेष गरी मनाइन्छ । श्रीरामले दशैँ दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैलाई वडादशै एवम् विजयदशमीको नामले पूकारिन्छ । दशैंलाई असत्य माथि सत्यको बिजयको रुपमा हेरिन्छ । विजयदशमी भगवान रामको विजयको रुपमा मनाइयोस् अथवा दुर्गा पूजाको रुपमा, दुवै रुपमा यो शक्ति–पूजाको पर्व हो, शस्त्र पूजनको तिथि हो । हर्ष एवम् उल्लास तथा विजयको पर्व हो । हिन्दू सँस्कृति वीरताको पूजक अनि शौर्यको उपासक हो । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैंको उत्सव–पर्व सुरु भएको हो । महान खुशीको पर्व हो ।

दशैंको धार्मिक महत्वसँगै यसका विशेषताहरु पनि खास छन् । शक्तिपिठको पूजा–आजा,बलि प्रथा, टिका, जमरा, आशिर्वाद, पिङ, खानपिन लगाएत दशैं पर्वसँग धेरै विशेषता र महत्व जोडिएका छन् । धार्मिक रुपमा पूजा–आजासँगै दशैंको सामाजिक,सांस्कृतिक,आर्थिक महत्व पनि छ । त्यसैगरी मौसम र किसानसँग पनि जोडिएको पर्व हो दशैं । वर्षायामको समाप्तिसँगै किसान हर्षित हुने मौसम तथा समयमा पर्ने यस पर्वले एक–आपसमा पारस्पिरिक सम्बन्ध र एकताको भूमिका पनि खेल्दछ । स्वदेशमै टाढा रहेका आफन्त वा विदेशमा भएका आफ्ना मान्छे सबैलाई एकै ठाउँ बनाउने यो निकै महत्वपूर्ण पर्व हो । अर्कोतर्फ आफूभन्दा अग्रजसँग टिका तथा आशिर्वाद गर्ने मुख्य परम्पराले अग्रज र आफ्नो जन्मभूमिप्रति सम्झना र सम्मान गर्ने संस्कारलाई कायमै राख्दै आएको छ ।

यो पर्व सबैभन्दा लामो समयसम्म मनाइने पर्वका रुपमा पनि लिइन्छ । अर्को तर्फ नारी शक्ति र शसक्तिकरणको प्रतिकका रुपमा पनि यो पर्व केन्द्रित छ । दशैंमा नवदुर्गा (हिन्दु धर्म की शक्तिस्वरुपा देवी दुर्गा) को नौ वटा रूप शैलपुत्री, व्रह्मचारणी, चन्द्रघन्टा, कुशमन्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिधात्री विशेष पुजा तथा आराधाना गरिन्छ । नवदुर्गा भवानीका यी नव रूपको आश्विन शुक्लपक्ष प्रतिप्रदाकाका दिनदेखि महानवमीका दिनसम्म क्रमशः एक एक दिन गरी नौ दिनसम्म पूजा गर्ने गरिन्छ । दशौँ दिन विजयादशमीमा भगवतिले दानवी शक्तिमाथी र रामले रावणमाथी विजय हासिल गरेको उपलक्ष्य र खुसीयालीमा नवदुर्गा भवानीको प्रसाद स्वरुप मान्यजनबाट रातो टिका र जमरा लगाएर र आशिर्वाद थापेर मनाइन्छ । टाढा–टाढाबाट आउने पाउनाहरूले पूर्णिमा सम्मै पनि टीका लगाएर आशिर्वाद लिने–दिने प्रचलन छ ।

गत वर्षको दशैं विश्वव्यापी कोरोना महामारीका कारण निकै प्रभावित भएको थियो । संक्रमण रोकथाम र बच्नका लागि सरकारले घरमै सिमित राख्न आदेश गरेको थियो । यस वर्षपनि महामारीको जोखिम भने पूर्ण रुपमा हटेको छैन । अहिलेपनि देशमा संक्रमण छ । कोरोनाको दोस्रो लहरको समाप्तितर्फ रहेको अवस्थामा संक्रमण र जोखिम कायमै रहेपनि गतवर्ष भन्दा सहज छ । सरकारले पनि उच्च सावधानी अपनाएर मनाउन आग्रह गरेको छ । यस वर्ष दशैंले धेरैमा उत्साह र खुशी ल्याएको देखिन्छ । देशको केन्द्र,काठमाण्डौंबाट नै १० लाख भन्दा बढी बाहिरिएका छन् । अर्थात् अधिकांश आफ्नो घर वा जन्मघरतर्फ फर्केका छन् । देशका मुख्य शहर रित्तिएका छन् भने देशका अधिकांश ग्रामिण बस्तीमा दशैंको रौनक देखिएको छ ।

दशैं पर्वमा देखिएको रौनकसँग यसका पछाडि कैंयौं दुःख,पीडा,समस्या,विकृतिहरु पनि छन् । पछिल्ला वर्षहरुमा दशैं निको महङ्गो हुने गरेको छ । पहिले नयाँ कपडा लगाउनु पर्छ,पिङ खेल्नु पर्दछ,इष्टमित्र ,आफन्त भेटेर घरमा जेजस्तो छ त्यसैमा रमाइलो गरी मनाउनु पर्दछ भन्ने मान्यता र व्यवहार थियो । तर,आजकल पर्वमा गाडी किन्ने,टाढा–टाढा भ्रमण जाने , घरमै खसी–बोका काट्ने लगाएतका महङ्गा गतिविधि हुने गरेका छन् । पर्वको अवसरमा घरमा सवारी,भित्राउनु , मिठो खानु र घुम्नु सकारात्मक पक्ष हुन् । तर,यस्ता गतिविधिलाई महङ्गो बनाउनु, साखका रुपमा लिनु,देखाउनुले पर्वका नाम खर्च र भड्किलो भएको होकि भन्ने देखिन्छ । नेपाल अधिकांश क्षेत्र ग्रामिण र अत्यधिक जनता गरिबीको रेखामुनी रहेको मुलुक हो ।

कैंयौंले नयाँ तथा महङ्गो गाडी किनिरहेको अवस्थामा, पर्वका नाममा कैंयौं दिनदेखि खर्च गरिरहँदा दैनिक काम गरे मात्रै खान पुग्ने , एकदिन मिठो खान , राम्रो लगाउन पनि धौं–धौं हुने , जिविकोपार्जनकै लागि वैदेशिक रोजगारमा जाने गरिब तथा विपन्न वर्गलाई पर्वमा झन् पीडा हुन सक्दछ । आफ्नो क्षमताअनसार पर्व मनाउनु सबैको अधिकार हो । तर,आफ्नो क्षमता प्रदर्शन गर्दा आफूभन्दा कमजोरलाई पीडा नहुनेगरी मनाउनु उत्तम हुन्छ । अर्कोतर्फ पर्वले आफन्त,इष्टमित्र,छिमेकी सबैको मन जोड्ने महत्व राख्दछन् । तसर्थ दशैं केवल धार्मिक मान्यता र क्षणिक खुशियालीको माध्यम मात्रै नभई सबैको जीवनमा शान्ति कायम गर्ने आशिर्वाद र शक्तिको स्रोत बनोस् । दशैं आफन्तको विछोड र आर्थिक अभावले त्रसित हुने गरिबका लागि समृद्धिको प्रेरणादायी स्रोत बनोस् ,बास्तवमै सबैको साझा पर्व बनोस् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।