ताजा अपडेट »

कागबेनीमा श्रद्धालुको भीड

बुधबार, २० असोज २०७८, १२ : १८
6 Shares

बलेवा । सोह्रश्राद्धको अन्तिम दिन औँसी तिथिमा श्राद्ध गर्नका लागि मुस्ताङको कागबेनी भरिभराउ भएको छ । जोमसोमदेखि कागबेनी आसपासका होटल तथा रेष्टुरेन्टमा सर्वसाधारणको चाप बढेको छ । धार्मिक तीर्थस्थल बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी श्राद्धस्थलमा सर्वसाधारणको भीड लागेको हो ।

दसैँअघि सोह्रश्राद्धको औँसी तिथि पारेर कागबेनीमा पिण्डदान गर्नाले मोक्ष प्राप्ति हुने जनविश्वास छ । मुस्ताङ बाहिरका सर्वसाधारण सोह्रश्राद्ध सुरु भएदेखि नै सो क्षेत्रमा प्रवेश गर्न थालेका थिए । औंशीमा भने श्राद्धका लागि कागबेनी पुग्नेहरु धेरै नै भएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारीदिए । ‘‘अन्य वर्षमा जस्तो यस वर्ष छैन, कोरोना महामारीका कारण केही कडाइ गरिएको छ तर पनि मानिसको भीड छ’’, उनले भने, ‘‘यहाँ आउनकालागि कोरोना खोप लगाएको वा तत्कालै कोरोना नेगेटिभ भएको हुनुपर्नेछ ।’’ मङ्गलबार दिउँसै १०० बढी गाडी मुस्ताङ भित्रिएको उनले बताए ।

कागबेनी श्राद्धस्थल अन्य तीर्थस्थल भन्दा उत्तम भएकाले यहाँ श्राद्ध गर्न जानेको सङ्ख्या ठूलो रहेकोे कागबेनी क्षेत्रका संरक्षक ऋषि प्रपन्नाचार्यले जानकारी दिए । कागबेनी धार्मिकस्थल भगवान विष्णुलगायत सबै देवको बासस्थान भएको जनविश्वास छ । स्वामी उनका अनुसार शालिग्राम भगवानको शरीरमा मुक्तिनाथ भगवान रहेकाले यहाँ श्राद्ध, तर्पण, स्नान र भोजन गर्नाले मोक्ष प्राप्त हुने पद्यपुराण र बाह्रपुराणलगायतका ग्रन्थमा उल्लेख छ ।

कागबेनी श्राद्धस्थलमा बर्सेनि बडादसैँ र चैतेदसैँ सोह्रश्राद्ध औँसीमा श्रद्धालु तीर्थयात्रीको भीड लाग्ने गरेको छ । मुस्ताङमा स्याउ र च्याङ्ग्राको खोजीमा पुगेका व्यापारीदेखि दसैँको छेकोमा घुम्न जानेको उत्तिकै उपस्थिति रहेको प्रहरीले जनाएको छ । उद्योग वाणिज्य सङ्घ मुस्ताङका अनुसार सोह्रश्राद्धको औँशी अघिपछि र दसँसैँ बिदाको समयमा यहाँ आउने पर्यटक तथा तीर्थालुका लागि खाना बासको व्यवस्था गर्न नै कठिन हुने गरेको छ । कागबेनीमा श्राद्ध गरेपछि बुधबारै फर्कनेको ताँती लाग्छ । यसरी फर्केका अधिकांशले घटस्थापनाको दिन बागलुङकालीका दर्शन गरेर गन्तव्यमा लाग्ने गरेका छन् । घटस्थापनामा बागलुङमा निकै भीड लाग्ने गर्छ । -रासस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।