ताजा अपडेट »

तिनाउमा दुई दिने अचार बनाउने तालिम

मंगलबार, २८ जेठ २०७६, १६ : ५४
10 Shares

जेठ २८, बुटवल । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर १ मा दुई दिने अचार बनाउने तालिमको आज समापन गरिएको छ । सामुदायिक विकास कार्यक्रम (सिएमसी) को आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा वडाका ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कार्यक्रमको समापन अवसरमा बोल्दै वडा अध्यक्ष रोमबहादुर लम्तरीले तालिममा सिकेका सिपलाई व्यवहारमा पालना गर्दै व्यवसायीक रुपमा अचार उत्पादन गर्न सके राम्रो आम्दानी लिन सकिने बताए । आर्थिक विकास र परिवर्तनका लागि स्थानिय रुपमा प्राप्त स्रोत साधनलाई सदुपयोग गर्दै व्यवसायीकतातर्फ अग्रसर हुन सुझाएका थिए ।

आयोजक संस्था सिएमसिका सामाजिक परिचालक चिरञ्जीवि आचार्यले सानो लगानीबाट धेरै फाइदा लिन साना तथा घरेलु व्यवसाय उत्तम रहेको उल्लेख गरे । सरकारले व्यवसायीक उद्यमका लागि लगानी वृद्धिगर्नुपर्ने आवश्यकता औल्याउँदै उनले नागरिक स्तरबाट व्यवसायीक सचेतनाको आवश्यकता समेत औल्याए । कार्यक्रममा वडा सदस्य धनी वगाले, वडा कार्यालय सचिव हरिप्रसाद पौडेल, तालिमका सहभागी भीमकुमारी घर्ति लगायतले बोलेका थिए । गाउँपालिकाको ३० हजार रुपैयाँ आर्थिक सहयोगमा सञ्चालन गरिएको तालिममा दुर्गा आचार्य र इशा गौतमले सहजीकरण गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।