ताजा अपडेट »

हचुवाको भरमा नदी किनारमा हाटबजार, ९ करोडको संरचना डुबानमा

बुधबार, ०७ असोज २०७७, १५ : ०३
6 Shares

जोखिममा बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूपा

परासी । शहरी विकास मन्त्रालयले भौगोलिक अवस्थितिको ख्याल नगरी ९ करोड खर्चेर नदी किनारमा बनाएको हाटबजार डुबानमा परेको छ । पश्चिम नवलपरासीको रामग्राम–२ मा निर्माण गरिएको हाटबजार झरही खोलाले डुबानमा परेपछि निर्माण सम्पन्न नहुँदै संकटमा परेको हो । हाटबजारमा निर्माण गरिएका टहरा, गोदाम तथा व्यवसायिक सटर डुबानमा परेका छन् ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य रामजी ज्ञवालीले खोला किनारमा पानीको सतह आँकलन नै नगरी हाटबाजर निर्माण गर्दा सरकारको करोडौं लगानी खेर जान सक्ने बताए ।

नदी तथा हाटबजार निर्माणस्थलको भौगोलिक अवस्थिती नबुझिकन हचुवाको भरमा बनाएको योजनाले करोडौं रकम बालुमा पानी खन्याएको जस्तै हुन सक्ने उनलेबताए । स्थानीय सलिम मियाले हाटबजारमा खोलाको पानी पसेपछि गाउँ नै डुबानमा परेको उल्लेख गरे । ‘हाटबजार निर्माण गर्दा खोला साघुँरो थियो । त्यसैलाई आधार मानी संरचनाहरु निर्माण गर्दा अहिले बाढी पसेको हो ।’–उनले भने । यसरी नदीको प्रभाव क्षेत्रसमेत ख्याल नगरी संरचना बनाइनु सम्बन्धित पक्षको लापरबाही तथा बजेट सक्ने मेसो मात्रै भएको छ । त्यस क्षेत्रका जनप्रतिनीधि तथा वडा सदस्य सदस्य चन्द्र प्रकाश गुप्ताले करोडौं रुपैयाँ खर्च गरेर बनाइएको हाटबजारको संरचनालाई बचाउन ७/८ फिट अग्लो पक्की टटबन्ध निर्माण गर्नुपर्ने बताए ।

यसैगरी हाटबजारमा ३/४ फिट माटो पटान गरी संरक्षण आवश्यक रहेको बताएका छन् । उनले हाटबजारमा निर्माण गरिएका टहरा, गोदाम, ब्यबसायिक सटर सबै असुरक्षित भएको बताउँदै ३/४ फिट स्तर बढाएर खोलाको स्तरभन्दा माथि बनाउनुपर्ने उल्लेख गरेका छन् । यसैगरी त्यस क्षेत्रमा बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूपा समेत डुबानमा परेको छ । स्तूपाको पश्चिमबाट बहने खोलालाई डाइभर्ट गरी पूर्वबाट बगाउने गरी संरक्षणको प्रयास स्तूपा डुबानमा परेको हो । केही दिन अघि आएको बाढीले मुख्य स्तुपा बाहेक अन्य सम्पूर्ण क्षेत्र डुबेर खरही खोला पूरानो स्थानबाट बगेको स्थानीय बासिन्दाले बताए । बुद्धको अस्तु धातु रहेको विकास गर्ने गर्ने उद्देश्यले रामग्राम स्तूप क्षेत्रको विकास गर्न साढे पाँच अर्ब लागत अनुमानको गुरुयोजना तयार पारिएको छ । बुद्धको जीवनीसँग अभिन्न रुपमा जोडिएको रामग्राम स्तूपामा पूर्वाधार निर्माण र प्रचारप्रसारको अभावमा ओझेलमा परेपछि गुरुयोजना बनाएर अगाडी बढाइएको स्थानीयहरु बताउछन् ।

सर्वप्रथम झरहीखोलाको पानीलाई व्यवस्थापन गरेर मात्र गुरुयोजना अनुसारको काम गर्न स्थानीय बासिन्दाले सुझाएका छन् । स्थानीय बासिन्दा तथा समाजसेवी राधेरमण पाण्डेले झरहीखोला व्यवस्थित गरेर मात्र विकास निर्माणको कार्य गर्नुपर्ने, खोलाको पश्चिम पट्टी अग्लो पक्की टट्बन्ध बनाउनुपर्ने, खोला गहिरो र फराकिलो बनाएर मात्र गुरुयोजनाको काम गर्न सुझाव दिए । नवलपरासी पश्चिमको सदरमुकाम परासीदेखि तीन किलोमिटर दक्षिणमा रहेको रामग्राम क्षेत्रका ऐतिहासिक, पुरातात्विक तथा धार्मिक स्थलहरुको विकास गर्ने गरी गुरुयोजना तयार पारिएको छ । यस क्षेत्रमा बुद्धसँग सम्बन्धित विभिन्न संरचना निर्माण हुनेछन् ।

ग्रेटर लुम्बिनी अन्तर्गत बनाइएको गुरुयोजनाले स्तुप क्षेत्रको एक सय १७ बिघा जग्गा समेटेको छ । गुरुयोजना अनुसार जग्गा अधिग्रहणका लागि एक अर्ब ५० करोड र संरचनाहरु निर्माणका लागि साढे पाँच अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । रामग्राम नगरपालिकाका शहरी विकास प्रमुख भगौती यादवले खोलामा तट्बन्ध निर्माण गरी सुरक्षित गराउने जानकारी दिए । यादवले खोला सफाइको काम गरेको र तट्बन्ध लगाएतका काम अगाडी बढाएको जानकारी दिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।