ताजा अपडेट »

रेमिट्यान्स ८० प्रतिशतले घट्यो

विहीबार, २७ चैत्र २०७६, ०८ : ४०
8 Shares

काठमाडौं । लकडाउन शुरु भएयता रेमिट्यान्स आउने क्रम घट्दो अवस्थामा रहेको छ । कोभिड–१९ कारण वैदेशिक रोजगारीमा गएकाले काम गर्न नपाएर क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएपछि यसको असर रेमिट्यान्समा परेको हो । लकडाउनपछिको यो अवधिमा सामान्य समयको भन्दा ८० प्रतिशतसम्म रेमिट्यान्स घटेको आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए ।

‘अमेरिका, युरोप तथा जापानबाट केही रेमिट्यान्स आएपनि खाडी मुलुकबाट भने रेमिट्यान्स आउन सकेको छैन,’ उनले भने । रेमिट्यान्स नै घटेपछि कम्पनीहरू समेत दुविधामा परेका छन् । ‘फेरि कोरोनाबाट बाहिर निस्किएपछि पनि यो ह्वात्तै बढ्ने होइन, पुरानो अवस्थामा फर्कन समय लाग्छ,’ उनले भने । आगामी २ वर्षसम्म रेमिट्यान्समा असर पर्ने सक्ने देखिएको नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष समेत रहेका पोखरेलले बताए । तर, यसबारे गरिएको यो अनुमानमात्रै हो । अध्ययन हुन भने वाँकी छ ।

हाम्रो जस्तो रेमिट्यान्सले धानेको मुलुकमा यसको असर अर्थतन्त्रमा पनि नराम्रो पर्ने देखिएको छ । रेमिट्यान्सको मूख्य स्रोतको रुपमा रहेका युरोप, अमेरिका, मलेसिया, जापान, कोरिया लगायतका मुलुकमा कोरोनाको असर देखिन थालेसँगै रेमिट्यान्स कम भित्र्न थालेको हो । नेपालमा भन्दा विदेशमा पहिला लकडाउन भएकोले पैसा आउन नसकेको प्रभु मनी ट्रान्सफरका नायव महाप्रबन्धक रामेश्वर सापकोटाले बताए ।

लकडाउन यता प्रभु मनी ट्रान्सफरको करिब ५० प्रतिशतले रेमिट्यान्स घटेको छ । अमेरिकाको कतिपय राज्यबाट आएपनि कतिपय ठाउँबाट आउन सकेको छैन । जापानबाट पनि केही स्थानबाट रेमिट्यान्स आएको छ भने कतिपय स्थानको अवस्था उस्तै देखिएको छ । विश्वव्यापी रुपमा कोरोनाको असर बढ्दै जाँदा यसको प्रत्यक्ष असर रेमिट्यान्समा परेको सिटी एक्सप्रेसका मार्केटिङ म्यानेजर मधुकुमार लामाले बताए । तर, पछिल्लो समय अनलाइन सर्भिस मार्फत रेमिट्यान्स आउने गरेको समेत उनले जानकारी दिए । जापान, कोरिया, दुबई, मलेशियालगायतका देशबाट अनलाइनबाट रेमिट्यान्स आइरहेको उनले बताए । अनलाइनबाट पैसा पठाउन र भुक्तान गर्न गाह्रो छैन, तर नगदै कारोबार गर्नेलाई भने केही अप्ठ्यारो परेको हुन सक्ने उनले बताए ।

लकडाउन पछिको १५ दिन र अघिल्लो महिनाको यही १५ दिनको तुलना गर्दा ८० प्रतिशतसम्म रेमिट्यान्स घटेको कम्पनीहरूले बताएका छन् । आगामी दिनमा यसको असर अझै ठूलो पर्ने देखिन्छ । नेपालले हाल संस्थागत रुपमा वैदेशिक रोजगारीका लागि ११० देशहरु खुल्ला गरेको छ भने ८ देशहरु (कतार, यूएई, जापान, दक्षिण कोरिया, बहराइन, इजराइल, जोर्डन, र मलेशिया)सँग द्विपक्षीय श्रम सम्झौता गरेको छ । यद्यपि  व्यक्तिगत श्रम स्वीकृतिमा भने १७२ मुलुकमा नेपालीहरू कामका लागि वैदेशिक रोजगारीमा गएको गएको पाइन्छ ।

गत आर्थिक वर्षमा नेपालमा ८ खर्ब ७९ अर्ब २७ करोड रेमिट्यान्स भित्रिएको छ । चालु आर्थिक वर्षको साउनदेखि माघसम्मको ७ महिनाको यो अवधिमा ५ खर्ब १३ अर्ब २१ करोड रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांक छ ।- आर्थिकन्यूज

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।